चार बिघा सरकारी जग्गा व्यक्तिको नाममा

नेपाल समाचार

पर्साको वीरगन्जस्थित छपकैयामा सरकारको नाममा रहेको चार बिघा जमिन व्यक्तिको नाममा लगेर बेचबिखन गरेको भेटिएको छ । वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित पोखरीसहितको चार बिघा सरकारी जग्गा प्रमोदविक्रम शाहले किर्ते गरी आफ्नो नाममा लगेको भेटिएको हो । शाहले आफ्नो नाममा ल्याएर १५ कट्ठा जग्गा बेचिसकेको पाइएको सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन गर्न गठित आयोग स्रोतले जनाएको छ । 

यस्तै, शाहले करिब एक दर्जन व्यक्तिलाई बैना लिँदै जग्गा बिक्री नगरी ठगीसमेत गर्दै आएको पाइएको आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार सरकारी जग्गा व्यक्तिको बनाएर शाहले विभिन्न टुक्रामा कित्ताकाट गरेका छन् । 

सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण रोक्न गठन भएको आयोगले उजुरीका आधारमा छानबिन गर्ने क्रममा वीरगन्ज, छपकैयास्थित पोखरीसहितको चार बिघा सरकारी जग्गा अतिक्रमण भएको भेटिएको हो । आयोगका अनुसार ०४३ सालसम्म अतिक्रमण भएको सो पोखरीमा माछापालन गर्न वीरगन्ज उपमहानगरपालिकाले ठेक्का लगाउँदै आएको थियो । 

०४३ सम्म वीरगन्ज नगरपालिकाले पोखरीमा माछापालनको ठेक्का लगाउँदै आएको थियो । प्रमोदविक्रम राणाले नगरपालिकाले भोगचलन गर्दै आएको त्यही सरकारी जग्गा ०४८ मा आफ्नो नाममा लगेका हुन् । शाहले मालपोत तथा नापीका कर्मचारीसँगको मिलेमतोमा जग्गा आफ्नो नाममा लगेको भेटिएको आयोगले जनाएको छ । त्यसपछि उनले सो सरकारी पोखरीसहितको चार बिघा जग्गा आफ्नो दाबी गर्दै कित्ताकाट गरेर बिक्री गर्दै आएका छन् । 

राष्ट्रपति कार्यालयमा उजुरी
व्यक्तिको नाममा पुगेको सरकारी जग्गा फिर्ता ल्याउन माग गर्दै वीरगन्ज महानगरपालिकाले भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै राष्ट्रपतिको कार्यालयसँग समेत गुहार मागेको छ । सरकारी जग्गा फिर्ता ल्याउन गरिएको न्यायिक प्रयास असफल भएपछि महानगरपालिकाले राष्ट्रपति कार्यालयलाई पत्र लेखेर जग्गा फिर्ता ल्याउन पहल गरिदिन आग्रह गरेको छ । वीरगन्ज महानगरपालिकाले २८ फागुन ०७५ मा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमिसुधार मन्त्रालय, प्रदेश २ मुख्यमन्त्रीको कार्यालयलाई पत्र लेखेर सार्वजनिक जग्गा फिर्ता गराइदिन आग्रह गरेको हो ।

सरकारको नाममा रहेको सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा पुर्‍याउने कर्मचारी र संलग्न व्यक्तिलाई न्यायालयले समेत संरक्षण गरेको भन्दै महानगरपालिकाले राज्यको प्रमुख निकायलाई गुहारेको हो । यससँगै सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ । 

किर्ते र ठगीमा बैंकका कर्मचारी संलग्न
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएर बेचबिखन गर्नेमा लक्ष्मी बैंककी कर्मचारी पूजा राज्यलक्ष्मी राणासमेत संलग्न देखिएकी छिन् । राणा सरकारी जग्गा किर्ते गर्ने प्रमोदविक्रम शाहकी बुहारी हुन् । उनले ससुरा शाहको नाममा ल्याएको सरकारी जग्गा बेच्ने क्रममा एउटै जग्गामा दुईभन्दा बढी व्यक्तिबाट बैना लिएको उजुरी परेपछि मुद्दा अदालतसम्म पुगेको छ । 

एउटै जग्गा तीनपटकसम्म बिक्री
छानबिनका क्रममा किर्ते गरी व्यक्तिको नाममा ल्याइएको सरकारी जग्गा बिक्री–वितरण गर्दासमेत शाह परिवारले थप बदमासी गरेको भेटिएको छ । शाह परिवारले एउटै कित्ता जग्गामा विभिन्न व्यक्तिसँग बैना लिएर अर्को व्यक्तिलाई बेच्ने गरेको र त्यस विषयमा अदालतमा मुद्दा चलिरहेको भेटिएको हो । सरकारी जग्गा किर्ते गरी व्यक्तिगत बनाएर किनबेच गरेको भन्दै राष्ट्रपति कार्यालयसम्म उजुरी पुगेपछि सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन गर्न गठित आयोगले छानबिन थालेको हो ।