चिनियाँ विशेष टोली नेपालमा, राजनीतिक भेटघाट तिब्र ।

Breaking नेपाल समाचार राजनीति

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो चौ काे नेतृत्वमा चीनको विशेष प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आएकाे छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले विभाजित भएपछि आकस्मिक रूपमा आइतबार काठमाडौं आएको चीनको विशेष प्रतिनिधिमण्डलले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत जनाएका छन् । दुवै भेटमा राजदूत यान्छी पनि सँगै थिइन् । भ्रमणमा आएका विशिष्ट अधिकारीलाई उनीहरूकै चाहनाबमोजिम ओहदाअनुसारको एस्कर्टिङ र अंगरक्षक उपलब्ध गराइएको थिएन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रोटोकलसहितको सुरक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको थियो । विमानस्थलमा उत्रँदासमेत स्वास्थ्य सुरक्षाको सतर्कतासहित चिनियाँ नेताहरू पीपीई ड्रेस लगाएरै आएका थिए । उनीहरूलाई लिन राजदूत यान्छी विमानस्थल पुगेकी थिइन् । स्वागतका लागि परराष्ट्रका अधिकारी र नेकपाका नेताहरू कोही पनि उपस्थित थिएनन् । यान्छीले गत साता नै राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतलाई भेटेर समसामयिक राजनीतिक वस्तुस्थितिबारे सरोकार राखेकी थिइन् । यसअघि पनि आन्तरिक विवाद र सत्ता बाँडफाँटको द्वन्द्वले नेकपा विभाजनको मुखमा पुग्न लाग्दा चिनियाँ राजदूत यान्छीले शीर्ष नेताहरूकहाँ गरेको ‘घरदैलो’ को कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको छ ।

चीनको विशेष प्रतिनिधिमण्डल एयर चाइनाको जहाज चार्टर्ड गरेर दिउँसो साढे १ बजे काठमाडौं आएकाे बताइएको छ ।