चीन जान रोकिएका आइजीपी खनाल गृहमन्त्री बादलको बिदाईमा पुगेपछि…

नेपाल समाचार

मन्त्रिपरिषद्ले स्वीकृती दिएको भए नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल यतिबेला चीन पुगिसकेका हुन्थे । गृहमन्त्री रामबहादुर थापा बादलको चीन भ्रमणको टोलीमा खनाललाई नलाने गरी मन्त्रिपरिषदले भ्रमण अस्वीकृत गरेको थियो ।

आज विहान गृहमन्त्री रामबहादुर थापा बादल भ्रमण टोलीसहित चीन पुगेका छन् । उनको टोलीमा सुरक्षाविज्ञ डा. ईन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा, डिआइजी सूर्य उपाध्यायलगायत छन् । आइजीपी खनालको साटो उपाध्याय भ्रमण दलमा पारिए ।

खनाललाई यसअघि पनि सरकारले अमेरिका र भारत भ्रमणमा जान रोकेको थियो । चीन भ्रमणमा जानबाट रोकिएपछि विभिन्न आशंका गरिएको छ । चिनियाँ आपराधिक गिरोहका सदस्यहरुलाई नेपालमा पक्राउ गर्न आइजीपी खनालले मुख्य भूमिका निभाएका थिए । यसमा उनले चिनियाँ पक्षसँग पनि समन्वय गरेका थिए ।

खनालले विगतमा विदेश भ्रमणका बखत महत्वपूर्ण भेटघाटहरु गरेका थिए । हरेक भ्रमणबाट कुनै न कुनै नतिजा दिएका थिए । इन्टरपोलको बैठकका लागि चिली पुग्दा चिनियाँ प्रतिनिधिसँग भेटेर चिनियाँ संगठित अपराधी पक्राउ गर्ने योजना बनाएका थिए । थाइल्यान्ड भ्रमणका बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटेर सुरक्षाबारे गम्भीर छलफल गरेका थिए ।