छायांकन नहुँदै ‘गोर्खा वारियर’को टीजर रिलीज

मनाेरंजन

मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’को टीजर सार्वजनिक गरिएको छ । केहि अन्तराष्ट्रिय शासकहरुले गोर्खा सैनिकको बारेमा भनेका भनाईहरु तथा विभिन्न गोर्खा रेजिमेन्टसले मानेका तथ्यहरु समेटेर टीजर रिलीज गरिएको छ ।

निर्देशक मिलन चाम्सले यो टीजरलाई ‘टेस्ट टीजर’ भनेका छन् । उनका अनुसार हलीउड चलचित्रहरुले यस प्रकारको टीजर बनाउने गरेको र आफुले पनि यस चलचित्रमा सोही प्रयोग गरेको उनले बताए । यो टीजरमा देखिने दृश्यहरु केवल चलचित्रको थीम मात्र रहेको तर चलचित्रमा भने नहुने मिलनले बताए ।

टीजरमा क्याप्टेन विजय लामा देखिएका छन् । उनिसँगै यस चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायतको अभिनय रहनेछ । कोरोना भाइरसको महामारी अन्त्यपछि छायांकन हुने यस चलचित्रमा केहि हलिउड कलाकारको पनि अभिनय रहने बताईएको छ । यहि चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

यो चलचित्र ५० प्रतिशत हलीउड प्राविधिक राखेर नेपाली र अंग्रेजी भाषामा बनाउने चाम्सले बताए । लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने तयारी पनि रहेको उनले बताए । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ ।