छोटो कपडा र ‘रेप’

विविध विश्व समाचार

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ, त्यसमा एक महिला केही युवतीसँग झगडा गरिरहेकी देखिन्छिन् । एक युजर शिवानी गुप्ताले यो भिडिओ आफ्नो फेसबुकमा सेयर गरेकी हुन् । रेस्टुराँ जाँदा एक महिलाले उनले लगाएको कपडालाई लिएर आपत्ति जनाउँदै केही युवालाई रेप गर्न लगाएको शिवानीको आरोप छ । 

‘‘आज म र मेरा साथीहरुलाई रेस्टुराँमा जाँदा एक महिलाले प्रताडित गरिन्, किनकि मैले छोटा कपडा लगाएकी थिएँ,’’   पोस्ट सेयर गर्दै शिवानीले लेखेकी छन्, ‘‘भिडियोमा देखिएकी अर्धबैंसे महिलाले रेस्टुराँमा रहेका सात जना युवालाई ममाथि रेप गर्न लगाएकी थिइन् । किनकि, मैले छोटो कपडा लगाएकी थिएँ र छोटो कपडा लगाउनेमाथि रेप हुनुपर्ने उनको भनाइ थियो ।’’
ती महिलाको रुढीवादी सोचको विरोध गर्नका लागि शिवानीले आफ्ना साथीहरुको सहयोगमा तिनलाई नजिकै रहेको सपिङ सेन्टर लगेकी थिइन् । ‘‘त्यहाँ हामीले उनलाई माफी माग्न भन्यौं । तर, त्यसको उनलाई कुनै असर परेन । त्यहाँ रहेकी अर्की एक महिलाले पनि माफी माग्न भनिन्, तर उनले मानिनन्,’’ शिवानीले पोस्टमा लेखेकी छन् । 
यो घटना दिल्लीनजिकै गुरुग्रामको हो । भिडियोमा सपिङ सेन्टरमा रहेका महिलाहरुबीच तीव्र बहस भएको देखिन्छ । जो महिलामाथि आरोप लागेको छ, उनी प्रहरी बोलाउन चाहन्छिन् । 
भिडियो बनाउनेमध्येकी एक युवती ती महिलालाई माफी माग्न दबाब दिइरहेकी छन्, माफी नमागे भिडियो सार्वजनिक गर्ने बताइरहेकी पनि छिन् ।   
यस विषयलाई लिएर विभिन्न मत सार्वजनिक भइरहेका छन् । अधिकांश महिलाले अरुले लगाएको कपडालाई लिएर जथाभावी बोल्नु अनुचित हुने बताएका छन् । कसैको कपडामाथि टिप्पणी गर्ने अधिकारी कसैलाई पनि हुँदैन । छोटा कपडा होस् या लामो, त्यो आ–आफ्नो रुचिको विषय हो । 
बीबीसी