जनकपुरको पश्चात्ताप जनकपुरको पहाडी समुदायप्रति आक्रोश अवश्य थियो, विभेद र हेपाहा प्रवृत्तिले कतिमा पहाडीप्रति घृणासमेत पलाएको थियो

अन्तरवार्ता नेपाल समाचार

शेयर गर्नु होस ।

मनीष झा

जनकपुरका पहाडी समुदाय भनेर के भनेको थिएँ, रैथाने अनिल घिमिरेले मलाई ट्याक्क रोकेर भने, ‘नेपालीभाषी मधेसी भने सही हुन्छ । मधेसमै जन्मे–हुर्केका, आफ्नै मातृभाषाभन्दा मिठो मैथिली बोल्ने, धेरैजसो मधेसी संस्कृतिलाई अपनाएको समुदायलाई पहाडी वा गैरमधेसी सम्बोधन जायज हुँदैन ।’ उनको तर्क सही लाग्यो । मधेसमा बसोवास गर्ने पहाडी समुदाय दुईथरी छन् । पुस्तौँदेखि बसोवास गरेका– ती नेपालीभन्दा स्थानीय भाषामा सहज सुनिन्छन् । दसैँ–तिहारजस्ता चाड मनाउने तरिका केही फरक भए पनि छठ आदि पर्व मनाउँछन् । अर्काथरि मधेसमा जन्मिएका होइनन् वा जन्मिए पनि पहाडीबहुल बस्तीमा जन्मिएका कारण मधेसी भाषा–संस्कृतिमा घुलमिल भएका छैनन् । यहाँ विमर्श गर्न खोजिएको जनकपुरको पहाडी समुदाय मधेसमा पुस्तौँदेखि बसोवास गर्ने बासिन्दाको हो । जनकपुरमा बसोवास गरिरहेका वा मधेस आन्दोलनको रापतापपछि जनकपुर छाडेका पहाडी भनेका पुस्तौँदेखि मधेसमा मधेसी भाषा–संस्कृतिमा घुलमिल भएर बसेका हुन् । यसैले लेखमा नेपालीभाषी मधेसी भन्नु उचित लाग्यो ।

अनिलले मलाई बताएअनुसार ०५४ को स्थानीय निर्वाचनमा जनकपुरमा एक हजार चार सय ५३ घर नेपालीभाषी थिए, अहिले त्यो संख्या घटेर एक सय घर हाराहारीमा  झरेको छ । जनकपुरमा नेपालीभाषी मधेसीको पलायन मधेस आन्दोलनपछि सुरु भएको पनि होइन । पढाइ–लेखाइका क्रममा काठमाडौं जाने, उतै काम गरेर बस्ने बिस्तारै जनकपुरको सम्पत्ति बेचेर आफू बसोवास गरेको ठाउँमै सम्पत्ति जोड्ने क्रम निकै अघिदेखि सुरु भएको हो । यसरी धेरै मधेसीले पनि थातथलो छाडेका थिए, छाडिरहेकै छन् । तर, मधेस आन्दोलन र त्यसपछि मधेसमा सुरु भएको सशस्त्र समूहको आपराधिक क्रियाकलापका कारण नेपालीभाषी मधेसीको सामूहिक विस्थापन सुरु भयो । छोटो समयमै धेरै नेपालीभाषी मधेसी हेटौँडा, काठमाडौं वा यस्तै पहाडीबहुल ठाउँमा बसाइँ सरे ।  

वीर अस्पतालमा जन्मिएँ । सरकारी संस्थानको जागिरे बुबाको सरुवासँगै धादिङ, नुवाकोटमा प्राथमिक शिक्षा पूरा भयो । मधेसभन्दा पहिला देश चिन्ने मौका मिल्यो । भौगोलिक र सामाजिक विविधता बुझ्न पाइयो । नुवाकोेटमा छँदा त्रिशूली बजारमा मधेसी अनुहार भनेका मिठाई पसले र हजाम मात्र थिए । आर्थिक सहयोग चाहिए पनि, कसैले मधेसी भनेर हेपेर काम, व्यवसाय गर्न गाह्रो परे पनि बुबासँग सहयोग माग्न आउँथेँ । बाल्यकाल पहाडमा बितेकाले घरमा बुबाआमासँग नेपाली भाषामै कुरा हुन्थ्यो । मरुहिटी (काठमाडौं) माइती भएकी मेरी आमा त नेवारी पनि छुरा बोल्नुहुन्थ्यो । रमाइलो त के हुन्थ्यो भने उहाँ बुबासँग गोप्य संवाद गर्नपरे नेवारीमा गर्नुहुन्थ्यो ।

०५४ सालतिर जनकपुरमा अन्डर–१६ राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । फाइनलमा सुनसरी र धनुषा जिल्ला भिडेका थिए । रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटमा धनुषाले जित्यो । विजयी टोलीमा जम्मा एकजना मधेसी मूलका खेलाडी थिए । तैपनि, धनुषाजस्तो मधेसीबहुल जिल्लाको टिममा मधेसी उपस्थिति किन छैन भनेर प्रश्न उठ्थेन । मधेसी युवाको आकर्षण फुटबलभन्दा क्रिकेटमा थियो । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मधेसी विद्यार्थीकै बाहुल्य भए पनि सिन्धुली, उदयपुर आदि पहाडे जिल्लाका काफी विद्यार्थी पढ्न आउँथे । दुई हजारले काम गर्ने जनकपुर चुरोट कारखानामा पहाडी मूलका कर्मचारीको संख्या उल्लेख्य थियो । एउटा जातका रूखको पात अर्को जातका लागि मल हुन्छ, एउटा रूखको शीत अर्को रूखका लागि जल हुन्छ । जनकपुरको समाज त्यस्तै थियो– एकदम मिश्रित । मैथिली मातृभाषी बहुलता भएको समाजमा नेपाली मातृभाषीको उपस्थिति उल्लेख्य थियो ।    

सबै ठिकठाक थियो भन्ने पनि होइन । केही बिर्सिनलायक पक्ष पनि थियो । काठमाडांैबाट जाने कतिपयले स्थानीयलाई जनकपुरमै गर्ने व्यवहार ठीक थिएन । मधेसीले आफ्नै भूमिमा समेत हेपिनुपथ्र्यो । भानुचोकमा खुकुरी बोकेर हिँड्ने नेपालीभाषी मधेसी युवाको दादागिरी चल्थ्यो । सरकारी अड्डामा पहाडी कर्मचारीको बाहुल्य हुँदा मधेसी सेवाग्राही हेपिनुपथ्र्यो । कराँते खेल्न पुगेका पहाडी मूलका खेलाडीले मधेसीलाई असह्य दुुव्र्यवहार गरेपछि सहरमा तनाव उत्पन्न भएको थियो । जनकपुर चुरोट कारखानामा पनि मजदुर त मधेसी थिए, प्रशासक पहाडी । जकपुरमै हाम्रो छिमेकी नेवार । तर, गाउँ मधेसी गाउँ कट्रैत । उहाँहरू नेपालीभन्दा मैथिलीमा सहज सुनिनुहुन्थ्यो । मेरी आमा छिमेकी नेवारलाई नेवारी भाषाबारे बताउनुहुन्थ्यो ।  

जनकपुर प्रख्यात छ, सीताको जन्मभूमिका रूपमा । तर, आधुनिक जनकपुरधामको स्थापना पाँच सय वर्षपहिले भएको मानिन्छ । यसको संस्थागत विकास भने चानचुन तीन सय वर्षपहिले चतुर्भुज गिरी र सयकिशोर दासलाई मकवानपुरका तत्कालीन सेन राजाले चार सय बिघा जग्गा दिएर बसाउन लगाइएको सहर हो । जनकपुरको स्थापनामा पनि नेपालीभाषी र मैथलीभाषी दुवैको योगदान छ । सिन्धुलीको विकासमा सक्रिय सौरभ ढकाल र सानो पाइलाका सञ्चालक कञ्चन झासँग मिलेर काठमाडौंबाट सिन्धुलीगढी हुँदै जनकपुर लागेका थियौँ । यात्रामा सहभागी काठमाडौं, बत्तिसपुतलीका राजेश्वर जोशीको जनकपुर जाने धोको डरका कारण पूरा हुन सकेको रहेनछ । उनलाई कसैले जनकपुरमा त पहाडी समुदायको मान्छेलाई जिउँदै जलाइदिन बेर लाउन्नन् भनेर तर्साइएको रहेछ । जनकपुरको आतिथ्य, पहाडी समुदायले कुनै विभेद अनुभव गर्न नपर्ने व्यवहार पाएपछि फर्किएको सात महिनापछि भेट्दा उनी जनकपुरको गुणगान गाउँछन् । धुलिखेल रिसोर्ट सञ्चालक बेनकण्ठ मकाजु श्रेष्ठ हालै भेटघाटका क्रममा सुनाउँदै थिए, यसपालि जनकपुर पुगेर निकै खुसी लाग्यो, कस्तो राम्रो हुँदै छ है ? तर, केही वर्षपहिले जनकपुर यस्तो थिएन, यताका मान्छे जानै डराउँथे ।

के भएको थियो जनकपुरमा र जानै डराउँथे ? अहिले पुगेका त जनकपुरको प्रशंसा गर्ने ब्रान्ड एम्बेस्डर भएर फर्किएका छन् । तर, नगएकाका लागि त उही जनकपुर पहाडीमूल अमैत्री रहिरहने भयो भनेर खुल्दुली र चिन्ता जाग्यो । लहानबाट सल्किएको मधेस आन्दोलनको इपिसेन्टर जनकपुर रह्यो । पहिलो मधेस आन्दोलन मधेसीले भोगेको सदियौँ लामो विभेदको विस्फोट थियो । यसमा पहाडीविरुद्धका नारा पनि सुनिए । कतै दुव्र्यवहार पनि भयो होला । त्यसपछि सशस्त्र समूह र भूमाफिया सल्बलाए । गुठी र मन्दिरको जग्गा आफ्नो बनाउन पोख्त माफियाले मधेस आन्दोलनपछिको अवस्थामा नयाँ अवसर देखे । जनकपुरको पहाडी समुदायप्रति आक्रोश अवश्य थियो । विभेद, हेपाहा प्रवृत्तिले कतिमा पहाडीप्रति घृणा नै पलाएको थियो । तर, त्यो आक्रोश वा घृणा छिमेकी पहाडीप्रति थियो कि राजधानीका शासकप्रति ? 

पाँच पुस्तादेखि मधेसमा बसिरहेका नेपालीभाषी धनुषा, महोत्तरी र सिराहामा प्रशस्त पाइन्छन् । त्यस्तै परिवारका एकजना वरिष्ठ अधिवक्ताका अनुसार जतिवेला पहाडी मूलका जनकपुरवासी सस्तैमा घरजग्गा सल्टाएर थातथलो छाड्दै थिए, उनको मोबाइलमा भारतीय नम्बरबाट फोन आउँछ– ‘सबै भाग्दै छन् के छ विचार ?’ तपाईं पनि  छाड्नुस् जनकपुर, नत्र पछि नराम्रो होला । उनी त्यो नम्बर लिएर प्रहरी कार्यालय पुग्छन् । प्रहरीमा गुनासो पोखेर सुरक्षाको अपेक्षासहित उनी घर फर्किन्छन् । घर नपुग्दै त्यही नम्बरबाट फेरि फोन आउँछ र भन्छ, ‘पुलिसकोमा गुनासो गर्न पुग्यौ हैन ? केही हुनेवाला छैन, थपक्क हाम्रो कुरा मान, जनकपुर छाड ।’ पछिल्लो फोनले चाहिँ उनी निकै डराए । पुलिस नै मिलेका छन् भने सुरक्षा कसले दिने भन्ने प्रश्न उठ्यो । उल्लेख भइसक्यो– शान्ति सुव्यवस्था खल्बलिएको त्यो समयलाई आपराधिक प्रवृत्तिका भूमाफियाले अवसरका रूपमा उपयोग गरिरहेका थिए । ती नेपालीभाषीको सम्पत्ति विवरण संकलन गर्थे, सूची बनाउँथे, फोन नम्बर पत्ता लगाउँथे– अनि भारतीय नम्बरबाट फोन गर्थे वा कुनै सशस्त्र समूहको नाममा फोन गराउँथे । यस्ता माफियाको घुसपैठ प्रहरीमा पनि थियो । फोन आउन सक्ने सम्भावित व्यक्तिबारे प्रहरी पनि जानकार हुन्थ्यो । आफूसमक्ष गुनासो लिएर आएपछि पुलिसबाटै त्यो सूचना फोनकर्तामा पुग्थ्यो । पुलिसमा पुगेको कुरा तत्काल आपराधिक समूहमा पुगेको थाहा पाएपछि पीडित गलिहाल्थे । र, सम्पत्ति बेचेर बसाइँसराइको योजना बनाउन थाल्थे । 

जनकपुरबाट नेपालीभाषीको पलायन रोक्न पहल गर्नुपर्छ भन्ने मनमा आउँदासम्म धेरैजसो पलायन भइसकेका थिए । अहिले पश्चात्ताप छ  र प्रार्थना छ– ती फेरि आफ्नै जनकपुर फर्किऊन् ।

मैले नेपाल प्रहरीको उच्च ओहदाबाट अवकाशप्राप्तसँग यसबारे जिज्ञासा राखेको थिएँ । उनले नाम उल्लेख नगर्ने सर्तमा पुलिसको मिलेमतो स्विकारे । ‘जसरी भूमाफियाले त्यसलाई कमाउने अवसर बनाएर सक्रिय भए, केही पुलिसले तिनै भूमाफियालाई सघाएर कमाउने दाउ छोपे ।’ पुलिसको सहयोग पाएको भए त्यो वेला फोनमा आपराधिक समूहले तर्साएकै भरमा धेरैले थातथलो छाड्ने थिएनन् । अपराधीको कुनै जात, धर्म हुँदैन । सस्तैमा घरजग्गा बटुल्ने धन्दावालको पनि जात थिएन । तैपनि यसमा मधेसी समुदायकै बाहुल्य थियो । केही नेपालीभाषी मधेसी पनि मिसिएका थिए । केही नेपालीभाषीको हत्याले पनि त्रास बढ्यो । ‘शेरे धनुषा’ हेमबहादुर मल्लकै छोराको हत्या भयो । सस्तैमा सम्पत्ति हत्याउने समूहको काम योजनाबद्ध थियो । तारन्तार आउने फोनले तनावमा छट्पटिरहेको पीडितकहाँ तिनै अपराधी समूहका मान्छे पुग्थे । पीडितले सबै बताएपछि ज्यानभन्दा ठूलो केही छैन, बरु बेचेर बसाइँसराइ गर्न सुझाउँथे । सबै ठीक भएपछि फेरि जनकपुर आए भैगयो नि भन्दै घरजग्गा बिक्री गर्न नरम दबाब सिर्जना गर्थे । बरु बेच्न चाहेको भए खरिददार मिलाइदिने आश्वासन दिन्थे । यसरी पुलिस, शुभचिन्तक देखिने स्थानीयसमेतले बसाइँ सर्न सुझाएपछि थातथलो छाड्न बाध्य हुन्थे ।  

अप्पन टिभीका सञ्चालक नवीन शाह भन्छन्– भूमाफिया र भूमिगत समूहको योजना र चलखेल अनि पुलिसको मिलेमतो र राजनीतिक दलको मौनताका कारण धेरै नेपालीभाषी थातथलो छाड्न बाध्य भए ।’ उनका अनुसार नेपालीभाषी मधेसीले थातथलो छाड्दा समस्याले राष्ट्रिय रूपमा बहस सिर्जना गर्ने र काठमाडौं आफ्नो एजेन्डामा आउन बाध्य हुने हिसाबकिताब निकाल्दै मौन बस्न रुचाए । पार्टीमै रहेका कतिपयको त भूमिगत समूह, भूमाफियासँग साँठगाँठ नै थियो । हैदर, जो शिवचोकमा टेलरिङ व्यवसायमा आबद्ध छन्, उनलाई सोधेँ, ‘पहाडी टन्न भएको सहर र पहाडेको संख्या घटेको सहरमा के फरक छ ?’ उनको सोझो जवाफ थियो, ‘आम्दानी घट्यो ।’ लाउन, खान अलि सोखिन हुने पहाडी मूलका बासिन्दाले सहर छोड्दा हरेकजसो व्यवसायमा प्रभाव देखिएको उनको भनाइ थियो । सिन्धुली, उदयपुरदेखि किनमेलका लागि ग्राहक आउँथे । पछि पूर्व–पश्चिम राजमार्गमै बसोवास गर्ने पहाडी पनि जनकपुर आउँन छाडे । बर्दिवास जस्ता राजमार्गका बजार चम्किए । 

भानुचोकका एक नेपालीभाषीसँग कुरा गर्न खोज्दा मेरो नाम, थर सोधे । भनेपछि उनी मसँग बोल्नै चाहेनन् । धेरै बेरसम्म बोलेनन् । तर, त्यहीँ अर्को नेपालीभाषीले मसँग निर्धक्क कुरा सेयर गर्न थालेपछि बल्ल उनी खुले । काठमाडौं बस्ने उनी महिनामा दुई–तीनचोटि जनकपुर पुग्दा रहेछन् । काठमाडौंको बसाइ सहज भए पनि उनलाई जनकपुरको सम्पत्ति बेच्न मन रहेनछ । ‘आफ्नो जन्मभूमि हो, जन्मेको घर हो, यही सडकमा खेलेर हुर्केको म, बेच्न मन लाग्दैन । यही रेलको डिब्बामा लुकामारी खेल्थ्यौँ, गंगासागरमा पौडी खेल्थ्यौँ र बाह्रबिघामा क्रिकेट खेल्थ्यौँ । जनकपुरले मलाई अझै चिन्छ, तर जनकपुर मलाई अन्जान अनुहारले भरिएको लाग्छ,’ उनले भने । उनलाई पनि घर बेच्न फोन आएको रहेछ । तर, उनले हिम्मत नहारी नबेची बसेका रहेछन् ।   

मधेसवादी दलमा आबद्ध भोलानाथ झालाई सोधेको थिएँ– नेपालीभाषी मधेसीको पलायन रोक्न केही पहल गर्नुभयो त ? उनले भने, ‘हामीले रोक्न पहल गर्नुपथ्र्यो, तर जबसम्म काठमाडौंका शासकस“ग रिस थियो, हामीले पहल गरेनौँ । फेरि हामी आफैँ पनि कमजोर थियौँ, हस्तक्षेप गर्न सक्ने अवस्थामै थिएनौँ । अब त भएन, केही पहल गर्नुपर्छ भन्ने मनमा आउँदा धेरै पलायन भइसकेका थिए । अहिले पश्चात्ताप छ, र प्रार्थना छ– ती फेरि आफ्नै जनकपुर फर्किऊन् ।’ #पहाडी समुदाय# जनकपुरको पश्चात्ताप