जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम प्रस्थान

नेपाल समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् । प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन आज बिहान हेलिकोप्टरमार्फत तेह्रथुम प्रस्थान गरेका छन् ।

त्यसअघि उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्नो ६९ औँ जन्मदिन सेलिब्रेसन गरेका छन् । उनको जन्मदिनमा औपचारिक कार्यक्रम नराखिएपनि उनका सुभेच्छकहरुले बालुवाटारमै पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा जन्मिएका ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघरमै मनाउन लागेका हुन ्। त्यसको लागि स्थानीय पार्टी कमिटीले विशेष तयारी गरेको छ । प्रधानमन्त्री ओलीकोजन्मदिनको अवसर पारेर आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री ओलीले आइतार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने कार्यक्रम रहेको ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रमको तयारीको लागि हाल भण्डारी तेह्रथुममै छन् ।

यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा चारसय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

दिउँसो जन्मघरमा हुने आफ्नो जन्मोत्सव कार्यक्रममा सहभागी भएर ओलीले आफ्ना पुराना दौँतरीसँग भेटघाट र भलाकुसारी गर्ने कार्यक्रम छ ।