जसोतसो सकियो आठौं राष्ट्रिय खेलकूद

NRNA खेल नेपाल समाचार

शेयर गर्नु होस ।

कविरस शर्मा
गण्डक प्रदेशमा २०७७ को फागुनमा भेट्ने बाचासहित आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन बुधबार भएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए ।

समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म सञ्चालन गर्ने राखेपको निर्णय छ ।

२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान आठौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गरिएको थियो । सोही समय नवौं राष्ट्रिय खेलकुद तत्कालिन पश्चिमाञ्चललाई दिने सहमती गरिएको थियो ।

सोही सहमतीमा टेकेर राखेपको बोर्ड बैठकले नवौं संस्करण गण्डक प्रदेशमा गर्ने निर्णय गरेको हो । राखेप सदस्य सचिव विष्टले नवौं संस्करण आयोजनाका लागि गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र राष्ट्रिय खेलकूद परिषदका केन्द्रिय सदस्य राजेश गुरुङ्गलाई झन्डा हस्तान्तरण गरिएको थियो । यता आयोजनाको जिम्मा पाएको गन्डकी प्रदेशका पदाधिकारीले आठौमा भएका कमीकमजोरीलाई मनन गरी नवौं त्यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । वास्तवमा आठौंमा जे जति त्रुटि भएता पनि सरोकारवाला निकायले प्रतियोगितालाई झाराटराई तरिकाले सम्पन्न गर्नुलाई नै पहिलो प्राथमिकतामा राखेको भन्दा फरक नपर्ला ।

आठौंमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त भएको थियो ।

आठौंअन्तर्गत १४ खेल प्रतियोगिता उद्घघाटन अघि नै सम्पन्न गरियो । नेपालगन्जमा उद्घघाटन गरिएको उक्त प्रतियोगिताका विभिन्न खेलहरु विधागत रुपमा चैत्र २७ गतेदेखि नै विभिन्न जिल्लामा सुचारु भएका थिए ।
प्रतियोगिताको आयोजना र व्यवस्थापन दुई फरक पाटा हुन् । तर नेपाली खेलकुदले प्रतियोगिताको आयोजना नै मुख्य बिषय मान्यो । कमजोर व्यवस्थापन सधैको नियति बन्दै आएको छ । अभाव र गुनासाका त्यही नियति आठौं संस्करणसम्म समेत जारी रह्यो । खेलाडीको दुख र गुनासा मैदान पुग्नु अघि नै सुरु हुन्छ ।

अरु त के कुरा खेलाडीले लगाउने सामान्य पोशाक वितरणमा समेत हेलचेक्राई भएको थियो । पुर्वाधार समयमै नबन्दा प्रतियोगिता अनिश्चित बनेको थियो । त्यसपछि नेतृत्वको सबै कसरत प्रतियोगिता आयोजनामै केन्द्रित बन्यो । अनि प्रतियोगिता पनि भएरै छाड्यो ।

आठौंका लागि तयार पारिएका अधिकांश पुर्वाधार पुर्ण रुपमा तयार भइसकेका थिएनन् । प्रतियोगिता अवधिभर रंगशालाको प्याराफिटको काम जारी नै थियो । निर्माणमा करौडौ खर्च गरेको पोखरीले पुर्णता नपाउँदा पौडीको खेल निजी होटलको स्विमिङ पुलमा सारियो । सुटिङ हलको काम पुरा नहुदाँ एक दिन ढिला मात्र प्रतियोगिता सुरु भयो ।

धेरै पुर्वाधारको काम राता रात सकिए । हतार हतारमा बनेका पुर्वाधारको गुणस्तरमाथि प्रश्न उठ्ने नै छ । राष्ट्रिय खेलुकदको हरेक संस्करण अझ परिस्कृत र व्यवस्थित बन्नुपर्ने हो, तर आठौं संस्करण पनि पुरानै रोगबाट अछूटो रहेन । सदा झैं प्रतियोगिताको व्यवस्थापन र खेलाडीका अवस्था निरन्तर ओरालो लाग्दै आईरहेको छ ।

आठौं सम्पन्न गर्नका लागि सरकारले करोडौ रकमको बजेट छुट्याएको थियो । तर सोही खेलकुद अन्तर्गत रुपन्देहीमा सञ्चालित क्रिकेट खेलतर्फको पुरुष क्रिकेट प्रतियोगिताको सुरुका दिनहरुमा खेलाडीहरुलाई भने पिउने पानीको समेत अभाव देखिएको थियो ।

गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, शसस्त्र प्रहरी, नेपाल प्रहरीको विभागीय टिमको प्रतिस्पर्धा रहेको पुरुषतर्फको क्रिकेट प्रतियोगिता रुपन्देहीको सिद्धार्थ रंगशालामा भयो । खेलको सुरुका दिनमा मैदानमा टिमलाइ जिताउन पसीना पसीना भएका खेलाडीहरु खेल खेलिसकेपछि पिउने पानी नहुदां निराश र हतोत्साही बनेका थिए ।

चार दिनसम्म चलेको ५ टोलीको सहभागीता रहेको राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले २० हजार उपलब्ध गराएको थियो । सोही रकमबाट स्थानीय आयोजकले जसरी पनि उक्त प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यताको कारण खेलको न प्रचार प्रसार भयो न त उचित व्यवस्थापन नै ।

राखेपले दिएको २० हजार रकम मध्ये दुई दिन पम्पसेट चलाउंदा १२ हजार र घास काट्दा ३ हजार खर्च भएको सम्बन्धित निकायका ब्यक्तिले बताएका थिए । बांकी रहेको ५ हजारले उक्त प्रतियोगिता कसरी सम्पन्न गर्ने भन्ने स्थानीय व्यवस्थापन समितिलाई सकस परेको थियो ।

अर्कोतर्फ उक्त प्रतियोगितामा १० जना रेफ्री र ९ जना सहयोगी गरी १९ जनाले अफीसियलको काम गरेकोमा राखेपले १५ जनालाई मात्रै भत्ता दिँदा बाकी ४ को व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि थपिएको थियो ।

प्रतियोगिता स्थलमा खेलाडी, अफीसियल र व्यवस्थापन समितिका २, ४ जना सदस्य बाहेक मैदानमा अरु कोही पनि देखिएका थिएनन् । न उद्धघोषक, न त दर्शक नै थिए । खेलाडीहरु गाउंघरमा हुने टोल स्तरीय प्रतियोगिता जस्तै सुनसान अवस्थामा खेल खेलिरहेका थिए । अफीसियल को हुन् भनेर पहिचान गर्ने पोशाक तथा ट्याग समेत नभएको अवस्था थियो ।

कतै खाली कतै भरिएको 
आठौंको उचित प्रचारप्रसार र राम्रो समन्वयको अभावमा हरेक दिन प्राय सबै खेलले दर्शक पाउन सकेन । छिटपुट एक दुई खेलबाहेक सबै खेलमा दर्शक प्राय शुन्य नै थिए । फुटबल, क्रिकेट र करातेमा छिटपुट दर्शक मैदानमा पुगेका थिए । जसका कारण खेलाडी खल्लो मान्दै खेलिरहे ।

तर राष्ट्रिय खेल भलिबलमा भने अरु खेलको तुलनामा ठिक उल्टो देखियो । रिमझिम बजार नजिकै भएको प्रतियोगितामा दर्शकको ओइरोले गर्दा ब्यवस्थापकलाई धान्न हम्मे हम्मे मात्र परेन खेलाडीले समेत निकै सास्ती खेप्नु परेको थियो । आठौं सुरु हुन अगाडी प्रतियोगिता दाङ वा नेपालगञ्ज मध्ये एक स्थानमा हुने भनेर तय गरिएको थियो । तर अन्तिममा नेपालगञ्जको अजुरामा सारिएको भलिबल हेर्न हरेक खेलमा दर्शकको निकै बाक्लो उपस्थिति रह्यो ।

खुल्ला स्थानमा खेलहरु पनि एकपछि अर्को गरि रोमाञ्चक बने जसले गर्दा दर्शक पनि खेलै पिच्छे बढ्दै गएका थिए । सानो ठाँउ त्यसमा पनि समर्थक बस्नका लागि उचित स्थान नहुँदा कोर्टको वरिपरी नै समर्थक झुम्मिएका हुन्थे, जसले गर्दा कुनै सट उठाउन कोर्टका छेउछाउँ जान निकै कठिन भएको थियो । यतिमात्र होइन, पुरुष र महिला खेल्ने कोर्ट निकै नजिक हुँदा एकतिरको कोर्टको बल अर्को कोर्टमा जानेदेखि एकातिरको खेलको रेफ्रिले सिठ्ठी बचाउंदा, अर्को टिमका खेलाडीले झुक्किएर खेल रोक्थे । यस्तो रमाईलो क्षण पनि त्यहाँ सिर्जना भयो । केही खेलाडीले यस्तो ब्यवस्थापनको कमजोरीलाई ठाँडो रुपमा आलोचना गर्न समेत पछि परेनन् ।

चाहे त्यो कुनै गाँउ होस् वा काठमाडौं वा अन्य कुनै ठाँउ । नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलमा जहिलेपनि दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ । भलिबलको क्रेजलाई मध्यनजर गरेर आयोजकले पनि यसको आयोजनाको लागि उचित ब्यवस्थापन गर्नुपर्ने थियो । तर प्रतियोगिता सकेर सफल सम्पन्न भयो भन्ने ट्याग झुड्याउन मात्र आतुर देखियो ।

उदाहरणीय बन्यो एनआरएनए टोली 
प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकूद पाँच वटा जिल्लामा सञ्चालन भएको थियो । चैत्र २७ बाट बैसाख ११ गतेसम्म चलेको उक्त प्रतियोगितामा ३५ खेल खेलाइएको थियो । प्रतियोगिता आयोजना गर्नु एउटा चुनौती त छदै थियो, संगसँगै कसरी खेलस्थल सफा राख्ने भन्ने कुरामा आयोजकले पनि ध्यान दिएका थिए । जसका लागि हरेक दिन जसो सरसफाइ गर्नका लागि निश्चित व्यक्तिलाई खटाएका पनि थिए ।

आठौंमा सात प्रदेश, तीन विभागीय र एउटा गैरआवासिय नेपालीहरु (एनआरएनए) टिम सहभागी भए । जम्मा २५ खेलाडीले पहिलो पटक राष्ट्रिय खेलकूदमा सहभागीता जनाएको एनआरएनएले भने खेलस्थल सफाइको अभियान नै सञ्चालन गरेको थियो ।

एनआरएन खेलाडीले सहभागीता जनाएका खेलस्थलको फोहोर संकलन गर्ने काम शुरु देखि नै गर्दै आएको थियो । वैशाख ५ गते नेपालगञ्ज रंगशालामा उद्घघाटन भएपछि एनआरएनएले रंगशाला परिसर सफाई गरेर फोहोर संकलन गरेको थियो । खेल हेर्न पुगेका दर्शकले उपभोग गरेका झण्डै ४ सय केजी बराबरको परिमाण रहेको ‘ड्राइ फुड्स तथा कोल्ड ड्रिंग्स’ का बोतलहरु सहितको फोहोर एनआरएनएका टिमले संकलन गरेको एनआरएनएका टिम संयोजकले बताएका थिए ।

एनआरएनएबाट आठौंमा २५ खेलाडी, १७ जना व्यवस्थापक, २ जना निर्णायक र ७ जना खेल पदाधिकारी गरी ५१ जनाको सहभागीता रहेका थिए । एनआरएनएले नेपालगञ्ज रंगशालाका साथै तुलसीपुरको खेल परिसर र घोराहीको व्याडमिन्टन कोर्ट आसपासमा सरसफाई गरेका थिए ।

३ दशकपछि बेलझुन्डी रंगशालामा रौनक 
दाङको तुलसीपुरदेखि ७ किलोमिटर पूर्वमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय नजिकै रहेको बेलझुन्डी रंगशालाले ३१ वर्षपछि पुर्नजीवन पायो ।

२०४५ सालमा १५ विघा जग्गामा बहुउद्देशीय रंगशाला बनाउने लक्ष्य अनुसार जग्गा छुट्याइएको थियो । तत्कालिन राजा विरेन्द्रले दाङमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन भनेर जग्गा छुट्याएको र त्यसपछि पटक पटक पहल हुँदा पनि यसले सार्थकता पाउन सकेको थिएन ।

पहिलो पटक २०४५ सालमा राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितापछि बेलझुन्डी रंगशाला अहिले आठौंको कारण चर्चित बन्यो । झण्डै २४ करोड २४ लाख बढी रुपैयाँ खर्च गरेपश्चात अहिले पूर्वाधार बनेको छ । बेलझुन्डी रंगशाला परिसरमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक बनेको छ ।

त्यस्तै फुटबल मैदान पनि खेल्न योग्य बनाइएको छ । साथ साथै अन्य पूर्वाधार पनि निर्माणधीन अवस्थामा छ । अहिले प्रदेश ५ मा आयोजना भइरहेको आठौंको मुख्य स्थल नेपालगञ्ज भए पनि दाङमा एथ्लेटिक्स लगायत आठ वटा खेलहरु सञ्चालन भएका थिए । त्यसमध्ये बेलझुन्डी रंगशालामा एथ्लेटिक्स र महिला फुटबलका इभेन्ट भए ।

होटल अभाव
राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित बसोवासको समस्यामा परेका थिए । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ पुगेका थिए । देशभरबाट करीब दुई हजारभन्दा बढी खेलसँग सम्बन्धित व्यक्ति दांङ पुगेका थिए । खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार भए पनि त्यहाँ पर्याप्त होटल नहुँदा बाहिरबाट आउने पाहुना अनुकूलको होटल पाउन समस्या भएको थियो ।

एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि १ दर्जनभन्दा बढी होटेलको आवश्यकता परेको थियो । तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक लगायत सबै प्राविधिकसहित दाङमा सञ्चालन भएको एथ्लेटिक्समा ४ सय ५ जना, कराँतेमा ३ सय ६३, टेबल टेनिसमा १ सय ८४ जना, ब्याडमिन्टनको लागि २ सय १० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था थियो ।

त्यस्तै बास्केटबलमा ३ सय ५ जना, क्रिकेटमा ४ सय १, फुटबलमा २ सय ५० जनालाई होटलमा राखिएको थियो । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ पुगेका थिए । ती सबैलाई घोराहीमा खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेलले धानेका थिए ।

अतिथिले गर्दा खेल स¥यो 
आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको तुलसीपुरमा कराते प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको पहिलो दिन खेलका लागि टाईशिट पनि बनेको थियो । तर समय अभावका कारण निर्धारित दिनमा खेलाडीले कुनै खेल नै खेल्न पाएनन् । सो दिन उद्घघाटन समारोह मात्रै सम्भव भएको थियो ।

तुलसीपुरमा बनेको नवनिर्मित कराते कर्भडहलको उद्घघाटन गर्न युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सेना, राष्ट्रिय सभाको सदस्य कोमल ओली, कराते संघका पदाधिकारीहरुको मञ्चमा जमघट भएपछि प्रतियोगिताको औपचारिक समारोह लम्बिन पुगेको थियो । मञ्चमा बसेका अधिकांश भाषणमा केन्द्रित भएपछि खेल सञ्चालन हुन सकेन ।

प्रतियोगिता अन्तर्गत उद्घघाटनको दिनमा २ वटा वाउट खेलाउने तय भएपनि रात परेपछि त्यो सम्भव हुन सकेन । नवनिर्मित उक्त कर्भडहलमा लाइटको व्यवस्था नभएपछि खेल भोलिपल्टदेखि मात्र सञ्चालन गरिएका थिए ।

पुर्वाधारले खेललाई समस्या 
आठौंअन्तर्गत पौडी र सुटिङ खेल निर्धारित मितिभन्दा एकदिन पछि सारिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले उचित ब्यवस्थापन गरेर खेलहरु सम्पन्न गराउने दावी गरेपनि अन्तिममा पौडी र शुटिंग खेल्नका लागि खेल्न पुर्वाधार तयार नभएपछि पूर्व निर्धारित मितिबाट खेल सारिएको थियो ।

बर्षोदेखि बनाउन लागिएको पौडी पोखरी खेल सुरु हुन अघिल्लो दिनसम्म पनि तयार नहँदा खेलाडी निकै निरास भएका थिए । खेल कहाँ हुने भन्ने अन्योलमा थिए । यो विषयमा सदस्य सचिवले शुटिङ रेन्जको सानो भागमा छाना हाल्न बाँकि रहेको भन्दै समयमा नै काम हुने बताएका थिए । तर खेलको मितिसम्म पनि छाना एउटा राख्न नसक्दा मिति सरेको थियो । जसमध्ये शुटिङ नवनिर्मित खेलस्थलमा नै हुंदा पौडी भने एक निजी होटलमा रहेको २५ मिटर लम्बाई रहेको सर्ट कोर्ष पोखरीमा सञ्चालन गरिएको थियो । त्यसो ती यी दुई मात्र होईन, आठौंमा एकातिर पुर्वाधार बन्दै अर्को तिर खेल हुदै गरेको नियति अरु खेलले पनि भोगेका थिए ।

राष्ट्रिय स्तरमा निकै कमै मात्रलाई थाहा होला हक्कीको पनि राष्ट्रिय खेल हुन्छ । हुन त नेपाली खेलकुदमा हक्कीले खासै प्रभाव पार्न सकेको छैन । नेपालको हक्की राष्ट्रिय टिम भएपनि खेल्नका लागि भने एउटा पनि अन्तराष्ट्रीयस्तरको मैदान छैन । हक्की संघले पनि कुनै प्रतियोगिता गर्दा स्कुल, कलेज, वा कुनै क्लबका चौरमा राष्ट्रिय प्रतियोगिता गर्ने गरेको छ ।

त्यसको असर नेपालगञ्जमा पनि देखियो, खेलाडीलाई खेल्न त परै जाओस, प्रशिक्षणका लागि पनि एउटा गतिलो मैदान समेत थिएन । त्यसो त बर्षमा एउटा प्रतियोगिता त्यो पनि कहिले हुने कहिले नहुने हुँदा यसमा खेलाडीको खासै चाँसो पनि छैन ।

खेलाडी भौतारिए
कुनैपनि प्रतियोगिता सुरु हुनभन्दा अगाडी नै कुन खेलले कस्तो पोशाक लगाउने र कस्तो ड्रेसमा प्रशिक्षण गर्ने र खेल्ने भन्ने यकिन भइसक्नुपर्ने हो । तर प्रतियोगिता सञ्चालन भएको दुई दिन बित्दा समेत सहभागी खेलाडीले पोशाक र खेल सामाग्री पाउन सकेका थिएन । खेलाडीका लागि भनेर झण्डै आधा अर्ब रुपैया खर्च गरियो । तर खेलाडी प्रतियोगिता सुरु भइसक्दा पनि पोशाक खोजिरहेका थिए ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा मैदानमा जानु अघि नै खेलकुद परिषदले खेलाडीलाई परिषदको लोगो अंकित पोशाक उपलब्ध गराएको थियो । तर यसपटक भने खेलाडी आफैले पोशाक किनेर लगाउनु परेपछि आक्रोशित भएका थिए ।

भत्ता अपर्याप्त
राष्ट्रिय खेलकूद परिषद्ले प्रति खेलाडी खान र बस्नको लागि रु एक हजार ४ सय दैनिक भत्ता उपलब्ध गराएको थियो । तर खेलस्थल वरपरका केही होटलको दर सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी भएपछि समस्या देखियो । यधपि प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा भने दिइएको थियो ।

अनुशासनहीन कार्य दोहोरियो 
सातौं राष्ट्रिय खेलकूदमा जस्तै आठौंमा पनि छिटफुट अनुशासनहीन क्रियाकलाप दोहोरियो । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फुल कन्ट्याक्टको खेलका क्रममा खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि खेलस्थलमै हातपात भएको थियो । खेलस्थलमा मादक पद्धार्थ सेवन गरी राष्ट्रीय खेलकूदकै कर्मचारी उक्त कार्यमा संलग्न रहेको थियो ।