जाेर्ज फ्लाेइडकाे हत्याका आराेपित प्रहरी सँग १२.५ लाख डलर धराैटी माग ।

विश्व समाचार

अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा प्रस्तुत भएका छन्।

अदालतले डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ।

आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन्।

डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ।

मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ भने प्रहरीमा पुनर्संरचनाको माग भइरहेको छ।

श्वेत व्यक्ति शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको गर्दनमाथि करिब नौ मिनेटसम्म टेकेका थिए।

१५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन्। हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए।

न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए।

शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन्।

कैयौँ पटक स्थानान्तरण गरिएपछि ४४ वर्षीय शोभिन हाल ओक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन्।

अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ।

हाल जाेर्ज फ्लाेइडकाे मृत्यु बाट जातीय बिभेदविरूद्द अमेरिका, यूके, अस्ट्रेलिया देशहरूमा ठूला प्रदर्शनहरू भैरहेकाे बिबिसिले जनाएकाे छ । फाेटाे राेयटर्स ।