टोरोन्टोमा मैत्रीपूर्ण फूटबल खेल सम्पन्न: एनआरएन क्यानाडा र किड्स (रातो) बिजयी !

NRNA क्यानडा विशेष खेल

शेयर गर्नु होस ।

एमखबर डेस्क, क्यानाडा। २३ अगस्ट २०२०। गैर आवासीय नेपाली संघ (एनआरएन) क्यानाडा र टोरोन्टो नेप्लिज स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आयोजित एक दिने मैत्रीपुर्ण फूटबल खेल सम्पन्न भएको छ।

टोरोन्टोको भिक्टोरिया स्थित डेन्टोनिया खेल मैदानमा आज आयोजित उक्त मैत्रीपूर्ण खेलको पहिलो चरणको खेल किड्स (रातो) र किड्स (निलो) बीच र दोश्रो चरणको खेल एनआरएन क्यानाडा र टोरोन्टो नेप्लिज स्पोर्ट्स क्लब बीच सम्पन्न भएको थियो।

पहिलो चरणको प्रतिस्पर्धात्मक खेलमा ९ बर्ष देखि १४ बर्ष सम्मका खेलाडी सम्मीलित किड्स टिम (रातो) ले किड्स टिम (निलो) का विरुद्ध ९ – ३ को बिशाल गोल अन्तरले बिजय हाँसिल गरेको थियो भने एनआरएन क्यानाडा र टोरोन्टो एनएससी बीचको दोश्रो चरणको रोमाञ्चक खेलमा एनआरएन क्यानाडाको टिमले टोरोन्टो एनएससी विरुद्ध ६ – २ को फराकिलो नतिजा हात पारेको थियो। 

किड्स सकर अन्तर्गत सृजन सिलवाल “उत्कृष्ट खेलाडी” र सागर थापा ” ईमर्जीङ प्लेयर” घोषित भए भने  एनआरएन क्यानाडा र टोरोन्टो एनएससी बीचको खेलमा एनआरएन क्यानाडाको बिजेता टिमका प्रतिभाशाली खेलाडी बिराट ढुङ्गानाले ” उत्कृष्ट खेलाडी” को उपाधी हात पार्न सफल भए।

बिजेता एनआरएन क्यानडा टिम

किड्स रातो र निलो दुबै टिमबाट खेल्ने खेलाडीहरुमा गत बर्ष एनआरएन क्यानाडा र टोरोन्टो एनएससीले संयुक्त रुपमा संचालन गरेको चार महिने “सकर ट्रेनीङ” मा सहभागी नेपाली समुदायका ९ देखि १४ बर्ष सम्मका केटाकेटीहरुको उल्लेख्य सहभागिता थियो भने एनआरएन क्यानाडाको टिमबाट एनआरएन क्यानाडाका भुतपुर्व तथा बर्तमान पदाधिकारीहरुको अलावा अन्य खेलाडीहरुको उल्लेख्य सहभागिता थियो। टोरोन्टो एनएससीले भने आफ्नै क्लबका तालिम प्राप्त युवा खेलाडीहरुलाई मैदानमा उतारेको थियो।

खेल अबधिमा क्यानाडा सरकार र अन्टारीयो प्रान्तको कोभिड प्रोटोकललाई पूर्णरुपमा पालना गरिएको थियो। खेलमा सहभागी खेलाडी र दर्शक अभिभावकहरुकालागि मास्क र ह्याण्ड स्यानिटाईजरको ब्यबस्था गर्नुका साथै दर्शक दिर्घामा सामाजिक दूरीलाई पनि ख्यालमा राखिएको थियो।

आज आयोजित मैत्रीपूर्ण खेलमा सहभागी सम्पूर्ण खेलाडी, दर्शक र अभिभावक तथा एअनआरएनका अनररी काउन्सिल मेम्बर ढुंण्डिराज पाण्डे र आईसीसी मेम्बर गोपीकृष्ण काफ्लेलाई एनआरएन क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले सहभागिताकोलागि धन्यबाद दिनु भएको थियो।

त्यसैगरी टोरोन्टो एनएससीले कार्यक्रमको आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने क्लबका सक्रिय सदस्य रमेश थापा र एनआरएनका अध्यक्ष चिरञ्जीवी घिमिरे प्रती हार्दिक आभार ब्यक्त गर्नुका साथै ब्यबस्थापकिय सहयोगकालागी बिमल बस्नेतलाई बिशेष धन्यवाद ज्ञापन गरेको छ।