ट्राफिक प्रहरीले चालकलाई नमस्कार गर्दै भने : प्लिज जथाभावी हर्न नबजाइदिनूस्

नेपाल समाचार

१० फागुन ।

उर्लाबारीको पूर्व बस स्टेण्ड ट्राफिक प्रहरीको बिट अगाडी सोमबार बिहान ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण अचम्मित बने ।

ट्राफिक प्रहरीको नौलोशैली देखेर यात्रु तथा सर्वसाधारण केही भएको हो कि भनी भेला भए । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् । ट्राफिक प्रहरीले चालकहरूलाई प्रदेश १ ‘हर्न निषेधित क्षेत्र घोषणा’ क्षेत्र भइसकेको जनाउ दिँदै नमस्कार गरेका हुन् । ‘चालकहरूलाई कृपया हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेका हौं’ भनेर उर्लाबारी ट्राफिक प्रहरी पोष्टका प्रमुख टायमप्रसाद सिवाकोटीसहितको टोलीले भनेपछि यात्रु तथा सर्वसाधारण ‘एँ’ भन्दै बाटो लागे ।

सोमबार बिहान ठिक १० बजेतिर दमकबाट र पथरीतर्फबाट आएका बस, ट्रक लगायतका सवारी साधनका चालकहरूलाई नमस्कार गर्दै अनुरोध गरिएको थियो । जथाभावी हर्न बजाउँदा ध्वनि प्रदुषण भएर मानिसको स्वास्थ्यमा नै असर पुर्याउने भएकाले एक दिने सचेतना अभियान संचालन गरेको प्रहरी नायव निरीक्षक सिवाकोटीले जानकारी दिनुभयो । उर्लाबारी लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई सचेतना फैलाउँदै आएको ट्राफिक जवान रोशन श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरीले एकसाथ सबै क्षेत्रमा १० बजे नै चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेको थियो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमातहतमा सम्पूर्ण ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको थियो । जसमा बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई पनि आग्रह गरिएको थियो । प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।