तीनजना मन्त्री थप्ने प्रधानमन्त्रीको ओलीको अन्तिम तयारी

राजनीति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भित्रको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय राजदूत नियुक्ति, मन्त्रिपरिषद्को हेरफेर र बिस्तार तथा कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताले नेकपाको विवाद फेरि एक पटक उत्कर्षमा पुगेको हो । कर्णाली विवादपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो समूहमा छलफल तीब्र पारेका छन् ।

राजदूत नियुक्ति, मन्त्रिपरिषद् बिस्तार र कर्णाली प्रकरणले पार्टीभित्र फेरि विवाद पहिलेकै अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग परामर्स नगरिकन सबै काम धमाधम गर्न थालेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पनि जवाफ दिन सुरु गरेका छन् । त्यसको सुरुवात कर्णाली प्रदेशमा ओलीको पत्रको काउन्टर पत्र पठाएर दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले भने अब पार्टी केन्द्रमा पनि विवाद बढ्ने संकेत गरेका उनी निकट एक नेताले जानकारी दिए । त्यसका लागि ओलीले आफ्नो संसदीय दलमा बहुमत जुटाउने विभिन्न विकल्पमा छलफल थालेका छन् । केहीदिनदेखि निरन्तर ओलीले आफूइतर समूहका नेतासँग परामर्स गरिरहेका बालुवाटार स्रोतले जनाएको छ । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओलीले अहिले आफ्नो सबै ध्यान पार्टीको संसदीय दलमा बहुमत जुटाउन केन्द्रित छ ।

मन्त्रिपरिषदमा पूर्वमाओवादीका तीन जना थप्ने तयारी

प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड निकटका नेताहरुसँग परामर्स गरिरहेका छन् । त्यसै क्रममा आफूलाई साथ दिने सर्तमा उनले तीनजना स्थायी कमिटी सदस्यलाई मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेका छन् । उनले दसैँ लगत्तै मन्त्री थपेर आफूलाई संसदीय दलमा बहुमत जुटाउने प्रयास गर्ने एक नेताले नागरिकखबरलाई जानकारी दिएको छ ।

बालुवाटार स्रोतका अनुसार दसैँ लगत्तै तीनजना मन्त्री थप्ने तयारी अन्तिम चरणमा छ । ओली निकट एक नेताले भने, स्थायी कमिटीको निर्णय अनुसार अब प्रधानमन्त्रीज्यूले तीनजना मन्त्री थप्नु हुनेछ । पूर्वमाओवादीबाट अब तीनजना मन्त्री बन्ने सम्भावना छ । दसैँ लगत्तै थप्ने गृहकार्य भएको छ । प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो हुनेगरी पूर्वमाओवादीका तीनजनालाई मन्त्रिपरिषदमा सहभागी गराउन खोज्नु भएको छ ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यत्रय टोपबहादुर रायमाझी, प्रभू साह र हरिबोल गजुरेललाई मन्त्री बनाउने तयारी गरेका हुन् । अहिले कायम रहेका तीनजना राज्यमन्त्रीलाई हटाएर र मन्त्रालय विभाजन गरेरै भए पनि रायमाझी, साह र गजुरेललाई मन्त्री बनाउने तयारी ओलीको छ । यी तीनजनासँग ओलीले छुट्टा छुट्टै छलफल गरेका छन् । ओलीसँगको निकटता थाहा पाएपछि प्रचण्डले पनि यी तीनजनासँग छलफल गरेका छन् ।

मन्त्राी बन्ने चर्चामा रहेका गजुरेलले आफूले कसैलाई पनि मन्त्री बनाइदेउ भनेर नभनेको बताएका छन् । उनले भने, ‘पार्टीभित्रको समस्याका विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग उहाँकै निवासमा र प्रधानमन्त्रीज्यूसँग बालुवाटारमा छलफल गरेर म बिहीबार सिन्धुली आएको छु । मन्त्री बनाएमा नबन्ने भन्ने हुँदैन । जनताको काम गर्नका लागि सांसद बनेको मान्छे मन्त्री नबन्ने भन्ने हुँदैन । तर, मलाई मन्त्री बनाइदिनुस् भनेर मैले कहिल्यै भनेको छैन ।’ गजुरेलले पछिल्लो समयमा पार्टी राम्रोसँग चल्न नसकेको बताएका छन् ।