त्रि–देशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई ।

Breaking खेल नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौँ । नेदरल्याण्डसलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि हात पारेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले ११ वर्षपछि घरेलु मैदानमा त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि हात पारेको हो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय स्तरमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।
टस हारेर ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।
नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३ औँ सागमा भुटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।
नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६ रनमा अविजित रहे । म्याक्स ओडाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्ध शतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्ध शतक बनाएका थिए । आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नट आउट रहे । मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्ध शतक बनाएका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नट आउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।
समाचार श्रोतः रेडियो नेपाल ।