दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

नेपाल समाचार

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गाैला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । सेती अस्पतालको डायलासिस सेन्टरमा शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको डायलासिसका क्रममा निधन भएको थियो ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरेर उनको डायलासिस गरिएको थियो । र्‍यापिड टेस्टमा नेगेटिभ रिपोर्ट आएकाले महिलाको शव आफन्तलाई दिइएपछि शनिबार मोहना घाटमा दाहसंस्कार गरिएको थियो ।

तर, थ्रोट स्वाबको परीक्षण गर्दा ती महिला कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि प्रहरीले दाहसंस्कारमा सहभागी आफन्तसहित मलामी खोज्न थालेको हो । २० जनाभन्दा बढी सहभागी मलामीहरुको खोजी भइरहेको हो ।