दीपेन्द्रबाटै सुरु र अन्त भएको दरबार हत्याकाण्डको १९ बर्ष पूरा !

नेपाल समाचार

एमखबर न्युज डेस्क, क्यानाडा। ०१ जून २०२०।

१९ वर्ष अघि आजैका दिन तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । पारिवारिक जमघटका बेला भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको घटनालाई अझै पनि रहस्यमय भनेर भ्रमको खेती गर्नेहरुको बग्रेल्ती भेटिन्छन्।

जब छोराले नै आफ्नो बाबुलाई मार्छ भने त्यस्तो घटनालाई रहस्यमय ठान्न जरुरी रहन्न। नितान्त पारिवारिक जमघट र नियमित रात्री भोजको आयोजना बीच घटित हत्याकाण्ड माथी सुरक्षा ब्यबस्थाको प्रश्न उठाउनुको पनि कुनै अर्थ रहन्न।

सरकारद्वारा गठित छानबिन समितिहरुले तात्कालिक युवराज दीपेन्द्रले नै पारिवारिक विवादका कारण बाबुआमा, भाइ र बहिनीसमेत माथि गोली चलाएको निष्कर्ष निकालेको थियो। घटनाका जिवित प्रत्यक्षदर्शी  साक्षीहरुको हाल सम्मका सबै बयान र बर्णनले घटनाको दोषी दीपेन्द्र नै हुन् भन्ने पनि स्पष्ट पारिसके कै छ। 

दरबार हत्याकाण्डका चस्मदीद गवाह दिवंगत राजा वीरेन्द्रका ज्वाई गोरखशमशेर र डा. राजीव शाहीले त्यसको सत्यतथ्य बाहिर ल्याई नै सकेका छ्न् र उक्त घटना घटित भएपछि तत्काल रेस्क्युका लागि घटनास्थल त्रिभुवन सदन पुगेका राजा वीरेन्द्रका एडीसी महासेनानी  सुन्दरप्रताप रानाले हालै मात्र दरबारको दुखान्त नामक पुस्तकमार्फत पनि त्यही सत्य र तथ्यलाई उजागर गरेका छन् ।

त्यसका बाबजुद पनि दरबार हत्याकाण्ड रहस्यमय भएको ठान्नु र युवराज दीपेन्द्र माथी दोष थोपरेर मूख्य हत्यारालाई उन्मुक्ति दिईएको भन्ठान्नु आफैंमा एउटा ठूलो भ्रम हो। देख्नेका आँखा फुटे, सुन्नेका सहि भनेको यहि हो।