दुई समलिङ्गी नेपाली युवालाई अष्ट्रेलियामा ‘पार्टनर भिसा’

विश्व समाचार

  • राजन घिमिरे, अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा रहेका दुई समलिङ्गी नेपाली युवाले श्रीमान–श्रीमती सरह बस्न पाइने ‘पार्टनर भिसा’ पाएका छन् । सम्भवतः नेपाली समलिङ्गी युवालाई अष्ट्रेलियन सरकारले कानुनी विवाहको मान्यताअनुसार पार्टनर भिसा दिएको यो पहिलो घटना भएको बताइएको छ ।

गत वर्ष मात्र अष्ट्रेलियन सरकारले अष्ट्रेलियामा समलिंगी विवाहलाई मान्यता दिएको थियो ।

काठमाडौंका जीवन र विकाश (नाम परिवर्तन) अध्ययनका लागि विद्यार्थी भिसामा दुई वर्षअघि सिड्नी आएका थिए । ‘शारीरिक र भावनात्मक रूपमा त हामी एक थियौँ नै, अब कानुनी रूपमा समेत हामी एक भएका छौँ । योभन्दा खुशीको कुरा हाम्रो लागि यतिबेला अरु के होला ?’– दुवैले प्रसन्नता ब्यक्त गरे ।
२४ वर्षका जीवन र २५ वर्षीय विकास सिड्नीमा एकसाथ बस्दै आएका दुई वर्ष भैसकेको थियो । आफ्नो जोडीलाई यसरी भीसा प्रक्रियाका साथै कानुनी मान्यता दिलाउन सहयोग गरेकोमा एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसलाई उनीहरूले धन्यवाद दिए 
‘धेरै किसिमका भिसाको काम गरियो तर नेपाली समाजका लागि सम्भवतः यस्तो भिसा पहिलो नै हो’, एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराई र ओमकृष्ण श्रेष्ठको भनाई छ ।

शारीरिक रूपमा दुवै केटामान्छे हुन् तर सार्वजनिक रूपमा यी दुवै केटीको पहिरनमा हिँड्ने गर्छन् । आफूहरूको यो निर्णयबाट अभिभावक एवम् परिवारका सदस्यहरू पनि खुशी भएका उनीहरूले बताए ।

पार्टनर भिसा प्राप्त गरेपछि यो जोडीले अन्य महिला र पुरूषजसरी श्रीमान–श्रीमतीको रूपमा एकै छानामुनि बसेर जीवन अगाडि बढाइरहेका छन् । बताइएअनुसार यो जोडीले अब श्रीमान–श्रीमतीको रूपमा पिआर वा यहाँको नागरिकता लिनका निम्ति प्रक्रिया अघि बढाउन सक्नेछन् ।