देवता र दानव पाइने, मानव नपाइने देश !

नेपाल समाचार

शेयर गर्नु होस ।

  • देवप्रकाश त्रिपाठी

शास्त्रले भन्छ, ‘न्याय हराएको देशमा बस्नुहुँदैन ।’ न्याय त हराएकै देश हो यो, पार्टीप्रतिको प्रतिबद्धता र वफादारीका आधारमा न्यायाधीशहरूको नियुक्ति हुने मुलुकमा न्याय नमर्ने र अन्याय मर्ने आशा राख्न पनि मिल्दैन । पैसा र पहुँच नहुनेहरूले समेत न्याय पाउन थालेछन् भने त्यतिबेला न्यायपालिकाबाट न्याय मात्र मिल्छ र न्यायबाहेक अन्याय मिल्दैमिल्दैन भन्ने ठानिएला । न्यायपालिकाले न्याय दिने नभई निर्णय मात्र दिन सक्छ या दिनुपर्छ भन्ने सिद्धान्तलाई स्वीकार गर्दा अदालतलाई न्यायपालिका भनिनुहुँदैन भन्ने निष्कर्षमा पुगेर विषयको बिट मार्नु उपयुक्त हुन्छ ।

अदालतलाई न्यायपालिकाको रूपमा बुझ्ने गरिएकोले धेरै मानिसमा न्यायालयबाट न्याय मिल्छ भन्ने भ्रम रहेको देखिन्छ । न्याय होइन निर्णय दिने निकायका रूपमा अदालतलाई बुझियो भने मानिसको ‘पर्सेप्सन’ बदलिन सक्छ, न्याय पाउनु र निर्णय सुन्नु फरक–फरक पाटो भएको व्यहोरा स्पष्ट हुन सक्छ ।

नेपालमा न्यायालयभित्र हुने भ्रष्टाचार, बेथिति र विसङ्गतिको समयाक्रममा निर्मूलीकरण हुँदै जाने आशा राख्न सकिन्छ । संसारको कुनै पनि मुलुकमा सधैँ दानवराज मात्र रहेको पाइन्न, यहाँ पनि परिवर्तनको अपेक्षा राखौँ । अदालतभित्र हुने–देखिनेभन्दा खतरनाक गैरविवेकीय व्यवहार जनस्तरका हामी नागरिकबाट भइरहेको छ । आकाशे कुराका भरमा धारणा बनाउने र आफूले मनमनै बनाएको धारणाअनुरूपको कुरा मात्र सुन्ने, हजारपटक भने पनि तथ्यको उपेक्षा गर्ने हाम्रो संस्कार छ, यही संस्कारका कारण न्याय मर्ने, विवेक हराउने र सभ्य संस्कृति तथा समृद्धिको द्वार सदाका निम्ति बन्द रहने अवस्था जीवित रहेको छ ।

भनिन्छ, ईश्वर गल्ती गर्दैनन् । अनेक चैतन्य चोलामा प्रकट भएर तदनुरूप गरिने व्यवहारका निम्ति सम्बन्धित प्राणी नै जिम्मेवार रहने भएकोले पनि ईश्वरलाई गल्तीका निम्ति जिम्मेवार नठानिएको हुन सक्छ । सृष्टिमा सबैभन्दा ठूलो पाप या गल्ती हिंसालाई मानिन्छ, प्राणीको जीवन नास गर्नुदेखि कसैलाई आँखा तर्नु या अप्रिय वचन लगाउनुसम्मलाई हिंसा नै भनिन्छ । ईश्वर आफैँ हिंसा गर्दैनन्, त्यसैले कुनै पनि कार्यमा ईश्वरतत्वको गल्ती भएको मानिँदैन । तर, भगवानबाट चाहिँ गल्ती हुन सक्छ, राम्रो या सुखद परिणामका निम्ति गल्ती गर्नेहरू भगवान् हुन्छन् । भगवान्हरू जहिले पनि शान्ति, समृद्धि र प्राणी कल्याणका निम्ति उदात्त रहने गर्दछन् । प्राणी कल्याणका लागि खास अवस्थामा गल्ती गर्नुपर्ने देखियो भने उनीहरू जानाजान गल्ती गर्छन् र सकारात्मक परिणाम हासिल गराउँछन् । असल साध्यका निम्ति गलत साधन अवलम्बन गर्नु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई औचित्यहीन ठान्नुहुँदैन ।

कुलतमा लागेको पुत्रलाई कुनै पिताले सही बाटोमा ल्याउन गाली गर्नु या हात चलाउनु ठीक हो कि होइन भन्ने प्रश्नको सर्वसम्मत जवाफ नहुन सक्छ । राम्रो उद्देश्यका निमित्त गलत साधन अपनाउनुलाई सही र गलत दुवै भन्नका लागि यथेष्ठ तर्क हुन सक्छन् । तर, भगवान्हरूले प्राणी कल्याण या सकारात्मक परिणामका लागि गलत साधन अवलम्बन गरेको व्यहोरा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । त्यसर्थमा सकारात्मक परिणामका निम्ति गल्ती गर्ने, र त्यस्तो गल्ती स्वीकार गर्दै त्यसपछि अर्को गल्ती नगर्ने चरित्र भगवान्हरूमा भेटिन्छ । काम गर्दै जाँदा गल्ती गर्ने र गल्ती सुधारेर अघि बढ्ने स्वभाव–चरित्रचाहिँ मानवमा हुन्छ । मान्छेबाट गल्ती हुन्छ र गल्ती स्वीकार गरेपछि गल्तीको पुनरावृत्ति हुन नदिने चेष्टा पनि मानिसबाट भइरहन्छ । तर, खराब उद्देश्य र निजी स्वार्थपूर्तिका निम्ति जस्तोसुकै गल्ती गर्ने र पटक–पटक गल्ती गर्दै समाज र राष्ट्रलाई क्षति पुऱ्याइरहनेहरूलाई चाहिँ दानवका रूपमा बुझ्न सकिन्छ ।

तीस वर्षसम्म भीमसेन थापाको जयजयकार गरेर नथाक्नेहरू भीमसेनका दुर्दिन शुरु भएपछि मौन बसे र, जेलमा रहेका भीमसेन थापाकी पत्नीलाई नग्न तुल्याएर शहर घुमाउने हल्ला चलाइएपछि तिनै मानिस सडकमा रमिता हेर्न निस्किए । राजा ज्ञानेन्द्र सत्तामा रहँदा उनको एक झलक दर्शन पाउन लालयित रहेकाहरू उनले नारायणहिटीबाट बाहिरिनुपरेपछि गाली र आलोचना गरेर नथाक्ने भएका छन् ।

जंगबहादुर राणाले देशका निम्ति दर्जनौँ अविष्मरणीय काम गरेका हुन्, तथापि हिंसाको सहारा लिएर सत्तामा पुगेको भन्दै हामी उनलाई दानवीय पात्रका रूपमा चित्रण गर्न खोज्छौँ । हामी नेपाली खान्दानी विवेकहीन हौँ या केही दशकयता हाम्रो विवेकपक्ष रुग्ण हुँदै गएको हो भन्ने विषयमा अध्ययन–अनुसन्धान गर्नुपर्नेजस्तो देखियो । नकारात्मक, झुटा र सस्ता कुराहरू कानमा ठोक्किन आइपुग्नेबित्तिकै ग्रहण गरिहाल्ने, सही, सत्य र सकारात्मक कुराहरूचाहिँ आत्मसात् गर्न नखोज्ने प्रवृत्तिले हामी नेपालीलाई नराम्रोसँग गाँजेको छ । नकारात्मक कुराहरू पुष्टि गरिरहन हामी नेपालीहरू आवश्यक ठान्दैनौँ, सुन्नेबित्तिकै ग्रहण गर्छौं र धारणा बनाइहाल्छौँ । त्यसरी कानशक्तिले ग्रहण गरेपछि हामी आफूले बनाएको धारणामै अडिन चाहन्छौँ । तर्क या तथ्यभन्दा ज्यादा हठको सहारा लिन्छौँ । एकपटक आफूले बनाएको धारणाभन्दा भिन्न कुराहरू कदापि सुन्न चाहँदैनौँ, सुने पनि विश्वास गर्दैनौँ र कदाचित विश्वास गरिहालेछौँ भने पनि त्यसबारे सार्वजनिक रूपमा चर्चा–परिचर्चा गर्न चाहँदैनौँ ।

सिद्धान्त या विचार बहुमतका आधारमा बन्न सक्छ, अर्थात् धेरैले मानेका छन् भने आफू मात्रै किन अपवाद भन्ने कसैलाई लाग्न सक्छ । तर, घटनाको वास्तविकता (प्रत्यक्षदर्शीबाहेक) बहुमतका आधारमा खुल्ने या बुझ्ने भन्ने हुँदैन । वि.सं. ०५८ मा राजदरबारमा बीभत्स हत्याकाण्ड भयो, उक्त काण्डमा आफैँ परेका व्यक्तिको भनाइ विश्वास गर्न हामी तयार हुँदैनौँ । कुन्नि कसले नियोजित रूपमा चलाएको हल्लाचाहिँ हामीलाई प्रिय लाग्छ । घटनाका पीडित र जीवित साक्षी गोरखशमशेरले भनेको नपत्याउने, त्यसबेला प्रचण्ड–बाबुरामहरूले जङ्गलको कुनै ओडारबाट या नयाँदिल्लीका कुनै सुविधासम्पन्न फ्ल्याटमा बसेर चलाइएका हल्लाचाहिँ हामीलाई पत्याउन मन लाग्यो । केवल नकारात्मक र परपीडादायी विषयहरूमा मात्र रमाउने, यो कस्तो संस्कार बस्यो हामी नेपालीको !?

आफू जोगिएको छु भन्ने कसैले ठान्नुपर्ने अवस्था छैन, भोलि हामीमध्येकै कसैलाई ‘चोर’ दोष लाग्यो भने त्यसको प्रचार हुन एक पैसाको विज्ञापन खर्च गर्नुपर्ने हुँदैन । आरोप लाग्नुपर्छ त्यसको पुष्टि हुनुपर्दैन, तर चोर नभएको पुष्टि भयो भने समाज मौन बसिदिन्छ, फलानालाई मिथ्या आरोप लगाएर अन्याय गरियो भनी सार्वजनिक चर्चाको विषय बनाइँदैन । रूपचन्द्र विष्ट भन्ने गर्नुहुन्थ्यो, ‘सत्य जतिपटक भने पनि त्यसको वास्ता नगर्ने, झुट छिसिक्क कसैले प्रकट गऱ्यो भने धुमधाम फैलिएर जाने हुँदोरहेछ । नकारात्मक र झुट नै मन पराउने हाम्रो समाजको स्वभाव मनोविज्ञान छ ।’

खाने, सुत्ने, यौन कर्ममा रमाउने, बच्चा जन्माउने, हुर्काउने र मर्ने जस्तो प्राणी काममा सीमित मान्छेहरूको बाहुल्य रहेको नेपाली समाजका प्रति रूपचन्द्र विष्ट मात्र होइन, त्यागको पर्याय बनेका गणेशमान सिंह र सन्तपुरुष कृष्णप्रसाद भट्टराईहरूले पनि सकारात्मक निष्कर्ष निकाल्न सकेनन् । कसैमाथि कुनै गलत आरोप लाग्यो भने रमाएर प्रचारमा जुट्ने र कसैले राम्रो काम गरेको खबर सुनियो भने शङ्का गर्ने र त्यसको चर्चा गर्दै नगर्ने हाम्रो समाजको मनोविज्ञान हो ।

तीस वर्षसम्म भीमसेन थापाको जयजयकार गरेर नथाक्नेहरू भीमसेनका दुर्दिन शुरु भएपछि मौन बसे र, जेलमा रहेका भीमसेन थापाकी पत्नीलाई नग्न तुल्याएर शहर घुमाउने हल्ला चलाइएपछि तिनै मानिस सडकमा रमिता हेर्न निस्किए । राजा ज्ञानेन्द्र सत्तामा रहँदा उनको एक झलक दर्शन पाउन लालयित रहेकाहरू उनले नारायणहिटीबाट बाहिरिनुपरेपछि गाली र आलोचना गरेर नथाक्ने भएका छन् । राजाको मात्र होइन, केही वर्षअघि लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा उनीसँग निकटको सम्बन्ध बनाउन न्वारानदेखिको बल लगाउनेहरू अहिले लोकमान बाटोमा भेटिँदा पनि नचिनेझैँ गर्न खोज्छन् । यो नेपाली समाजको पुरानै रोग हो, पछिल्लो दशकमा हाम्रो विवेकहीनतालाई पुष्टि गर्ने अर्को रोग भित्रिएको छ ।

एकपटक कुनै कारणवश सकारात्मक या नकारात्मक धारणा बनाएपछि त्यसैमा अडिएर बसिरहने, तथ्यहरूले जसरी पुष्टि गरिरहेको भए पनि हेर्ने दृष्टिकोण बदल्न तयार नहुने नेपाली समाजमा देखिएको नयाँ रोग हो । उदाहरणका लागि केही पात्रहरूलाई प्रस्तुत गर्न सकिन्छ, त्यसमा एक कुलमान घिसिङ हुन् । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर (२०७३) प्रचण्ड प्रधानमन्त्री बनेपछि (या बनाइएपछि) भारतबाट आपूर्ति हुँदै आएको विद्युत्को मात्रामा करिब तीन गुणा बढी थप भयो, त्यसमा कुलमानले केही व्यवस्थापकीय सुधार पनि गरे र, लोडसेडिङको अन्त्य भयो । लोडसेडिङ अन्त्य जुनसुकै कारणबाट भएको भए पनि त्यसको शतप्रतिशत क्रेडिट कुलमान घिसिङले पाए, केवल कुलमानकै दक्षता, क्षमता र प्रयासले मात्र काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य भएको ठहर गर्दै उनलाई ‘भगवान्’ ठान्न थालियो । यसैबीच विद्युत् प्राधिकरणलाई प्राप्त हुनुपर्ने साढे सात अर्ब रुपैयाँबराबरको विद्युत् बिलिङ नै नगरीकन निजी क्षेत्रका केही व्यापारीलाई अनुचित लाभ पुऱ्याएको तथ्य सार्वजनिक भयो ।

कुलमान आफैँले गठन गरेको छानबिन समितिले विभिन्न व्यापारीहरूको नाम नै तोकेर करोडदेखि अर्बौं (साढे दुई अर्ब) रुपैयाँबराबरको विद्युत् महसुल उठाउनुपर्ने प्रतिवेदन दिएको छ । सरकारी स्वामित्वका औद्योगिक प्रतिष्ठानहरूसँग लोडसेडिङ अन्त्य भएपछि पनि प्रतियुनिट बाइस रुपैयाँका दरले विद्युत् महसुल उठाउने प्राधिकरणद्वारा खास–खास व्यापारीहरूको उद्योगमा आपूर्ति गरिएको विद्यूतको चाहिँ बिलिङसमेत गरिएन । यसमा करोडौँ रुपैयाँ घोटाला भएको शङ्का होइन विश्वास गर्ने आधार भेटिएको छ, तर नेपाली समाज कुलमानबाट गल्ती हुन्छ भन्ने ठान्दैन, बरु घोटालाबारे प्रश्न उठाउनेहरूमाथि नै शङ्का र प्रश्न उठाउन मानिस अग्रसर भएको देखियो । एकपटक देवता मानिसकेपछि उसले गरेका हरेक कार्यलाई जायज ठान्ने अविवेकीय प्रवृत्ति यहाँ प्रकट हुँदै छ ।

०६३ सालमा राजाबाट संसद् पुनस्र्थापना भएपछि त्यही संसद्लाई जग बनाएर राजनीतिजीवीहरू आफ्नो जीवनमा यति ठूलो परिवर्तन ल्याउन सफल भएका हुन् । संसद् पुनस्र्थापनाको निम्ति बलियो आधार बनेर बसेका व्यक्ति तात्कालिक सभामुख तारानाथ रानाभाट हुन् भन्ने हामी सबैलाई थाहा छ । राजाबाट प्रधानमन्त्री बनाइन खोज्दा पनि संसद्को अस्तित्व कायम राखिदिनुपर्ने भन्दै उनी सभामुख छोडेर प्रधानमन्त्री बन्न तयार भएनन् । तर, एउटा संवेदनशील प्रतिवेदन पढ्ने क्रममा चलनचल्तीको भावभङ्गिमा प्रकट गर्दै उनले ‘भटटट’ भन्ने शब्द प्रयोग गरेका थिए । तारानाथले इतिहासमा पुऱ्याएको सम्पूर्ण योगदान बिर्सिएर उनको अविवेकीय ढङ्गले खिल्ली उडाउन उद्यत् देखियो यो समाज । उनीप्रति विवेकसम्मत व्यवहार अहिलेसम्म भएको छैन र सायद अब नहोला पनि । यस्तै सोच सुशीला कार्की, गोविन्द केसी र गगन थापाहरूको सवालमा पनि प्रकट हुँदै आएको छ । सुशीलाले न्यायिक मूल्य, मान्यता र मर्यादामाथि कति ठूलो हिंसा गरिन् र उनकै कारण न्यायपालिका कति ठूलो सकसमा परेको छ भन्ने कुराको महसुस न्याय र कानुन बुझ्ने हरकोहीले गरेका छन् । तर, नेपाली समाजले एकपटक देवी मानेपछि सकियो ! उनका कुनै पनि गल्ती हेर्न–सुन्न समाज चाहँदैन ।

हुन त न्यायाधीशहरूमा खराब सुशीला कार्की मात्र रहेको भन्नेचाहिँ होइन, अधिकांश न्यायाधीशमाथि प्रश्न उठाउने ठाउँ र स्थिति रहेको छ । तर, सुशीलालाई मात्र त्यस्ती देवी मानिएको छ जसका हजार गल्तीमा मानिस आँखा चिम्लिन खोज्छन् । अर्का पात्र गोविन्द केसी छन्, जसमा कुनै खोट रहेको ठानिँदैन । एकपटक देवता ठानिएका केसीका गल्तीहरूमाथि प्रश्न उठाउनेहरू नै गलत भएको अर्थमा बुझिन्छ । केसीले तात्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाए । अन्ततः पराजुलीको प्रमाणपत्र नक्कली पुष्टि हुन सकेन । बरु गोविन्द केसीकै दुईवटा जन्ममिति रहेको तथ्य सार्वजनिक भयो । तर, मानिसको दृष्टिकोण बदलिएन । सरकारी सेवामा रहेर केसीले जे–जे गरेका भए पनि ती सबै जायज ठानियो, ठानिँदै छ । एकपटक देवता मानेपछि तिनका कुनै पनि गल्तीमाथि प्रश्न नउठाउने प्रवृत्ति यहाँ पनि देखियो ।

जयप्रकाश आनन्द र खुमबहादुरको झैँ हरेक राजनीतिजीवीको सम्पत्तिको स्रोत खोजिनुपर्छ भन्ने विवेकसम्मत माग कतैबाट भएन । शेरबहादुर देउवा, आरजु राणा र प्रचण्डलगायत सबै राजनीतिजीवीहरूको सम्पत्तिमाथि छानबिन शुरु गरियो भने परीक्षामा उत्तीर्ण हुन सक्ने मुस्किलले दर्जन व्यक्ति हुन सक्लान् । तर, हाम्रो समाज जयप्रकाश र खुमबहादुरहरू दण्डित भएकैमा यसरी रमाउँदै छ कि हजारौँ वास्तविक भ्रष्टाचारीहरू आफूसँगै नाचिरहेको चेत राख्दैन ।

एकजना लम्बोदर न्यौपाने नामका व्यक्ति छन्, जोे आफ्नै लगानी रहेको इन्जिनियर कलेज (चाँगुनारायण भक्तपुर) ले सरकारी जमिन कब्जामा लिन गरेको प्रयासका विरुद्ध उभिए । सरकारले वीर अस्पताल बनाउन प्रस्ताव गरेको उक्त जमिनमाथि नेकपाद्वारा संरक्षित केही व्यक्तिहरूको आँखा लागेको छ । तर, आँखा लगाउने पात्रहरू हरि पाण्डे, दीपक भट्टराई, सोम मिश्र तथा महेश बस्नेतहरूलाई देवता र लम्बोदर न्यौपानेलाई पहिले नै दानव ठानिसकेकोले आफ्नो धारणा बदल्न समाज तयार देखिँदैन, जो सत्य र न्यायका पक्षमा उभिएको छ उसैलाई पीडित र बदनाम तुल्याउने अविवेकीय मानसिकतामा समाज देखापरेको छ ।

चूडामणि शर्मा नामक एक कर्मचारी कति इमानदार या बेइमान हुन्, समयले त्यसको पुष्टि गर्दै गर्ला । तर, तीसौँ अर्ब भ्रष्टाचार गरेको आरोपमा कारबाही शुरु गरेको अख्तियारले उनको सबै सम्पत्ति छानबिन गरिसकेपछि केवल चार करोड रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै अदालतमा मुद्दा दर्ता गऱ्यो । अख्तियारले अर्बौंको बदनामी गरेर करोडको मुद्दा चलाउँदा पनि समाज अविवेकीय ढंगले मौन छ । एकपटक आफूहरूले ‘दानव’ ठानिसकेपछि त्यसबारे आफ्नो धारणा बदल्न समाज यहाँ पनि तयार भएन, न अख्तियारलाई हतियार बनाएर शत्रु तह लगाउन क्रियाशील जमातमाथि नै प्रश्न उठाउन कोही अग्रसर भए !

राजनीतिकर्मीहरूमध्ये खुमबहादुर खड्का र जयप्रकाश आनन्दलगायत केहीलाई केही लाख रुपैयाँको स्रोत देखाउन नसकेको भन्दै भ्रष्टाचारी करार दिएर जेल सजाय दिइयो । तर, जयप्रकाश आनन्द र खुमबहादुरको झैँ हरेक राजनीतिजीवीको सम्पत्तिको स्रोत खोजिनुपर्छ भन्ने विवेकसम्मत माग कतैबाट भएन । शेरबहादुर देउवा, आरजु राणा र प्रचण्डलगायत सबै राजनीतिजीवीहरूको सम्पत्तिमाथि छानबिन शुरु गरियो भने परीक्षामा उत्तीर्ण हुन सक्ने मुस्किलले दर्जन व्यक्ति हुन सक्लान् । तर, हाम्रो समाज जयप्रकाश र खुमबहादुरहरू दण्डित भएकैमा यसरी रमाउँदै छ कि हजारौँ वास्तविक भ्रष्टाचारीहरू आफूसँगै नाचिरहेको चेत राख्दैन । सन्दुक रुइत र महावीर पुनलगायत केही त्यस्ता व्यक्ति छन् जसमाथि प्रश्न मात्र उठाउनु पनि पाप हुन सक्छ । तर, उनीहरूबाट पनि जीवनमा कुनै गल्ती नै भएको छैन भन्ने निष्कर्षमा पुग्न सकिँदैन ।

मानिस भएकोले काम गर्दै जाँदा जोकसैबाट गल्ती हुन सक्छ, तर हाम्रो समाजले एकथरी पात्रलाई भगवान् र एकथरीलाई ‘दानव’का रूपमा बुझेको छ । दानव ठहर गरिएकाहरूबाट राम्रै काम भए पनि नदेख्ने, देवत्वकरण गरिएकाहरूको हजार गल्ती पनि छोपछाप गर्न तयार रहने जुन रोग यहाँ प्रवृत्त भएको छ, यसले नेपाल केवल देवता र दानवको लागि मात्र उपयुक्त बसोवास भएको दर्शाउँदै छ । एकपटक कुनै आरोप मात्र लागे पनि जीवनभर त्यसबाट मुक्ति नपाइने र कुनै कारणवश देवत्वकरण गरिएकाहरूबाट अक्षम्य गल्ती भए पनि त्यसलाई देख्नै नखोज्ने जुन सामाजिक रोग नेपालमा पसेको छ, यसले अन्ततः मुलुकलाई बहुआयामिक र दीर्घकालिक क्षति पुऱ्याउने त छँदै छ, नेपालमा विवेकसम्मत व्यवहारको विकासमा पनि अवरोध पैदा गरिरहनेछ ।

यो आलेख पढिरहँदा कतिपयलाई लेखकले ‘भ्रष्टहरूप्रति सहानुभूति पैदा गराउन खोजेको’ भन्ने पनि लाग्न सक्ला । यहाँ उठाउन खोजिएको मुद्दा विवेकसम्मत र मानवोचित व्यवहारको हो । सार्वजनिक पदीय जिम्मेवारी निर्वाह गरेका या गरिरहेकाहरू सबैको सम्पत्ति छानबिन गर्ने हो भने को कति इमानदार भन्ने स्पष्ट हुन सक्थ्यो, त्यसको सम्भावना तत्कालका लागि रहेन । २०६३ पछिको राजनीतिमा हर्ताकर्ताहरूले तोकेका व्यक्तिलाई मात्र गलत ठान्न विवेक मानिरहेको छैन । देवता ठहर भएका या दानवीय भूमिकामा रमाइरहेकाहरूबाहेक यस्तो समाजमा कम्तीमा मानव मात्रलाई चाहिँ जीवन गुजार्न निकै सकस पर्न सक्ने सम्भावना रहन्छ, जय श्री पशुपतिनाथ !