धुम्बाराहीबाटै उठ्यो ओलीविरुद्ध विद्राेह ! भीम रावल र जनार्दन शर्मालाई नेतृत्व

नेपाल समाचार राजनीति

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्धारित स्थायी कमिटी बैठक स्थगित भएपछि आक्रोश नेता कार्यकर्ताले पार्टी कार्यालय धुम्बाराहीबाटै विद्रोहको बिगुल फुकेका छन् ।

ओली समूहबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर स्थायी समिति सदस्यको भेला स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिने निर्णय गरेका छन् ।

बिहीबार दिउँसो पार्टी कार्यालयमा बसेको भेलाले नेकपाका अध्यक्ष ओली तथा प्रचण्डलाई भेटेर दबाब दिने निर्णय गरेका छन् ।बुधबारको सचिवालय बैठकमा ओली एकाएक उठेर भागेपछि एजेन्डा पारित हुन सकेन, जसले गर्दा बिहीबारका लागि निर्धारित बैठक बस्न नसकेको जनाइएको छ ।

भेलाले अध्यक्ष ओलीलाई दबाब दिनको लागि स्थायी कमिटी सदस्य भीम रावल र जनार्दन शर्मालाई नेतृत्वको जिम्मा दिएको छ । भेलामा सहभागी स्थायी समिति सदस्यले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर आगामी कदम चाल्न रावल र शर्मालाई जिम्मेवारी दिएका हुन् ।

धुम्बाराहीको छलफल अनौपचारिक भएको नेकपा स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए । पार्टीभित्र विवाद बढ्दै गएको, पार्टी बैठक टार्ने काम भएको, सरकार पार्टीप्रति जवाफदेही नभएको भन्दै स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै आएका छन् ।

पार्टीमा एक व्यक्ति एक पदको एजेन्डालाई स्थापित गराउने विषयमा भेलामा सहभागी सबै स्थायी कमिटी सदस्य एकमत भएका छन् । प्रधानमन्त्री ओलीले भने बहुमत सदस्यको एजेन्डालाई बेवास्ता गर्दै आफ्नो गुटका नेतालाई दोहोरो जिम्मेवारी दिएका छन् ।

ओली गुटका नेता शंकर पोखरेल प्रदेश ५ सरकारको मुख्यमन्त्री र प्रदेश इन्चार्ज भएकोमा वरिष्ठ नेता नेपाल समूहले चर्काे असन्तुष्टि व्यक्त गरेको छ । यसरी कसैलाई जिम्मेवारी नै नदिने र कसैले दोहोरो जिम्मेवारी पाउने अवस्था अन्त्य गर्न आवश्यक सुधारको माग उठ्दा ओली रिसाएर पार्टी बैठकबाट टाढा भाग्दै गएका नेकपा स्रोतले जनाएको छ ।