‘नक्कली खुट्टाले पेट पाल्दै छु’

नेपाल समाचार

मणिलाल विक, लहान

२०७६ माघ ४ शनिबार ०७:०२:००

मणिलाल विश्वकर्मा

यो कथा १३ वर्षअघि देहातमा भएको विद्रोहको हो । माघमा सुरु भएको आन्दोलनमा खेत जोतिरहेका हलीहरू जोत्दाजोत्दैको मेलो छाडेर सडकमा ओर्लिए । जाडोले कठ्यांग्रिएको गाउँबस्ती विद्रोहले तातियो । महिलाहरू घुम्टो फालेर आन्दोलनमा होमिए । मजदुरहरू रिक्सा थन्क्याएर सडकमा निस्किए । हो, त्यही लस्करमा थिए, किसुन साह पनि । 

सिरहा, लहान नगरपालिका–२४ गोविन्दपुरस्थित ग्रामीण टोलका किसुन त्यसवेला २४ वर्षका लक्का जवान थिए । लहान बजारमा रिक्सा चलाउँदै एक छोरा र दुई छोरीसहितको परिवार जसोतसो चलाउँदै थिए । लहानको सडकमा आगो बल्न थाल्यो । नेपालगन्जतिरको घटना सुने । सडकमा रिक्सा चलाइरहेका साथीहरू कुटिन थाले । कोही घाइते भए । त्यसपछि किसुनको पनि माथा गरम भयो । रिक्सा धन्क्याएर निस्किए सडकमा, होमिए विद्रोहमा । अनि लगाउन थाले नारा काठमाडौंले सुन्ने गरी । 

माघ २ बाट सुरु भएको मधेस विद्रोहले बिस्तारै हिंसात्मक रूप लिँदै गयो । सडकमा झडप बढ्न थाल्यो । प्रहरीले लाठी, अश्रुग्यास र गोली बर्साउन थाले । लहान बजार झन्झन् तनावग्रस्त हुन थाल्यो । कतिवेला के हुन्छ, केही थाहा थिएन । उँभो पहाडतिर अन्तरिम संविधान पाएपछि मानिसहरू खुसी थिए । यता मधेसतिर सडकमा आगो बलिरहेको थियो । आन्दोलनकारीको माग थियो, ‘मधेसी पनि यही देशको धर्तीपुत्र हो । 

हामीले पनि आफ्नो कानुन आफैँले लेख्न पाउनुपर्छ ।’ माघ ८ गते । सडक उसैगरी बलिरहेको थियो । किसुन बिहानै निस्किए सडकमा । माघको ठन्डीमा लुखुरलुखुर हिँडेर लहानबजार पुगे । जहाँ आन्दोलनकारी र प्रहरीबीच छिनछिनमा झडप भइरहेको थियो । झडप भइरहेको देखेपछि उनी अलि वरै रोकिए । दोहोरो पक्षको झडप हेरिरहे । अश्रुग्यासले सडक ढाक्यो । एकछिन आन्दोलनकारी तितरबितर भए । फेरि जम्मा भए सडकमा, अनि ढुंगा हान्न थाले । त्यस्तै, छिनाझप्टी चलिरहँदा एक्कासि गोली चल्यो । 

आन्दोलनकारी चिच्याए, कराए । कोलाहल मच्चियो, लहान बजारमा । किसुनको खुट्टामा गोली लाग्यो । त्यसपछि उनी ढले ।  सेनाको हेलिकोप्टरले उनीसहित बेचन यादवलाई पनि काठमाडौं ल्यायो । बेचनको प्राणपखेरु त्रिभुवन विमानस्थलमै उड्यो । किसुनलाई छाउनीस्थित दीपेन्द्र प्रहरी अस्पतालमा भर्ना गरियो । होसमा आउँदा उनी अस्पतालमा थिए । होसमा आएपछि डाक्टरले उनलाई भने, ‘खुट्टा काट्नुपर्छ ।’ डाक्टरको कुरा सुनेर किसुन झस्किए । दुई हात जोडेर बिन्ती गर्दै खुट्टा नकाट्न अनुनय गरे । किसुन त्यो पल सम्झिन्छन्, ‘खुट्टा नकाट्नु भनेर बिन्ती गरेँ । डाक्टरले पछि क्यान्सर हुन सक्ने भनेपछि मैले हार खाएँ ।’ माघ १० गते दाहिने खुट्टाको घुँडामुनिको भाग डाक्टरले काटे । खुट्टा काटिएको दिन किसुन धेरैबेरसम्म रोइरहे । आमाबुबा सम्झिएर रोए, लालाबाला सम्झिएर रोए, आफ्नै आगामी जिन्दगी सम्झेर रोइरहे ।

०००
करिब एक महिना चलेको विद्रोह टुंगियो । उनी अस्पतालमै बसिरहे । २६ वैशाख ०६४ मा अस्पतालबाट डिस्चार्ज भए । किसुन गाउँ पुगे । आन्दोलन टुंगियो, वार्ता चलिरह्यो । आन्दोलनमा सँगै हिँडेका साथी काठमाडौं पुगे । देशमा नयाँ नेताको उदय भयो । सबैले उनलाई आश्वासन दिए । जीवन फेरिने आशा गर्न थाले । तर, समय बित्दै गयो । आश्वासनहरू आश्वासनमै सीमित भए । किसुन फेरि आफ्नै दैनिकीमा फर्किए । 

किसुन रिक्सा चलाउन नसक्ने भए । जिन्दगी पहिलेको भन्दा झन् कष्टकर हुन थाल्यो । त्यसपछि उनी लागे खोलामा बालुवा चाल्न, गिटी कुट्न । गाउँकै खुट्टी खोलामा गिटी कुटे । बालुवा चाले । तीन छोराछोरी, पत्नी र आफूसहित पाँचजनाको परिवार पाल्न उनले गिटी कुटिरहे । किसुनले एक वर्ष होइन, दुई वा पाँच वर्ष होइन, १० वर्षसम्म त्यही खोलामा गिटी कुटिरहे । उता देशमा संविधानसभाको निर्वाचन दुई–दुईपटक भयो, कैयन् नेता आए, गए । यता किसुनको दैनिकी खोलामा गिटी कुट्दै बित्न थाल्यो । बीच–बीचमा पत्रकार आए, अन्तर्वार्ता लिए, गए । नेता आए, आश्वासन दिए, गए । तर, किसुनको जिन्दगी जहाँको त्यहीँ । 

वर्षौं गिटी कुट्दाकुट्दा उनी अशक्त हुँदै गए । बगरमा बिताएका वर्षहरू सम्झिँदै किसुन भन्छन्, ‘त्यो कामले परिवार पाल्न नसक्ने भएपछि अरू काम गर्ने सोच बनाएँ । त्यसपछि सयकडा तीन रुपैयाँ ब्याज तिरेर अढाई लाख रुपैयाँ ऋण लिएँ । त्यो पैसाले सिटी रिक्सा किनेँ । त्यही चलाउन थालेको अहिले तीन वर्ष भयो ।’ 

०००
मंगलबार बिहान उनको घरमा पुग्दा किसुन घुँडामुन्तिर नक्कली खुट्टा जोडी रातो रङको रिक्सा लिएर लहानतिर जाने तर्खर गर्दै थिए । ‘गाउँबाट लहानसम्म पु¥याउँदा प्रतिव्यक्ति ३५ रुपैयाँसम्म भाडा उठ्छ’ चलाउन खोजेको रिक्सा रोक्दै उनले भने, ‘गाउँदेखि बस्तीपुर, गुदीगाउँ हुँदै लहानसम्म पाँचजना यात्रु भेटिए पौने दुई सय रुपैयाँ हुन्छ ।’ दिनभर लहानदेखि गाउँसम्म करिब सात किलोमिटरको दूरीमा तीनपल्टसम्म ओहोरदोहोर गर्दा कमाइने सवा पाँच सय रुपैयाँले घरखर्च चलाउनै धौधौ हुने उनले सुनाए । भन्छन् ‘सिटी रिक्साको कमाइले बिहान–बेलुकाको चुलो बाल्न नै गाह्रो छ । नक्कली खुट्टा जोडी रिक्सा चलाएर पेट पाल्दैछु ।’ 

उधारोमै रिक्सा, उधारोमै टहरा 
किसुनले लहानका एक व्यापारीसँग रिक्सा किन्न अढाई लाख ऋण लिए । उनले त्यो ऋण त्यही रिक्साबाट कमाउँदै तिर्दै गरिरहेका छन् । तर, कमाइ त्यति राम्रो छैन । ऋण घट्ने भन्दा बढ्ने क्रम जारी छ । ‘हरेक वर्ष दुई जोर ब्याट्री किन्दा ८० हजार रुपैयाँ लाग्छ, उनी भन्छन्, ‘त्यो ऋण पनि जोड्दा सावाँ–ब्याज बढेर पाँच लाख पुगेको छ ।’ उनले सुस्तरी भने, ‘नक्कली खुट्टाको सहारामा रिक्सा चलाएर हुने कमाइले पेट पाल्दै ठिक्क हुन्छ, खै कहिले तिर्ने होला ऋण ?’

रिक्सा चलाएरै किसुनले जसोतसो १६ वर्षीया छोरी रविना गाउँकै स्कुलमा कक्षा १० मा पढाइरहेका छन् । दुई छोराहरू १४ वर्षीय विश्वजित र ११ वर्षीय इनरजितलाई भने एकजना सहृदयीले आफ्नै खर्चमा भोटिया टोल चोकको निजी विद्यालयमा पढाइरहेका छन् । किसुनको सहारा भएकी छिन्, उनकी श्रीमती भञ्जुदेवी । किसुन भन्छन्, ‘गाउँघरमा अरूको काम गरेर उनले मलाई सघाइरहेकी छिन् ।’

वर्षौं पानी चुहिने झुपडीमा उनीहरू बसिरहे । किसुनले चालेको बालुवाले लहानबजारमा कतिवटा घर ठडिए होलान्, त्यसको लिखत छैन किसुनसँग । अरूका लागि गिट्टी फुटाएर आफूचाहिँ फुसको झुपडीमा बस्दाबस्दा किसुनले पनि राम्रो घर बनाउने सोच बनाए । वर्षे झरीले घर, आँगन, भित्ता र परिवार नै रुझेको एक साँझ किसुनले छोराछोरीलाई सुनाए, ‘हामी पनि राम्रो घर बनाउने अब ।’ त्यसवेला उनका छोराछोरी निकै रमाएका थिए ।

सरकारले सहिद परिवार र घाइतेका परिवारलाई भैँसी दिने योजना ल्यायो । किसुन र भञ्जुदेवी दुवैजना भैँसी लिन गए । भञ्जुदेवीले नेतासँग झगडा गरेर बल्लबल्ल रोगी भैँसी लिइन् । भन्छिन्, ‘राम्रो भैँसी छानेर नेताले लगे, रोगी भैँसी मात्रै हामीलाई दिए । जति घाँस दिए पनि त्यो भैँसी दुब्लाउँछ मात्रै ।’

भोलिपल्ट बिहानै किसुन निस्किए, आफ्नै सिटी सफारी लिएर खोलातिर । ढुंगा र बालुवा लोड गर्न साथमा लगे सहयोगका लागि एक छिमेकी । अनि ओसार्न थाले, ढुंगा, बालुवा । भन्छन्, ‘मंसिरमा सिमेन्ट र रड उधारोमा ल्याएको छु । मिस्त्रीलाई २० हजार दिनुपर्नेछ, त्यो दिन सकिरहेको छैन । किसुनको घर बनाउन खटिएका छिमेकी ३५ वर्षीय शंकर दास भन्छन्, ‘उनको काम त गरेँ, तर पैसा पाएको छैन । उधारोमै काम गरेर अहिले अन्तै काम गर्दै छु ।’ अहिले किसुनको घरको जग मात्रै उठाइएको छ । पिलर छैन । त्यही जगमा बाँसको भित्ताले बार्ने र माथि टिनको छाना हाल्ने किसुनको ठूलो सपना छ । 

सवारी लाइसेन्समा झमेला
किसुनले जसोतसो रिक्सा त किने, अब ट्राफिकले लाइसेन्स माग्न थाल्यो । नक्कली खुट्टाले रिक्सा चलाएको देखेपछि झनै कडाइ गरियो । अब उनलाई अर्को आपत प¥यो । कहाँबाट ल्याउने लाइसेन्स ? दुई वर्षअघिको एक बिहान । लाइसेन्सविना रिक्सा चलाउन गाह्रो भएपछि किसुन बिहानै निस्किए, लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयतिर । लाइसेन्सको लागि फारम भरे ।

फारम भरेको हप्तादिनपछि उत्साहित हुँदै परीक्षा दिन यातायात कार्यालयको दोस्रो तला उक्लिन थाले । त्यही वेला कार्यालयको कर्मचारीले उनलाई रोके, सोधखोज गरे । उनको नक्कली खुट्टा राम्रोसँग चिहाए । भन्छन्, ‘त्यसपछि अपांगलाई लाइसेन्स दिन मिल्दैन भन्दै फारम र प्रवेशपत्र च्यातिदियो ।’ उनी हिम्मतका साथ भन्छन्, ‘मेरो एउटा मात्रै खुट्टा पो छैन त, तर म लिखित र प्रयोगात्मक परीक्षा पास गर्न सक्छु नि । तर, मलाई परीक्षामा नै सहभागी हुन दिइएन ।’ ‘रिक्सा चलाउनु मेरो रहर होइन, माध्यता हो’ उनी भन्छन्, ‘आन्दोलनमा खुट्टा गुमाएँ, भारी काम गर्न सक्दिनँ । कम्तीमा मेरी श्रीमतीले सक्ने काम राज्यले व्यवस्था गरिदिए रिक्सा चलाउन छाड्थेँ ।’

त्यसपछि किसुनले ती कर्मचारीसँग धेरै सवालजवाफ गरेनन् । किसुनको भित्रभित्रै आक्रोश उम्लिरहेको थियो । आफ्नै अगाडि च्यातिएको परीक्षा फारामको टुक्रा भुइँभरि छरिएको थियो । त्यसपछि किसुन भित्रभित्रै भक्कानिए । ढुंगाको जस्तो मुटु भएको मान्छेहरूका अघि उनलाई आँसु देखाउन मन लागेन । किसुन बैसाखी टेक्दै चुपचाप बाहिरिए । तर, नचाहेरै उनको आँखाबाट आँसुको धारा बगिरहेको थियो । भन्छन्, ‘आँखैअगाडि फारम च्यातिदिएपछि गेटमा आएर भक्कानिँदै रोएँ ।’ यातायात कार्यालय लहानका प्रमुख मीनप्रसाद भट्टराई भन्छन्, ‘सवारीचालक अनुमतिपत्र लिन सेवाग्राहीका रूपमा आएका किसुन अयोग्य नै भए पनि दुव्र्यवहार गरिनु हुँदैनथ्यो । कसले दुव्र्यवहार गरेको हो ? उजुरी गरे कारबाही गर्छु ।’ 

फारम मात्रै भराए
मधेस विद्रोहपछिको सम्झौतामा घाइतेहरूले उपचार पाउनुपर्ने, सहिद परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग पार्टीहरूले उठाएका थिए । घाइते हुँदा किसुनले पनि राज्यको तर्फबाट निःशुल्क औषधि उपचार पाए । तर, आन्दोलन सकिएपछि नेताहरूले नहेरेको गुनासो छ उनको । भन्छन्, ‘केही नगद रकम दिएर नेताहरूले हामीजस्तालाई बेवास्ता गरे ।’ रोजगारका लागि भनेर उनलाई पटक–पटक फारम भराइयो । भन्छन्, ‘नेताहरूलाई पटक–पटक भेटेर जागिर दिलाइदिन भनेँ । बल्लबल्ल उनीहरूले फारम मात्रै भर्न लगाए । तर, जागिर दिएनन् ।’

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट विनाविभागीय मन्त्री बनेका सिरहाका राजलाल यादव जिल्ला आउँदा भेटेरै रोजगारीको फाराम भरेर दिएको उनी सुनाउँछन् । गत वर्ष प्रदेश २ सरकारद्वारा लहानमा आयोजित बलिदानी दिवस कार्यक्रममा उनले तीन लाख रुपैयाँ पाए । भन्छन्, ‘त्यो पैसामध्ये केहीले ऋण तिरेँ, उब्रेको पैसाले उब्जनी नहुने ठाउँमा तीन कट्ठा जमिन जोडेँ ।’ 

वैशाखमा सरकारले सहिदका परिवार र घाइतेका परिवारलाई भैँसी दिने योजना ल्यायो । किसुन र भञ्जुदेवी दुवैजना भैँसी लिन गए । तर, उनीहरूले भैँसी पाउने सम्भावना एकदमै कम देखे । त्यसपछि भञ्जुदेवीले नेतासँग झगडा गरेर बल्लबल्ल भैँसी लिइन् । भन्छिन्, ‘त्यो भैँसी पनि पानी नमिलेर हो कि के हो जति घाँस दिए पनि दुब्लाउँदै गयो । राम्रो भैँसी छानेर नेताले लगे, रोगी भैँसी मात्रै हामीलाई दिए । जति घाँस दिए पनि त्यो भैँसी दुब्लाउँछ मात्रै । भैँसी पाउन त पाएँ तर बचाउनै गाह्रो पर्ला जस्तो छ ।’

छोराछोरी पढाउन सरकारले सहयोग गर्छ कि भन्दै अघिल्लो वर्षको माघमा किसुन र भन्जुदेवी जनकपुर गए । उनीहरूको चाहना थियो, मुख्यमन्त्रीलाई भेट्ने । आन्दोलनका घाइते भन्दै गर्वका साथ आफ्नो कथा सुनाएर राज्यबाट छोराछोरीको भविष्यका लागि केही सहयोग माग्ने । तर, भइदियो उल्टो । उनीहरूले मुख्यमन्त्रीलाई भेट्नै पाएनन् । भन्जुदेवी भन्छिन्, ‘मुख्यमन्त्रीको मिटिङ चल्दै छ भनेर हामीलाई त्यत्तिकै फर्काइ दिए ।’

मधेस आन्दोलनका कमान्डर उपेन्द्र यादव लहान आउँदा किसुनले भेटे । केही सहयोगको आशा राखे । उपेन्द्र यादवले उनलाई दुईवटा मोबाइल नम्बर दिए । किसुन भन्छन्, ‘सुरुसुरुमा कुराकानी हुन्थ्यो, पछि बिस्तारै मोबाइल नै उठ्न छाड्यो ।’ किसुनको घरदेखि करिब सात सय मिटरको दूरीमा छ, वडा कार्यालय । त्यहाँ पुगेर उनले कैयौँपल्ट राहतको व्यवस्था गरिदिन आग्रह गरेका छन् । तर, कुनै सुनवाइ नभएको उनको भनाइ छ ।

सरकारी कार्यालय धाउँदा–धाउँदा उनले पहेँलो रङको कार्ड पाए । भन्छन्, ‘तर यो कार्डबाट अहिलेसम्म भत्ता पाएको छैन ।’ वडाध्यक्ष कमलदेव यादव भन्छन्, ‘आर्थिक रूपले विपन्न, असहाय, घाइते अपांगता भएका व्यक्तिलाई वडा कार्यालयबाट गरिने विभिन्न सिफारिस निःशुल्क रूपमा गरिदिन्छौँ, किसुनलाई पनि हामी सहयोग गर्छौं । वडा कार्यालयबाट किसुनकी छोरीलाई विद्यालय पोसाक, कापी, कलम उपलब्ध गराउनेछु ।’ वडा कार्यालयको सहयोगमा सञ्चालन हुने आयआर्जनसम्बन्धी तालिममा उनकी पत्नीलाई सहभागी गराउने पनि उनले प्रतिबद्धता जनाए ।

००० 
किसुनको रिक्सा उनको घरनजिकै रोकिरहेको थियो । उनले नक्कली खुट्टा जोडे । त्यसपछि रिक्सामा चढे । जाँदा–जाँदै उनले भने, ‘नेताहरूले हामीलाई विचल्ली बनाए ।’ माघको चिसो सिरेटो छिचोल्दै उनको रिक्सा लहानतिर सोझियो ।