निर्मला प्रकरणमा डा. केसीको आक्रोशः महिला सांसदलाई प्रश्न– के तिमीहरुलाई बलत्कार गर्नुपर्ने हो ?

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले मुलुकमा अझै पनि सामाजिक न्याय स्थापित हुन नसकेको बताएका छन् । बलत्कार, हत्या, हिंसा, बेथितीलाई सरकारले प्रश्रय दिइरहेको उनको भनाइ छ । शनिबार काठमाडौंमा ‘नेपालका लागि नेपाली’ अभियानले गरेको विरोध प्रदर्शनमा उनले काम गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओली अहिले उखान टुक्का हाल्न व्यस्त रहेको भन्दै कटाक्ष गरे । सञ्चारमन्त्री गोकुल बास्कोटाको शैली प्रति पनि उनले असन्तुष्टि जनाए ।

‘प्रधानमन्त्री उखान टुक्कामै व्यस्त हुनुहुन्छ, सञ्चारमन्त्री बोल्यो कि पोल्यो भन्ने खालको हुनुहुन्छ, कसरी हुन्छ काम ?’, उनले प्रश्न गरे । उनले निर्मला पन्तको बलत्कार र हत्या प्रकरणमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग जवाफ माग्न नसकेको आरोप लगाए । निर्मला पन्तको हत्यारामाथि कारवाही भएन भन्छन्, कसरी हुन्छ कारवाही, कारवाही गर्ने मान्छे त्यहाँ पुगेकै छैन, उनले भने, प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाएर सोध्न सक्नु हुन्न ।’

महिलामाथि बलत्कार, दुव्र्यवहार, हिंसाको श्रृंखला नरोकिएको भन्दै डा. केसीले सदनमा सत्तारुढ दलका महिला सांसदले दिएको अभिव्यक्तिप्रति आक्रोश पोखे । निर्मला पन्त प्रकरणमा महिला सांसदहरुले ‘यो कम्युनिष्ट पार्टीलाई बद्नाम गराउनका लागि षड्यन्त्र गरेकोे नाटक हो, प्रचारवाजी हो’ भन्नु लज्जास्पद भएको बताए । ‘त्यसो भए निर्मलाको हत्या भएको छैन त्यहाँ, निर्मलाको हत्या चैं हत्या हुँदैन ?, निर्मलाको बलत्कार चैं बलत्कार हुँदैन ? तिमीलाई बलत्कार गरे मात्रै त्यो बलत्कार हुने हो ?’, डा. केसीले प्रश्न गरे । ‘के गर्दा बलत्कार ठहरिन्छ ? कस्का छोरी बलत्कार गर्दा बलत्कार ठहरिन्छ ? सामाजिक न्यायमा तेरो मेरो भन्ने कुरा हुँदैन, लोकतन्त्रमा सबै व्यवहार पारदर्शी हुनुपर्छ’, उनले थपे ।