नेकपाका सांसदको धम्की, ‘जेसुकै लेख्नुस्, म कसैसँग डराउँदिनँ’

अन्तरवार्ता

शेयर गर्नु होस ।

तपाईंले सांसद विकास कोषको ४० लाख हरिहरपुरगढीमा अतिथिगृह बनाउन छुट्याउनुभयो । जब कि त्यहाँ पानीको हाहाकार छ । पहिलो प्राथमिकता त खानेपानीको व्यवस्थापन होइन ?

अस्ति म त्यहाँ कार्यक्रम नै गरेर आएको हुँ । त्यहाँ सात–आठवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । तपाईंले भनेजस्तो पानीको हाहाकार छैन, भए पनि एकाध ठाउँमा होला ।

हरिहरपुरगढीमा पानीको अभाव छैन भन्नुहुन्छ, तर तपाईंले नै बजेट छुट्याएको अतिथिगृह प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर निर्माण भइरहेको छ नि ?

मैले भनेँ नि एकाध ठाउँमा समस्या होला । पहाडका बस्तीमा घरहरू छरिएर रहेका हुन्छन् । हरिहरपुरगढीमा अहिले पानीको अभाव भएको मलाई थाहा छैन ।

स्थानीय जनताले त अतिथिगृहभन्दा खानेपानी माग गरेका छन् । जनप्रतिनिधिको हैसियतले जनताको पहिलो आवश्यकता पूरा गर्नु नै तपाईंको दायित्व होइन र ?

पानी पनि महत्वपूर्ण हो, पर्यटकीय केन्द्र बनाउने काम पनि महत्वपूर्ण हो । जनताका सबै पक्ष महत्वपूर्ण हुन्छन् । हामीले पत्रकार पनि थरीथरीका देखेका छौँ । एक ठाउँको फोटो अर्को ठाउँमा टाँसेर हाल्छन् । कुनै सन्दर्भ नै नभएको फोटो ल्याएर टाँसेका हुन्छन् । जनताको पैसा खायो भनेर हाम्रो फोटो टाँसेर लेखिदिन्छन् । पत्रकारको पनि एउटा स्तर हुनुपर्‍यो नि कहाँ के गर्ने भन्ने । हरिहरपुरगढीमा ६ वटा खानेपानी आयोजना नेवाःमार्फत हालेको हो । थप ६ आयोजना बन्दै छन् । फेरि त्यहीँको समाचार हाल्नुपर्छ ? पत्रकार पनि फटाहा छन् ।

त्यसो भए तपाईंको बुझाइमा समस्या पत्रकार हुन् । अतिथिगृह निर्माण गरिरहेका ठेकेदारले पनि झुटो बोलेका हुन् ?

अतिथिगृह बनाउन पानी त तलैबाट ल्याउनुपर्‍यो नि । पर्याप्त पानी त त्यहाँ छैन । एकाध घटनालाई लिएर पानीको अभाव छ भन्न मिल्दैन । यो सबै पत्रकारले नियतवश गरेको हो । पत्रकारले यस्तै गर्दा त समस्या थपिन्छन् । ‘राम्रो भयो, अझ राम्रो गर्नुपर्‍यो’ पो भन्नुपर्छ । उल्टै नियोजित ढंगले लागेका छन् । तर, म कसैसँग डराउँदिनँ, जेसुकै लेख्नुस् ।

हरिहरपुरगढीमा दैनिक उपभोगका लागि पानीको चरम अभाव

सिन्धुली क्षेत्र नं. २ अन्तर्गत हरिहरपुरगढी गाउँपालिका–१ हरिहरपुरगढीमा दैनिक उपभोगका लागि पानीको चरम अभाव छ । तर, यो क्षेत्रका सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)को ४० लाख बजेट हरिहरपुरगढीमै अतिथि भवन निर्माणमा खर्च गरेका छन् । पानीका लागि एकसुको छुट्याएका छैनन् ।

कहिलेकाहीँ बिहान केहीबेर गाउँकै धारामा आउने पानी स्थानीयलाई पिउनसमेत पुग्दैन । वस्तुभाउलाई खुवाउनेदेखि अन्य सबै प्रयोजनका लागि चाहिने पानी भने तीन घन्टा पैदल हिँडेर तल हात्तीसार खोल्सीबाट बोक्नुपर्ने बाध्यता छ । खोल्सी पुग्न ओरालो सवा घन्टा र फर्किन पौने दुई घण्टा उकालो हिँड्नुपर्छ । हात्तीसार खोल्सीसम्म धाउन नसक्नेहरूले अरूसँग प्रतिगाग्री सय रुपैयाँ दरले किनेर गुजारा चलाउँछन् ।

गाउँमा युवा छैनन्, स्कुले बालबालिका बिदामा पानी बोकेर बेच्छन्

हरिहरपुरगढीमा युवाको संख्या निकै कम छ । बुढापाका, महिला र स्कुले बालबालिका मात्रै गाउँमा छन् । त्यसैले स्कुले बालबालिका बिहानबेलुका र बिदाको दिन खोल्सीबाट पानी ओसार्न लाइन लाग्छन् । गाउँका असक्तहरू उनीहरूबाटै पानी किनेर गुजारा चलाउँछन् । १२ कक्षाको परीक्षा दिएर बसेका केही किशोरी अहिले दिनभर पानी बोक्न खटिने गरेका छन् । उनीहरूले गाउँको विकास निर्माणका काममा चाहिने पानी बोकेर बेच्ने गरेका छन् ।

‘अहिले १२ कक्षाको परीक्षा दिएर बसेकाले फुर्सद छ । विहान मिर्मिरेदेखि साँझसम्म खटिँदा तीन गाग्री पानी ओसार्छु । दिनभर नबसी खटिने हो भने चार गाग्रीसम्म ओसार्न भ्याइन्छ,’ स्थानीय जेसुनमाया पाख्रिनले भनिन्, ‘गाउँमा अहिले विकास निर्माणको काम चलेकाले पानी बेचेरै मासिक १५ हजारसम्म पनि कमाएकी छु ।’ १२ कक्षाको परीक्षा दिएर बसेकी चरिमाया घिसिङले पनि दैनिक चार गाग्री पानी बेच्ने गरेको बताइन् । ‘फुर्सदको वेलामा त कमाई हुन्छ, तर धेरै दुःख छ,’ घिसिङले भनिन्, ‘एक गाग्री पानी लिन सवा घन्टा ओरालो जानुपर्छ, पानी बोकेर आउन पौने दुई घन्टाजति लाग्छ ।’

अतिथि भवन निर्माणमा पनि किनेको पानी

अतिथि भवन निर्माणमा पनि किनेकै पानी प्रयोग भइरहेको छ । स्थानीयसमेत रहेका ठेकेदार यमध्वज बलले प्रतिगाग्री सय रुपैयाँका दरले पानी किनेर निर्माणमा प्रयोग गरिरहेको बताए । ‘बिहान केहीबेर धारामा आउने पानी पिउन पनि पुग्दैन । अन्य कामका लागि त खोल्सीमा धाउनु वा किन्नुको विकल्प नै छैन । अतिथि भवन निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँका दरले किनेको पानी नै प्रयोग गरिरहेको छु,’ ठेकेदार बलले भने, ‘निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपर्ने अवस्था छ ।’

वडासदस्य माइलीमाया घिसिङ भन्छिन्–नजिक पानीको मुहान नै छैन

यहाँ नजिक पानीको मुहान नै छैन । निकै टाढाबाट पाइपमा पानी ल्याइएको छ । तर, अहिले खडेरीका कारण सुकेको छ । वर्षात्मा केही सहज भए पनि अन्य समय यस्तै हो । स्थानीय तहले प्रयास गरेको छ, तर सम्भव भएको छैन । सदरमुकामबाट यो क्षेत्र एक सय ५० किलोमटिर टाढा पर्छ । त्यसैले यहाँ हतपत कसैको नजर पनि पर्दैन ।

नयाँ पत्रिका दैनिकबाट साभार