नेकपाको झगडा: परालको आगो ! दुबै पक्ष बीच विन-विन सहमति ?

नेपाल समाचार राजनीति

अहिल्यै फुट्ला कि भरे नै फुट्ला जस्तो देखिएको नेकपा भित्रको घर झगडा अन्ततः परालको आगो जस्तै सामसुम हुने भएको छ।

दुबै पक्ष बीच चर्किएको विवादमा कोहि पनि पछी नहट्ने स्थितिका बीच पार्टी नै बिभाजन हुने स्थिती आईपरेको र आपसी कलहका कारण छँदाखाँदाको बहुमतको सरकार समेत गुम्ने खतरा उत्पन्न भएपछि दुबै पक्ष विन-विन हुने गरी सहमति गर्न तयार भएका हुन्।

प्रधानमन्त्री ओली अर्को पक्षको माग बमोजिम पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन तयार नभएको र त्यसो गर्दा आफ्नो मानमर्दन हुने ठानेकाले उनलाई आत्मलोचना सहित प्रधानमन्त्री मै निरन्तरता दिने तर बर्तमान मन्त्रीमण्डल भने पुनर्गठन गरेर उप-प्रधानमन्त्री सहित महत्त्वपूर्ण मन्त्रालयहरु अर्को पक्षले लिने र अध्यक्ष ओलीलाई सेरेमोनियल अध्यक्ष र प्रचण्डलाई कार्यकारी अध्यक्षको पूर्व निर्णयलाई अबिलम्ब कार्यान्वयन गर्ने गरी लिखित सहमति गर्ने तयारी हुँदैछ। त्यसै गरी प्रदेश सरकारहरुको पनि पुनर्गठन गरेर त्यसमा अर्को पक्षको चित्त बुझाउने रणनीति तय भएको छ।

भुँईको टिप्न खोज्दा बगलीको पोखिने स्थितिको आँकलन दुबै पक्षले गरेको र दुबै नै आ-आफ्नै अडानमा रहँदा र टुटफुट तिर लाग्दा दुबैको सत्ता, शक्ति र अस्तित्व नै संकटमा पर्ने देखिए पछी दुबै पक्ष अहिलेलाई युद्ध बिराम गर्ने निर्णयमा पुगेका हुन्।

यसै बीच सत्ता पक्ष बामदेब गौतमलाई मनाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छ भने अर्को पक्ष बहुमतको आडमा प्रधानमन्त्रीलाई थप कति गलाउन सकिन्छ भनेर प्रयास गरिरहेको छ। दुबै पक्ष बीचको तानातानीमा पार्टी भित्रको कलह अरु केही दिन चर्काचर्की मै बिते पनि अन्ततः आपसी लेनदेन मै टुङ्गिने निस्चित छ।