नेकपा विघटन हुने खतरा : नारायणकाजी

राजनीति

काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पूरै निष्क्रिय, अकर्मण्य, गतिहीन भएकाले विघटन र विसर्जनको दिशातिर जाने खतरा रहेको बताएका छन्।

प्रचण्ड र माधव नेपाल पक्षका शीर्ष नेताहरुले आज राजधानीको एक कलेजमा आयोजना गरेको भेलामा उनले पार्टीभित्रको विवादको सारतत्व मार्क्सवादी लेनिनवादी विचार, दृष्टिकोण र सिद्धान्तलाई पक्डेर जाने कि ट्रेडमार्क जस्तो मात्रै राखिरहने भन्ने भएको बताए। ‘विवादको सारतत्व त्यहाँ छ’, उनले भने, ‘कम्युनिस्ट पार्टी हाम्रो ट्रेडमार्क हो, ट्रेडमार्कको रुपमा मात्रै रहन्छ कि कम्युनिस्ट पार्टीकै रुपमा बनाउने?’

उनले पार्टी र सरकार विचार नीतिको आधारमा नचलेको बताए। उनले राजनीतिक दस्तावेज पार्टीलाई मतलब नभएको र सरकारले पनि पार्टीको सैद्धान्तिक राजनीतिक लाइन र कार्यक्रमका साथै घोषणापत्रलाई समेत वास्ता नगरेको बताए। ‘पार्टी सञ्चालनमा चरम व्यक्तिवाद छ। व्यक्तिवादी अराजकता छ’, उनले भने, ‘सरकार पार्टीको मार्गनिर्देशनमा चल्नुपर्ने, आधारभूत नीतिहरुमा र राष्ट्रिय महत्त्वका निर्णयहरुमा पार्टीले सरकार चलाउने भन्ने मान्यता हो। त्यसैले पार्टी र सरकार विधि र प्रक्रियाअनुसार चलेको छैन।‘

‘विचार र विधिको आधारमा पार्टी र सरकार चलेन, कम्युनिस्ट मूल्य मान्यता र संस्कृति पूरै उपक्षेत भएर भ्रष्टीकरणको प्रक्रिया अघि बढ्यो भन्ने जो निष्कर्ष हो, त्यो हो भने फेर्ने कसरी त भन्ने बहस अहिले भइरहेको छ’, श्रेष्ठको भनाई थियो।

उनले सुधारका लागि दुईवटा बाटो मात्रै रहेको र पहिलो बाटो प्रयोग भइसकेक बताए। ‘एउटा बाटो नकारात्मक प्रवृत्तिका पात्रहरुलाई आत्मालोचना गर्न लगाएर वा आलोचना गरेर, सच्याएर, परिवर्तन गरेर रुपान्तरण गर्ने। यही बाटोमा नै लाग्नु सबैभन्दा श्रेयष्कर हुन्छ भनेर हाम्रो पार्टीमा लगातार प्रयत्न भयो। मंसिर ४ देखि वैशाख २० गतेसम्म आइपुग्दा सारा पहल आत्मालोचना, आलोचना, कमजोरी सच्याउने प्रक्रिया र रुपान्तरणबाटै जाऔं भनेर अघि बढ्यौं। तर मंसिर ४ को निर्णय पनि कार्यान्वयन भएन, वैशाख २० पनि कार्यान्वयन भएन। यसले विश्वासको संकट पैदा भयो। त्यसैले दोस्रो बाटो अहिले चलिरहेको छ’, उनले भने।

उनका अनुसार, दोस्रो बाटो भनेको भूमिका परिवर्तनसँग सम्बन्धित छ। ‘नकारात्मक प्रवृत्तिको पात्रहरुको भूमिकालाई फेरबदल गरेर सापेक्षित रुपमा सकारात्मक प्रवृत्तिका पात्रहरुलाई अघि सारेर, उहाँको नेतृत्वमा भए पनि अगाडि बढ्नुपर्छ। त्यसैले पहिलो पहलले काम नगरेपछि भूमिकामा परिवर्तन गरेर पनि यो सच्याउनु त पर्‍यो’, उनले भने।

श्रेष्ठले निष्कर्ष निकाल्नको लागि पार्टीको बैठक आवश्यक भए पनि बैठक बस्न नदिइएको बताए। ‘बैठक बसेपछि पो निष्कर्ष निकालिन्छ त। त्यसैले अहिले हाम्रो प्रयत्न पार्टीको बैठक बसाल्नुपर्छ। बैठकमा सबै उपस्थित हुनुपर्छ। बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ। त्यसले नै पार्टी एकता रक्षा गर्न सकोस् र यथास्थितिमा गुणात्मक परिवर्तन गर्न सकोस् र पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न उपयुक्त समयमा महाधिवेशनमा जान सकोस्’, उनले भने।

उनले मंसिरमा महाधिवेशन सम्भव नभएको बताए। ‘अहिले त संगठनको एकीकरण पूरा भएको छैन। पार्टी सदस्य को हो, को होइन भन्ने पनि थाहा छैन। अनि दुई महिनामा महाधिवेशन गर्ने भनेको नहुने कुरा हो’, उनले भने।