नेताहरूकाे ध्यान “एनिहाउ पैसा कमाउ”मै केन्द्रित

बिचार

केदार कोइराला
युवराज खतिवडा जति विद्वान भनेर परिचित भएपनि अर्थमन्त्री भएपछि उनकाे विद्वताकाे घैंटाे फुटेर अनर्थमन्त्रीमा रूपान्तरित हुनपुगेका छन् । गभर्नरकाे सुगन्धित व्यक्तित्व बजेट भाषणकाे दुर्गन्धमा लुटपुटिएर डुङडुङ बसाउन थालेकाे छ । समय र परिस्थितिकाे आँकलन नै नगरी हचुवामा कर असुलिकाे मूलढाेका खाेलेर आफैं झ्यालबाट खाेपी प्रवेस गर्दा पनि खतिवडाकाे दम्भ झरेकाे छैन ।

शिक्षामन्त्रीले व्यक्त गरेका अनभिज्ञता, कृषिमन्त्रीकाे असन्तुष्टि र विवादित एमसीसी बजेटमा छिराएर भद्रगाेल निम्त्याउने अर्थमन्त्री कहाँबाट सञ्चालित छन् ? जगजाहेर भैसक्याे । अजासु प्रवृत्तिका हाेनहार व्यक्तित्व युवराज खतिवडा सिंगाे मन्त्रिमण्डलकै शकुनि सावित हुँदैछन्, तै पनि खुल्दैन चेत भने अब रामराम भन्ने मात्रै हाे, काँध थाप्न सकिँदैन भन्दैछन् उद्योगी व्यापारीहरू । अर्थमन्त्रीले चकलेटकाे राजस्वमा गरेकाे चकचक र बिजुलीगाडीमा लुंड्याएकाे धनरासी उनकै लागि गलपासाे सावित भयाे भने पनि अब अन्यथा नमाने हुन्छ ।

बन्दाबन्दी गरेर काेराेना उपचार शीर्षकमा गरेकाे खर्चकाे रफ्तार यसैगरी तेजहुँदै जाने हाे भने राज्यकाे ढुकुटी रित्तिन लामाे समय कुर्नु पर्दैन । नागरिककाे पीडादायक दैनिकीमा रत्तिभर चिन्ता नगरी कमीसन कुम्ल्याउन उदृत वर्तमान मन्त्रिमण्डलका हाेनहार सदस्यहरूकाे क्षमता र विद्वता पनि छताछुल्ल भैत सक्याे । समाज परिवर्तन गरेर सर्वहारा वर्गकाे जग बसाउने जाेगमेयरहरूकाे औकात र हैसियत पनि जनजनले राम्ररी थाहा पाइसके ।

कम्मल ओढेर घिउ लाेप्र्याउने कमरेडहरूमा इमान, जमान र विस्वासकाे ठूलाे खडेरी रहेछ भन्ने कुराे पनि प्रस्ट भाे । आफु आफुमै षड्यन्त्रकाे सिकार भैरहेका कैंचिमार कमरेडहरूकाे भित्री राेदन सुनिदिने र बुझिदिने काेही नभएर भित्र भित्रै पिल्सिएका बिचराहरू एकलकाट्टे बन्दै छन् । यस्तै हाे भने समाज बहिस्करणमा परिएला भन्ने केही केही अल्पज्ञानीहरूकाे ब्रम्ह त सलबलाउन पनि थालिसक्याे । नागरिककाे घरदैलाेमा पुग्नुपर्ने नेताले आफ्नै निवासकाे छतमा मासु भुटेर समय बिताउने दिन भाेग्नुपर्ला भन्ने सायदै साेचेका थिए हाेलान् । अबका दिन भुटभाटमै बिताउने मानसिकताकाे बृद्धि दल दलमा दलालहरूले ढलान गरिसके । त्यसैले पनि हाेला यतिखेर नेताहरूकाे ध्यान “एनिहाउ पैसा कमाउ”मै केन्द्रित छ ।

जन उत्तरदायित्व नै नबाेकेका अर्थमन्त्रीले जनताकाबीच किन जवाफदेही हुने ? हाे,यही दम्भले कसैलाई टेर्दैनन् युवराज खतिवडा । व्यापारी पाेस्ने, नागरिक साेस्ने अर्थमन्त्रीले पाँडे बजेट ल्याए भनेर किन चित्त दुखाई गर्ने ? जे उद्देश्य हाे त्याे पूरा गरेकै छन्, जसलाई रिजाउनु पर्ने हाे रिजाकै छन् अनि के काे चिन्ता उनलाई ? आफैं व्यापारीकाे सुराकी, आफ्नै मनाेमालिन्य भएपछि भाड्मा जाओस् जनता । हिम्मत छ भने गर विद्राेह खुल्लम खुल्ला चुनाैती दिइरहेका छन् अर्थमन्त्री, अनि हामी रमिते भएर गणतन्त्रकाे गुड्डी हाँकिरहेका छाैं । लाज त हामीलाइ लाग्नु पर्ने हाे ।

मारवाडीकाे माल, खतिवडाकाे चाल निजी क्षेत्रकाे बेहाल यहि हाे आजकाे यथार्थ । तैपनि हामी चुचाप छाैं किन ?
हामी चुकेका छाैं, झुकेका छाैं र नागरिक नागरिकबीच मुठ्ठि उठाएर निभेकाे चुलाे बालिरहेका छाैं । नेता चुन्ने बेलामा हामी चुक्याैं, परिस्थितिकाे समवेदनशीलता बुजेर हामी झुक्याैं आज कसैकाे मुख नताकी आ-आफैं एक अर्काकाे सहयाेगी बन्ने प्रयासमा छाैं त हामीले कस्काे के बिगार्याैं ? सरकारले बाँडेकाे राहतमा कमिसन, औषधिमा कमिसन, बिरामीकाे उपचारमा कमिसन, हुँदाहुँदा कर्मचारी हेरफेरमा कमिसन, जनता भनिरहेका छन्, हेराम के देख्नुपर्‍यो ।

वडा वडामा दलालकाे दलाली झाँगिएकाे छ । कुन बाटाे कमिसन कुम्ल्याउने यसैमा दत्तचित भएर लागेका छन् मन्त्री मन्त्राणीहरू । व्यापारीलाई कर छुट चाहिएकाे छ, समाजसेवी भनाैदालाई पद । जताततै दलालै दलालकाे बिगबिगी छ । जुवाडे छुटाउन दलाल, आयात निर्यातमा दलाल, उपचारमा दलाल, शिक्षामा दलाल, गाँसमा दलाल, बासमा दलाल, कपासमा दलाल । हे राम, दलालै दलालकाे चंगुलमा फस्याे मेराे देश कसरी लगाउने पार ?

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)