नेपालका संक्रमितमा कोरोना लक्षण किन छैन ? अध्ययन र विश्लेषण हुँदै

स्वास्थ्य

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमाल भन्छन्–नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे बोल्न अध्ययन नै गर्नुपर्ने भएकाले छलफल सुरु गरिएको हो । 

नेपालमा पनि कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै छ । नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । अनुसन्धानमा कोरोना भाइरसको प्रकार, बनावट र संरचना हेरिनेछ । 

देशभर अहिले देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिनु र कुनै पनि संक्रमित आइसियूमा बस्नुपर्ने अवस्था नआएकाले यसले नेपालमा रूप परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्वव्यापी रूपमा देखिएको ‘ट्रेन्ड’अनुसार सय संक्रमितमध्ये ८० जनामा सामान्य लक्षण देखिने, संक्रमितको १५ प्रतिशत आइसियू र पाँच प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो अनुपात नेपालमा भने मिलेको छैन । अहिलेसम्म कुनै पनि संक्रमितलाई आइसियू र भेन्टिलेटरमा बस्नुपरेन । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश संक्रमितमा लक्षणसमेत देखिएको थिएन । 

त्यस्तै, संसारभरको अध्ययनले ६० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको उच्च जोखिम हुने देखाएको छ । तर, नेपालमा यो समूहका संक्रमितमा पनि लक्षण देखिएको छैन । 

अध्ययन–अनुसन्धान गर्ने जिम्मा पाएका परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नास्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई अनुसन्धानमा सामेल गराएको छ । परिषद्ले उनीहरूसँग बृहत् छलफल पनि गरेको छ । 

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । ‘अध्ययनपछि मात्रै बाल्न सकिन्छ, तयसका लागि छलफल सुरु गरिएको छ,’ डा.धिमालले भने । 

नेपालमा देखिएको कोरोना भाइरसको प्रजातिबारे पनि विज्ञ र अनुसन्धानकर्तामाझ बहस चलिरहेको छ । त्यस्तै, नेपालीमा रोग प्रतिरोधात्मक क्षमता अरू देशभन्दा भिन्न छ कि छैन भन्ने विषयमा पनि फरक–फरक मत छन् । केहीले कोरोना भाइरस नेपालमा कमजोर देखिनुमा हावापानी र खानेकुराको पनि प्रभाव हुन सक्ने अड्कल गरेका छन् । त्यस्तै, भाइरस कमजोर भएर भित्रिएको अनुमान पनि छ । भाइरोलोजिस्टहरूका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्दा साबिकभन्दा कडा वा नरम रूप लिन सक्छ । 

चीनदेखि युरोपसम्म पुग्दा कोरोना भाइरस फरक–फरक रूपमा पुगेको डा. धिमालले बताए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार नेपालमा संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा युरोप र भारतबाट आएकाहरू बढी छन् । युरोपबाट आएका संक्रमितमा कडा भाइरस र भारतबाट आएकामा सामान्य देखिएको छ । ‘यस्तो के कारणले भयो वा योभन्दा बाहिर अरू केही कारण छ कि भनेर खोज्ने प्रयास भइरहेको छ,’ डा.धिमालले भने । 

विज्ञहरूका अनुसार कोरोना भाइरसका सात प्रजाति छन् । तिनैमध्ये कोभिड–१९ रोग पनि एक हो । अन्य देशमा देखिएको भाइरससँग नेपालको तुलना पनि गरिनेछ ।

पहिलो संक्रमितको नमुना अवैध रूपमा विदेश पठाइयो 

नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अनुसन्धानका लागि कुनै पनि नेपाली नागरिकको नमुना विदेश पठाउनुपूर्व नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले दुई महिनाअघि पहिलो संक्रमितको नमुना अनुमतिविना बाहिर पठाएको फेला परेको बताए । विनाअनुमति विदेशी संस्थालाई अनुसन्धान गर्न नमुना पठाएको भन्दै परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, डाक्टरद्वय डा. रञ्जित शाह र डा. हेमन्तचन्द्र ओझा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्वनिर्देशक डा. विवेककुमार लाल र कोरोना उपचारमा संलग्न डा. अनुप बाँस्तोलालाई स्पष्टीकरण सोधेको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञ पनि नेपाली युवाको नमुनाको अनुसन्धानमा सामेल थिए । परिषद्ले स्पष्टीकरण सोधेपछि डा. शाहले भने परिषद्का पदाधिकारीलाई भेटेर गल्ती स्विकारेको स्रोतले जनाएको छ । 

सदस्यसचिव डा. ज्ञवालीका अनुसार नेपालमा देखिएको भाइरसको प्रभावकारिता जाँच गर्नका लागि यो जिन आवश्यक पर्छ । उनले भने, ‘नेपालीको जिन यहीँ सुरक्षित हुनुपर्छ, यो विभिन्न औषधि भ्याक्सिनहरू बनाउनका लागि प्रयोग गरिन्छ । अनुमति लिएर लगेको जिनबाट औषधि वा कुनै भ्याक्सिन बनाएमा त्यस्तो कम्पनीले केही वर्षसम्म निःशुल्क औषधि वा भ्याक्सिन नेपाललाई दिनुपर्छ ।’