नेपालमै कोरोना विरुद्धको ‘खोप’ बनेको दाबी, पत्रकार सम्मेलन गरेर जानकारी गराइयो

नेपाल समाचार विश्व समाचार स्वास्थ्य

हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो खोज र यसको प्रक्रियाबारे जानकारी दिँदै परीक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। बोटविरुवामा आधारित औषधि निकालेको भन्दै उनले डाक्टरबाट पनि यसबारे आफूलाई प्रतिक्रिया प्राप्त भइरहेको बताए।

भाइरस निको हुने र मानिसमा रोग प्रतिरोधी क्षमता बढाउने गरी दुई प्रकारको नमूना तयार बनाएको उनले बताए। ‘अहिलेलाई मेरो काम सकियो, अब सरकारले आफ्नो काम अघि बढाओस्’, उनले भने,‘पछि आवश्यक परेको बेला म थप काम गर्दै जानेछु।’

‘मैले गलत चिज प्रयोग गरेको छैन। तर यो ठिक छ वा छैन भनेर परीक्षण होस्, मेरो चाहना यही छ’, उनले भने। परीक्षणको नियम बमोजिम नै विभिन्न जीवमा परीक्षण गरेर पछि मानिसमा प्रयोग गर्न सकिने उनले बताए। ‘जे नियम छ, सोही बमोजिम परीक्षण होस्, तर मेरो ७० दिनको मिहिनत यत्तिकै खेर नजाओस्’, उनले भने।

काठमाडौंमा भाइरलोजिस्ट यस्ता किसिमको ल्याब रहेको र यसअघि पनि परीक्षण भएको भन्दै उनले आफूले तयार पारेको यो प्रविधि पनि ती ल्याबमा हेरिदिन ध्यानाकर्षण गराएका छन्।