नेपालले एमसीसी अनुदान गुमाउन सक्ने राजदूत बेरीको चेतावनी

नेपाल समाचार

अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सैनिक उपस्थितीसँग जोडेर हेरे नेपालले यो बृहत अनुदान गुमाउन सक्ने चेतावनी दिएका छन् ।

सन् २०१७ मा हस्ताक्षर गरिएको ५५ अर्बको एमसीसी सम्झौता कार्यान्वयन संसद विघटनसँगै अन्यौलग्रस्त भइरहेको बेला बेरीको यस्तो अभिव्यक्ति आएको हो । सहमति अनुसार सम्झौता कार्यान्वयनका लागि संसदीय अनुमोदन जरुरी हुन्छ ।

विहिबार नेपाल आर्मी कमान्ड एन्ड स्टाफका सैनिक अधिकृत र प्रशिक्षार्थीलाई सम्बोधन गर्दै बेरीले यस्तो बताएका हुन् । चर्चा गरिएजस्तो सैनिक उपस्थितीसँग कार्यक्रमको कुनै सम्बन्ध नरहेको समेत राजदूत बेरीले बताए ।

सैनिक गतिविधिमा एमसीसी लागु गरिनु अमेरिकी कानुनी विपरित रहेको बताउँदै उनले यसबारे सबै तथ्य सार्वजनिक गरिएको बताए । नेपालले विकासको सम्भावना बोकेको अनुदान गुमाउन सक्ने जोखिम बढ्दै गएको समेत राजदूत बेरीले बताए ।

अमेरिकी सरकारले नेपालमा कुनै सैनिक उपस्थिती र सैनिक ध्रुवीकरण नचाहेको समेत उनले प्रष्ट पारे । नेपाली सैनिकलाई सुद्धढ बनाउने बारेमा अमेरिकी सहयोग निरन्तर हुने उनले जनाए ।