नेपाली विमान तेस्रोपटक अष्ट्रेलिया उड्दै : नेपालीको उद्दार नगरी रित्तै फर्कदै !

नेपाल समाचार

एमखबर न्युज डेस्क, क्यानाडा। ४ जून २०२०। अष्ट्रेलियाको क्यानबेराकालागी जुन ९ तारिखमा उड्ने नेपाली विमान फेरि पनि रित्तै फर्कने भएको छ।

यसअघि पहिलो पटक ब्रिसबेन र दोस्रो पटक सिड्नी पुगेको नेपाल वायुसेवा निगमको विमान पनि खाली फर्किएकाे थियाे । अहिले क्यानबेरा उड्न लागेको चार्टर्ड विमान पनि घर फर्कन दूतावास कै आग्रह र अनुरोधमा नियमानुसार नाम दर्ता गराएका नेपालीहरुलाई नलिईकन रित्तै फर्किने भएको छ।

अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपाली करिब १३ सय भएको बताएको छ तर आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान आउँदा समेत आफ्ना नागरिकलाई घर फिर्ता गर्न किन नचाहेकाे भन्ने सवाल कसैले बझ्न सकेका छैनन् । अथक प्रयासका वावजुत पनि नेपाल सरकारले निर्णय नगर्दा यस पटक पनि विमान खाली फर्कन लागेको भन्ने लाचारी प्रस्तुत गर्दै आएको छ।

समाज सेवाको ठुलै डिङ् हाक्दै आएको र बिदेशमा रहेका नेपालीको उद्दार अहाेरात्र खटेको प्रचारबाजी गर्ने  एनआरएन र तिनका नेताहरु तीन तीन पटक त्यसरी नेपाली विमान अष्ट्रेलिया आउँदै जाँदै गर्दा पनि त्यहाँका नेपालीलाई घर फिर्ता पठाउन नसक्दा भने त्यसको दोष दूतावास र नेपाल सरकारलाई लगाएर आफू भने पन्छिन खोजिरहेका छन्। जस लिने बेलामा तछाड मछाड गर्नेहरु नेपाली विमान त्यसरी रित्तै फर्कने भएपछि अपजसबाट जोगिन अहिले तर्केर हिंड्न थालेका छन्।

नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्ने औपचारिक रुपमा निर्णय गरेर घर फिर्ताको प्रक्रियालाई अघि बढाएको बताए तापनी कार्यान्वयन गर्ने बेला भने पिठ्युँ फर्काएको छ।

आफ्नै खर्चमा फर्कन र नियमानुसार क्वारेन्टाइनमा पनि आफ्नै खर्चमा बस्न तयार अष्ट्रेलियामा अलपत्र नेपालीलाई नेपाल सरकारले किन दोश्रो दर्जाको नागरिकलाई झैं अपहेलना गरिरहेछ, बुझी नसक्नु पहेली भएको छ।