नेपाली साहित्य समाजको पाँचौ भर्चुअल कवि गोष्ठी भानु जयन्तीमा समर्पित !

कला साहित्य क्यानडा विशेष

शेयर गर्नु होस ।

मदन बस्नेत, क्यानाडा। २९ जून, २०२०।

नेपाली साहित्य समाज क्यानाडाले कोरोना माहामारी पश्चात् आयोजना गर्दै आएको भर्चुअल कवि गोष्ठीको पाँचौ शृङ्खला हिजो साँझ आईतवार टोरोन्टोमा सफलतापूर्वक सम्पन्न गरेको छ।

समाजका अध्यक्ष रविन थपलियाको स्वागत मन्तब्यबाट सुरु भएको कवि गोष्ठी महासचिव खेम गुरागाईँको धन्यवाद ज्ञापनसंगसंगै समापन भएको थियो। कवि गोष्ठीको संचालन समाजका महासचिव खेम गुरागाईंले गर्नुभएको थियो।

प्रत्येक बर्ष नेपाली साहित्य समाज, क्यानाडाले भानु जयन्ती मनाउँदै आएको र सोही अवसरमा कवि गोष्ठी र मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै आएकोमा कोरोनाको प्रकोप र लकडाउनका कारण बिगतमा झैँ यसपाली उक्त कार्यक्रमहरुको आयोजना गर्न संभव नभएकाले यसै कवि गोष्ठीलाई भानु जयन्तीमा समर्पित गरिएको जानकारी समाजका अध्यक्ष रबिन थपलियाले आफ्नो मन्तब्यको क्रममा दिनुभएको थियो।

भर्चुअल कवि गोष्ठीमा सहभागीता जनाउने र कविता वाचन गर्नेहरुमा अनुजा घिमिरे, अनुप न्यौपाने, अशोक खड्का, बिरेन्द्र लम्साल, बिष्णु पंगेनी, देवराज सुवेदी, धर्म केसी, गोकुल भण्डारी, गोपिकृष्ण काफ्ले, जयराम सिम्खडा, खेम गुरागाईँ, मदन बस्नेत, मनकाजी श्रेष्ठ, मोहन खरेल, मुक्ति गौतम, पार्वती पाण्डे, पुण्यसागर मरहट्टा, रबिन थपलिया, रबिन्द्र लम्साल, राधा अर्याल, राजेन्द्र कार्की, रेखाकिरण पौडेल, ऋषी दाहाल, शालिग्राम अर्याल, शालिकराम ढकाल, शर्मिला पोख्रेल, सुदर्शन पौडेल, सुरेन उप्रेती, सुरेन्द्र राजभण्डारी, डा. तुलसी धरेल लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो।

उक्त कवि गोष्ठीमा क्यानाडाका विभिन्न शहरहरुको अलावा अमेरिका र बेलायतबाट पनि श्रष्टाहरु जुट्नु भएको थियो।

कोरोनाको प्रकोप क्यानाडामा दिनानुदिन कम हुँदै गएतापनी र लकडाउन क्रमशः खुकुलो हुँदै गएको भएतापनी १० जना भन्दा बढी भेला हुन नपाईने सरकारी नियम र सामाजिक दूरी पालनाको बाध्यकारी अवस्थाका कारण आगामी दिनहरुमा पनि समाजले कवि गोष्ठी भर्चुअल रुपमा नै संचालन गर्ने र आगामी शृङ्खला जुलाई महिनाको अन्तिम आईतवारका दिन हुने अध्यक्ष रबिन थपलियाले बताउनु भएको छ।