नेपाल प्रहरीको २८ औँ महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल समाचार

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज मंगलवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभयाे ।

महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।

नेपाल प्रहरीको सङ्गठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गर्नुभएको र उहाँले यसअघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।

स्थानीय भक्तपुर कटुन्जे निवासी नवनियूक्त महानिरीक्षक शैलेस थापा क्षेत्री लाई एमखबर डटकमकाे तर्फ बाट हार्दिक बधाइ सहित सफल कार्यकालकाे शुभकामना ।