नेपाल सरकारको उडान नीति: खुल्ला पनि नगर्ने, उद्दार गर्न पनि नदिने !

नेपाल समाचार

एमखबर डेस्क, क्यानाडा। जून ०७,२०२०। आफूखुसी चार्टर उडान नगर्न विदेशी विमान कम्पनीहरुलाई सरकारले निर्देशन दिएको छ। नागरिक उड्डयन प्राधिकरणले शनिबार ‘अर्जेन्ट नोटिस’ जारी गर्दै कुटनीतिक माध्यमबाट हुने चार्टर उडान बाहेक अन्य सबै उडान माथि रोक लगाएको छ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न भनि चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको थियो । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।

केही दूतावासहरुले विमान चार्टर गरेर आफ्ना नागरिकहरुको उद्दार गरिसकेका छन् भने अझै पनि नेपालमा थुप्रै बिदेशीहरु उद्दारको पर्खाईमा छ्न्।

विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले यस्तो कदम उठाउनु परेको बताएतापनी दूतावासहरुले ब्यबस्थापन गरेको चार्टर प्लेनको भाडा निकै महँगो नै रहेको देखिन्छ। अहिले निजि तवरबाट ब्यबस्थापन गरिएको चार्टर्ड प्लेनको भाडा र दूतावासहरुले मागेको भाडामा खासै अन्तर नरहेको बुझिन्छ।

त्यसैले नेपाल सरकारले भाडा महँगो भयो भनेर चार्टर प्लेन रोक्नु भन्दा अन्तरास्ट्रिय उडानको लकडाउन खोल्नु बुद्धिमानी हुनेछ।