नेपाल सरकार सीमा जोड, भारत सरकार सीमा छोड

नेपाल समाचार राजनीति

काठमाडौं : भारतले लिपुलेक-कालापानी क्षेत्रमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन्। शनिबार उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका हुन्।

‘सरकार… सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ भन्ने नारा लेखिएका कालो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए।‘नेपाल सरकार सीमा जोड, भारत सरकार सीमा छोड’ भन्ने कालोपट्टि बाँधेका थिए। प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नारा लगाएका थिए। लकडाउन र सरकारको विरोध गरेका उनीहरुलाई प्रहरीले केही बेरमै पक्राउ गरेको थियो।

भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ।