पटक–पटक आतंककारी बनाइँदा अमेरिकी अधिकृतले सोधे– तिमी अफगानिस्तानबाट हौ ?

नेपाल समाचार विश्व समाचार

रिज अहमद

अभिनयको सिलसिलामा धेरै यात्रा गरेँ मैले । विमानस्थल पानी–पँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद रहेन । म अभिनय गर्ने मान्छे । पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर वेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, युरोपेली समाजमा मलाई धेरै अप्ठ्यारो महसुस हुन थाल्यो । फैलँदै गरेको मेरो बहुआयामिक चिनारी नै संकटमा परेजस्तो लाग्न थाल्यो । 

सन् १९८० ताकाको एउटा घटना सम्झन्छु । सानै थिएँ । एकदिन दाइसँगै घर फर्कँदै थिएँ । घरनजिकै पुग्न लागेथ्यौँ हामी, एक्कासि एकजना गोराले हाम्रो बाटो छेक्यो । ऊ थियो खुंखार रंगभेदी । उसले दाइको गर्धनमा चक्कु तेस्र्यायो, हामी कालोनीलो भयौँ । एक दशकपछि एउटा ‘पाकी’ले उसैगरी मेरो गर्धनमा चक्कु तेस्र्यायो । ‘पाकी’ सन् ९० तिरको चल्तीको शब्द हो– फूर्तिफार्ती र हुलदंगा गर्ने एसियाली मूलका बेलायती युवा र अपराधी समूहलाई लक्षित गरी प्रयोगमा ल्याइएको । 

म नराम्ररी फसेकोचाहिँ बेलायतकै लुटन विमानस्थलमा हो । मेरो हातमा हतकडी थियो, पाखुरा टनटन दुख्दै थियो । बेलायती गुप्तचर अधिकारीले मलाई नियन्त्रणमा लिइसकेका थिए । ‘नाइन इलेभन’पछिको समय थियो । मलाई मुसलमान भएको कारण समातिएको रहेछ । 

अल्पसंख्यक समुदायका मान्छेले थोरै नाम र चर्चा कमायो भने त्यसलाई धुलिसात् पार्न मरीमेटेर लाग्छ मूलधार । अथक संघर्षबाट कमाएको सफलता निमेषभरमै धरापमा पर्न सक्छ । कुनै न कुनै आरोप लाग्छ– न आफूले रोजेको, न इच्छाएको । एकदमै बनीबनाउ आरोप । निकै अपमान सहेको छु मैले, अविच्छिन्न रूपमा । अभिनयका माध्यमबाटै जवाफ दिन चाहन्थेँ म, त्यसैले अभिनयमा आउने संकल्प गरेँ । अल्पसंख्यक समुदायमाथि लागेको कलंक मेटाउनु थियो मलाई । आफूभन्दा अलग समुदायलाई पनि मानवीय नजरले हेर्ने हो यस्तो विषम परिस्थिति नै आउँदैन, सहअस्तित्वको सम्भावना रहन्छ ।

अल्पसंख्यक समुदायको पात्रलाई विभिन्न तहमा देखाइन्छ । पहिलो छ– आप्रवासी पृष्ठभूमिका अल्पसख्ंयक मान्छेलाई एउटै आँखाले हेर्ने– चाहे ती गाडीचालक हुन्, वा स–साना व्यवसायी वा आतंककारी नै । दोस्रो छ– अल्पसंख्यक समुदायलाई विद्रोहीका रूपमा हेर्ने चलन । यसबाट पहिलो मान्यतालाई भत्काउन मद्दत पुग्छ । तेस्रो तहमा परिकल्पना गरिन्छ– आदर्श संसारको । जुन चरित्रको भूमिका म गर्छु, यथार्थमा त्यसभन्दा बेग्लै हुन सक्छु म । त्यही जातिसँग म नजोडिन पनि सक्छु । तेस्रो तहमा मलाई शंकाको नजरले हेरिँदैन–फगत संदिग्ध आतंककारीको भूमिका निभाएकै कारण वा आप्रवासी विगत भएकै कारण । मेरो नाम डेभिड पनि हुन सक्छ, अभिनयमा रहेको चिनारीले वास्तविक जीवनमा केही फरक पार्दैन ।

‘नाइन इलेभेन’लगत्तै ह्वात्तै बढ्यो पहिलोखालको बुझाइ । यही समयमा अभिनयलाई पेसा बनाउन सुरु गरेथेँ मैले । १८ वर्षको ठिटो थिएँ, कसले के सोचेको छ मेरोबारे, वास्तै थिएन । थोरै विद्रोही भावना पनि बढ्दै थियो मभित्र, बिस्तारै यस्ता मान्यताविरुद्घको प्रतिरोधी सोच पनि । त्यसैले, अभिनयमा रम्दै गएँ । माइकल विन्टरबटमको ‘दी रोड टु ग्वान्टानामो’ मेरो पहिलो सिनेमा थियो । बकिङ्घमका साथीहरूको कथा छ यसमा– गैरकानुनी रूपबाट अमेरिकी थुनामा रहेका र यातना झेलेका केटाहरूको । बर्लिन फिल्म महोत्सवमा यो सिनेमा पुरस्कृत हुँदा हाम्रो खुसीको सीमा रहेन । दर्शकमा अपार मानवता जगाउन सफल भयो यो सिनेमाले । 

तर, यसबारे विमानस्थलका सुरक्षा निकायलाई कुनै जानकारी थिएन । पुरस्कार थापेर बेलायत फर्किए म, लुटन विमानस्थलको तामझाम हेर्दै थिएँ । यत्तिकैमा एकजना गुप्तचर अधिकारीले मलाई च्याप्प समाते र सुरक्षित कक्षतिर लगे । अपमान र धम्की त छँदै थियो, कुटाइ पनि खाएँ । ‘कस्तो सिनेमा हो तिमीले बनाएको ? मुसलमानका गाथालाई मलजल गर्न अभिनयमा छिरेको तिमी ?’ उनी चिच्याए । मेरो पाखुरा बटार्दै थिए, भाँचिने भयो आज भन्ठानेँ । रिसले भाउन्न भएँ उनको प्रश्नले । कलात्मक अभिव्यक्तिमाथिको प्रहार मात्र थिएन यो । हाम्रा सुरक्षा निकायले आतंक फैलाउने गतिविधिका सम्भावित चाल र दिशा नै बुझ्न नसकेको स्पष्ट हुन्थ्यो यसबाट ।

विशेष शाखाका ती अधिकारीले ममाथि गरेको व्यवहार गैरकानुनी रहेको थाहा भएपछि अभियानकर्मी वकिलले मुद्दा हाल्न सुझाएका थिए मलाई । तर, यस घटनाबारे लेखेरै सार्वजनिक गर्न चाहेँ, अनि केही अखबारमा छपाएँ ती लेख । गैरकानुनी रूपमा थुनामा परेकोबारे बनेको सिनेमामा खेल्ने कलाकार म । आफैँ गैरकानुनी ढंगले हिरासतमा परेको थिएँ । यही व्यथा ओकलेको थिएँ लेखमार्फत । धेरैको ध्यान गएछ मेरो लेखमा । हतोत्साही बनाउन खोज्ने राज्य संयन्त्रमाथि प्रहार गर्न पाएकोमा दंग थिएँ म पनि ।

यही घटनाबाट प्रेरित भएर मैले एउटा गीत पनि लेखेँ, ‘पोस्ट नाइन इलेभेन ब्लुज’ । ‘हामी जो–कोही पनि शंकाको घेरामा पर्न सक्छौँ । त्यसैले आफ्नो चाक हेर्नोस् । मैले पादेको मात्र के थिएँ, भयानक आक्रमणको योजनाकारको आरोपमा समातिएँ ।’ यस्तै अन्टसन्ट थियो त्यो गीतमा । व्यंग्यकार क्रिस मोरिसकोसमेत ध्यान तानेछ मेरो गीतले । लगत्तै उनको निर्देशनमा बनेको सिनेमा ‘फोर लाइन्स्’मा अभिनय गर्ने मौका मिल्यो ।

मैले तिरेको करको रकमबाट तलब बुझ्ने मान्छेले मेरो पाखुरा झन्डै क-याककुरुक पारेको घटनालाई सजिलै भुल्न सकिनँ मैले । मभित्र विद्रोह सल्बलाउन थाल्यो । प्रचलित मान्यतालाई चुनौती दिने अठोट गरेँ । आदर्श संसारको परिकल्पनाबारे उत्साहित त थिएँ, तर अलमल पनि कायमै थियो ।

बेलायतमा गैरश्वेत पृष्ठभूमिको अभिनेताले तेस्रो तहको भूमिका सजिलै कहाँ पाउँछ र ? सबै निर्माता मसँग काम गर्न इच्छुक रहेको बताउँथे । तर, मैले अभिनय गर्न खोजेको भूमिका उनीहरूसँग देख्दिनथेँ । नयाँ सहस्राब्दीको संघारमा पनि सत्रौँ शताब्दीका गोराहरूकै स्तुतिगानका कथाले प्राथमिकता पाइरहेका थिए । बेलायतमा आदर्श संसारको परिकल्पना गरिएकै थिएन भनिन्छ, हलिउडमा चाहिँ केही थियो रे । 

यसो हुनुको कारण सजिलै बुझिन्छ । जीवन्त बहुसांस्कृतिकवाद बेलायतको वास्तविकता हो । बेलायतझैँ आफ्नैबारेको मिथक फैलाउन कथाको सहारा लिन्छ संयुक्त राज्य अमेरिका पनि । तर, हामीले बाँड्ने मिथकचाहिँ सम्पूर्ण गोरा जातिमा केन्द्रित रह्यो । यसविपरीत अमेरिकी समाजमा विभाजन त छ, तर यो सबैको साझा थलो हो अमेरिका भन्ने मिथक बडो मज्जाले फैलाएको छ । अपराधको समाधान खोज्दै अनि सँगसँगै अपरिचितसँग लड्दै सबैको संगमस्थल बनिरहेको छ अमेरिका । यस्तै आदर्श सोचाइ मनमा लिएर म अमेरिकातिर लागेँ । तर, कसै गरी पनि सहज रहेन अमेरिकी यात्रा पनि । 

अडिसन दिन जाँदाको अभिनय कक्ष र देश–विदेश डुल्दाको विमानस्थलको सोधपुछ कक्ष दुवै उस्तै लाग्छ मलाई, अरूलाई फसाउन थापिएका धरापजस्ता । थोरै मात्र असहमति जनाउँदा पनि भयानक खतराको मुखोमुख हुनुपर्ने । प्रायोजित घटनाको सिकार बन्ने सम्भावना ज्यादा हुने । यहाँ कसैको दाह्री नै उसका लागि खतराको सूचक बन्छ । अनि बाहिरी आवरणकै आधारमा उसको अस्तित्वमाथि आँच आउँछ । ‘नाइन इलेभेन’पछि बनेको पहिलो तहको मान्यता नै धेरैको गलाको पासो सावित भएको छ ।

अभिनय कक्षमा त जसोतसो यो समस्यालाई टारेको थिएँ मैले, तर अमेरिकी विमानस्थलमा भने कसैगरी पनि टार्न सकिनँ । ‘दि रोड टु ग्वान्टानामो’ सिनेमामा अभिनय गरेपछि अर्को अवसरको ढोका खुल्यो मेरा लागि । ६ महिनासम्म पाकिस्तान, अफगानिस्तान र इरानलगायत देशमा ‘एक्सिस अब इभल’को छायांकन गरिने भयो । अभिनयका लागि जाने भएँ म, मेरो राहदानीमा छाप पनि लाग्यो । यद्यपि, झमेलाले छोडेन मलाई । वातानुकुलित उडानमा पनि पसिनाले भिजेको थिएँ म– अब के हुने हो भन्ने चिन्ताले छोपेको थियो मलाई । 

जब अमेरिकी विमानस्थलमा ओर्लिएँ, त्यहाँ तैनाथ जाँचबुझ अधिकारी र मेरो छालाको रङ एउटै पाएँ । यो काकताली के को संकेत हो– शुभ वा अशुभ ? म घोत्लिँदै थिएँ । उनले मेरो राहदानी नियालेर हेरे, आँखीभौँ कुच्याउँदै मतिर फर्र्के । अनि मेरो अध्यागमन कार्डमा ठूलो अक्षरले ‘पी’ लेखिदिए । तत्काल सोच्न पुगेँ, पक्कै ‘पाकी’ भनेको हुनुपर्छ । ‘प्रोटोकल,’ उनी गर्जिए । अर्थात् नियमको पालना । अरू केही नभनी मलाई एउटा लामो प्यासेजमा पु-याइयो । अनि छेउकै कोठामा पस्यौँ हामी । मैले तुरुन्तै बुझिहालेँ– यहाँ त म पहिले पनि आएको थिएँ, परिचित कक्ष हो यो मेरा लागि ।

एउटा चिनियाँ परिवार, अर्को दक्षिण अमेरिकी विमानचालकबाहेक त्यहाँ अरू बीसजना थिए । ती बीसैजनाको अनुहारको रङ लगभग मसँग मिल्दोजुल्दो थियो । उनीहरू सबैको नजर मैमाथि परेको थियो । यो परिदृश्यको आशय थियो– मुख खोल्नुअघि नै अनुहारले सबै भनिसकेको छ । मान्छेभन्दा पहिले संकेत बन्न पुगिएछ । पहिलो तहको प्रचलित मान्यताको सिकार बनिएछ । अभिनय कक्षमा जस्तै डर व्याप्त थियो, हामीलाई राखिएको कक्षमा पनि । सबै चिन्तित देखिन्थे । अक्सर अप्ठ्यारो परिस्थितिमा देखिने ऐक्यबद्घता त्यहाँ थिएन । बरू आफूलाई अरूभन्दा अलग र निर्दोष देखाउने प्रतिस्पर्धामा थिए सबै । ‘अरूजस्तो म दोषी छैन’ भनिरहेथेँ सायद, मनमनै ।

हाम्रो सामुन्ने थिए, अन्दाजी २३ वर्षे लक्का जवान एक अधिकृत । बयानका लागि मलाई बोलाउनुअघि नै सानो वक्तव्य तयार थियो मसँग । सिनेमाका निर्माताले लेखिदिएको चिठी पेस गर्ने पक्षमा थिएँ म । ‘पुरस्कृत सिनेमा हो,’ यो पनि थपिदिने विचार गर्दै थिएँ । आँखै तिर्मिराउने नयाँ डिभिडी पनि देखाउने पक्षमा थिएँ उनलाई । तर, अचम्म ! मलाई सोधपुछ गर्ने अधिकृत मभन्दा ज्यादा आत्तिएको देखेँ ।

‘काउन्टरमा ढेसिएर नबस, यहाँबाट हटिहाल,’ एउटा मोटो मान्छेको आवाजले झस्किएँ म । उनको जुँगा पनि डरलाग्दै थियो । आवश्यक सोधपुछका लागि लामबद्घ रहेंँ । पर्खिबस्दा अघि तयार गरेको वक्तव्य दोहो¥याउन थालें । जब मेरो पालो आयो, धेरै अप्ठ्यारो र असहज स्थितिको सामना गर्नुप-यो । दुर्घटनामा क्षतिग्रस्त बनेको कारजस्तै थियो मेरो मानसिक अवस्था, उथलपुथल भइरहेको थियो । 

‘अँ, तिमी अफगानिस्तानबाट हो नि ? कस्तो किसिमको सिनेमा बनाउँदै थियौ त्यहाँ ?’ मुटु छेड्ने गरी तेर्सिएको जुँगेको प्रश्नले म तर्सिएँ । लुटन विमानस्थलमा केरकारमा पर्दा मलाई सोधिएका प्रश्न झल्याँस्स सम्झिन पुगेँ । त्यसबाहेक आफैँलाई सधैँ सोधिरहने प्रश्न पनि दिमागमा घुम्न थाले, फनफनी– पहिलो, दोस्रो, तेस्रो कुन तहको भूमिकामा समाहित भएँ त म ? मेरो अठारवर्षे तनले खेल्न चाहेको सिनेमा त होइन यो ? गलाको फन्दा अझ कस्सिने हो कि खुकुलो बन्ने हो ?

सुरक्षाकर्मीको प्रश्नको उपयुक्त उत्तर के दिने होला ? सोच्दै थिएँ म । ‘दी रोड टु ग्वान्टानामो’ डकुड्रामा थियो । तर, ‘ग्वान्टानामो वे’सम्बन्धी वृत्तचित्रमा मैले खेलेको थिएँ भन्नु उचित ठानिनँ । डकुड्रामा भए पनि ड्रामा नै भनिदिएँ । अरू थपेँ– बर्लिनमा पुरस्कृत सिनेमा हो यो ।

लामै मौनता छायो । उनले आँखीभौँ उचाले । मैले उनलाई डिभिडी थमाएँ । खोलमाथि मेरो फोटो थियो– पहेँलो पहिरनमा । अबचाहिँ उनलाई डिभिडी दिएकोमा मलाई पछुतो भयो । पक्कै फसेँ भन्ने लाग्यो । अझ लामो मौनता छायो । फेरि पनि उनको आँखीभौँ उचालियो । थोरै झुके उनी अनि सोधे, ‘अमेरिकालाई तहस–नहस पार्न कसले चाहन्छ, थाहा छ तिमीलाई ?’ ‘थाहा छैन’ भन्ने अभिप्रायले टाउको हल्लाएँ । मेरो सामानको चाङबाट एउटा किताब निकाले । मोहसिन हामिदको ‘दी रिलक्ट्यान्ट फन्डामेन्टलिस्ट’ थियो त्यो । मैले किताबबारे बेलीविस्तार लगाएँ, तर उनको ध्यान अन्तै थियो ।

मलाई केरकार गरिरहे । उनको तौरतरिका उच्चस्तरको गुप्तचर निकायको जस्तो लाग्दै थियो । मेरोबारे छापिएको लुटन विमानस्थलको घटनाको समाचार गुगलबाट निकाले । लौ म सकिएँ, मेरो मुटु काम्यो । हलिउड मेरा लागि होइन, यही सोचेँ मैले । 

कष्टकर तीन घन्टापछि मलाई छोडियो । विश्वासै गर्न सकिनँ एकछिनसम्म त । हल्का महसुस हुन थाल्यो । भाग्यमानी ठानेँ आफूलाई । कृतज्ञ बनेँ सुरक्षा निकायप्रति । तर, एकाएक रिसले आगो भएँ । बाहिर निस्कँदै गर्दा मजस्तै वर्णका मान्छेलाई चर्को स्वरमा अभिवादन गरेँ, ‘अस्सलाम वालेकम’ । कसैले जवाफ फर्काएनन् । सायद खतरा मोल्न कोही चाहँदैनथे ।

म्यानहटन पुग्नासाथ साथीसँग साँझको खानपिनमा बसेँ । तीन घन्टा ढिलो भइसकेको थियो, माफी मागेँ । उनीहरू ज्योतिष विद्याबारे छलफल गर्दै थिए, म भने कतै हराइरहेको थिएँ । यत्तिकैमा एउटा स्त्री आवाज मेरो कानमा ठोक्कियो, ‘तिमी त डरलाग्दो आतंककारी रहेछौ ।’ म के सुन्दै छु ? अनायासै आँखा मिच्न थालेँ । मेरो अनुहारको रौनक खस्कियो । सोचेँ, ती सुरक्षा अधिकृतसँग नम्रभावमा बिदा लिनु ठूलो गल्ती भएछ, सीधै गोली हान्देको भए हुनेरैछ ।

मैले ती महिलातिर फर्किएर झर्किँदै भनेँ, ‘के भन्न खोज्या तिमीले ?’ मेरो साथीले परिस्थिति सामान्य बनाउन खोज्दै भन्यो, ‘रिज, तिमी धनु राशिको हौ कि भन्ने जिज्ञासा हो उनको । तिमीसँग जिस्किँदै थिइन् ।’ रिस दबाउन खोजेँ मैले । आश्चर्यचकित अनुहार मैतिर स्थिर थिए, चासो पनि व्याप्त थियो । ‘साँच्चै हो, मैले राशिकै प्रसंग जोडेको थिएँ । तर, तिम्रो मन दुखाएकोमा क्षमा चाहन्छु ।’ खिन्नभावमा उनी बोलिन् । यस्तै प्रकृतिका प्रसंग घटे, यसपछि पनि । घरी–घरी दोहोरिए । म आक्रोशित बन्दै गएँ ।

यात्राको दौरान निरन्तर यस्तै केरकार र छेडछाड झेल्न बाध्य भएँ । एकपटक मैले कुनै सैन्य तालिम लिए नलिएको बुझ्न चाहे एक अधिकृतले । ‘लिएको थिएँ’, संक्षिप्त जवाफ फर्काएँ । तर, विद्यालय तहमा लिएको यो तालिमबारे विस्तारमा केही खुलाइनँ । हालसालै इरान, इराक वा अफगानिस्तानको भ्रमण गरे–नगरेको पनि जान्न खोजे उनले । हाँस्दै भनिदिएँ, ‘इराकचाहिँ गा’को छैन । तर, यो सूचीमा पाकिस्तान र साउदी अरेबिया थप्नुहोला ।’ केटाकेटी पाराका बन्दै थिए मेरा गतिविधि । उक्त अधिकृतको आशंकाप्रति ध्यानै नदिनु र केही प्रमाण (सांकेतिक नै सही) नछोड्नुचाहिँ मेरो एकमात्र रक्षात्मक कदम बन्यो ।

तर, पनि यो नाटक चलिरह्यो । अमेरिकामा काम पाएँ फेरि, भिसा लिन निवेदन दिएको थिएँ । दुवैपटक ‘२२१ जी सेक्सन’अन्तर्गत ममाथि केरकार गरियो । आतंककारीको अन्तर्राष्ट्रिय तथ्यांकसँग भिडाएर मेरो पृष्ठभूमिबारे लामै अनुसन्धान गरियो । झन्डै जागिर चट भा’को । अमेरिकी विदेश विभाग र मेरा वकिलबीच भएको इमेल कुराकानी पढेथेँ एकपटक । केही अंश यस्तो थियो :

‘विलियम, तपाईंले मुद्दा लडेको केटाको नाम त बेलायतीजस्तै लाग्छ त, होइन ? उसको गीत ‘पोस्ट नाइन इलेभेन ब्लुज’ पनि सुनेँ मैले । ‘ओसामा’ शब्द पो हालेको छ त एक ठाउँमा ।’‘ठीक छ नि ! छानबिन गर्नुहोला । उसको जातीय विवरण, राहदानीमा लगाइएको छाप, अनि हास्यास्पद गीतका शब्द पनि केलाउनुहोला ।’

तर, अघिल्लो महिना मात्रै मलाई अमेरिका छिर्न अनुमति दिएको र सुरक्षाका दृष्टिले निरापदसमेत ठानिएकाले लम्बेतान प्रक्रियाको खासै असर परेन ममाथि । त्यही भएर विमानस्थलका यी नौटंकीले रोकेन मलाई, अन्ततः अमेरिका प्रवेशको अनुमति प्राप्त भइछाड्यो । तर, पनि यी अनुभव तिता रहे मेरा लागि । दोषी चस्माले नियाल्ने र एउटै व्यवहार गर्ने परिपाटीको सिकार बनिरहेँ । बारम्बार यस्तो व्यवहार गर्न थालेपछि त अरूको इसारामा नाचिँदो पो रहेछ । तर, सचेत कलाकारझैँ अबचाहिँ म निर्दिष्ट भूमिकाको फर्माबाट बाहिर निस्कन संघर्षरत थिएँ ।

आफू संदिग्ध आतंककारी भएको स्विकार्न कसै गरी तयार थिइनँ म । यो ‘प्रोटोकल’वाला कहानी पत्याउन सकिनँ मैले । तर, परिवेशअनुरूप जब तपाईंको पहिचानलाई निर्दिष्ट ढाँचामा ढालिन्छ र तपाईंको पहिचान अरू कसैले निर्धारण गर्छ– यसलाई बदल्न किमार्थ सजिलो छैन । जहाँ–जहाँ म पुगेँ, हरेक ठाउँमा हन्डर खाएँ, विफल भएँ । तैपनि सामान्य मान्छेको रूपमा आफूलाई स्विकार्न सकिनँ, हार मानिनँ मैले । 

अभिनयको अभ्यासले आफ्नो भूमिकामा निखार त आउन थाल्छ । तर, अन्तर्निहित अर्थ नबुझी अभ्यास मात्र गरियो भनेचाहिँ तपाईंले संवाद भुल्न सक्ने सम्भावना बढी हुन्छ । तपाईं आफूलाई वास्तविक संसारमा होइन, अभिनयको संसारमा मात्र रहेको ठान्नुहुन्छ । त्यसपछि दृश्यले मागेको आबेग र यसमा तपाईंले देखाएको समर्पणबीच मेल खाँदैन ।
बल्ल मैले चाल पाएँ– चारित्रिक भूमिकामा मात्र सीमित रहेछन्, आजसम्मका मेरा खोजी । पानीको फोकाजस्तै अस्थायी ।

मैले आफ्नो महत्व  बुझेकै रहेनछु अहिलेसम्म । घटनालाई गम्भीरताका साथ हेर्न थालेँ विस्तारै । अभिनयलाई पनि जीवनलाई जसरी नै बुझ्न सुरु गरेँ, नयाँ शिराबाट । ‘प्रोटोकल’को प्रभावबाट बाहिर आएँ । फेरि अन्य भूमिकामा देखापर्न थालेँ । राम्रो एउटा काम मिल्नेभयो अमेरिकामा, अनि सँगसँगै अमेरिका छिर्ने प्रवेशाज्ञा पनि । ‘प्रोटोकल’विनै मेरो चिनारी झाँगिँदै गयो । आदर्श संसारको छेउछाउ पुगेजस्तो लाग्न थाल्यो अब त ।

अडिसन दिन जाँदाको अभिनय कक्ष र देश–विदेश डुल्दाको विमानस्थलको सोधपुछ कक्ष दुवै उस्तै लाग्छ मलाई, अरूलाई फसाउन थापिएका धरापजस्ता । कसैको दाह्री नै उसको खतराको सूचक बन्छ । 

विमानस्थल र अभिनय कक्ष दुवै ठाउँमा सही क्षितिज भेटेको थिएँ, बल्ल मैले । तर, यो आमसफलताको कथा भने हुँदै होइन । अवसर पाएको क्षेत्रमा टिकिराख्नका लागि मजस्तै कैयौँ साथी मेरुदण्ड नै भाँचिने गरी झुकिरहेका छन्, चाप्लुसी घसिरहेका छन्, सम्झौता गरिरहेका छन् । आज अभिनय क्षेत्रमा प्रवेशका लागि संघर्षरत हरकोहीभन्दा बेग्लै छु म । त्यसैगरी, अमेरिकी अध्यागमन कक्षमा आउने–जानेमध्ये पनि कसैसँग मेल खाँदैन मेरो वर्तमान । बिलकुलै अलग र अपवाद बनेको छु म । अनि यही अपवादलाई नयाँ नियमका रूपमा स्थापित गर्न सफल पनि भएको छु । 

मलाई गलत नठान्नुहोला । पछिल्ला दिनमा अमेरिकी विमानस्थलमा त मैले केही समस्या झेल्नु परेन । तर, बेलायतको हिथ्रो विमानस्थलबाट अमेरिका उड्दा भने अझै पनि झन्झट बेहोर्नु परेकै छ । यद्यपि, यो अनुभूति पहिलेजस्तो कष्टकर लाग्दैन, बरू हास्यास्पद लाग्छ आजकाल । आइपर्ने यस्ता व्यवधानमा सधैँ हाँसेर टार्न भने नसकिँदो रहेछ । 

हिथ्रो विमानस्थलमा एसियालीमूलका कर्मचारी धेरै छन् । यहाँबाट लस एन्जेलसको उडान अति नै भरपर्दो छ । ६ महिनासम्म एकजना अधवैँसे सिख कर्मचारी थिए, सुरक्षा जाँच गर्ने । एसियाली अभ्यासअनुरूप उनलाई मैले ‘काका’ भनी सम्बोधन गर्न थालेँ । उनी पनि मलाई ‘छोरा’ भनी बोलाउँथे । बडो सौहार्द सम्बन्ध बन्दै गयो हामीबीच । तर, सुरक्षा जाँचका क्रममा जसै मेरो गुप्तांगमा उनको हात पुग्थ्यो, झन्डै हाडनाताकरणीको तहमा पुग्थ्यो अवस्था ।  

उनी सोध्दथे, ‘कस्तो छ तिमीलाई छोरा ?’
‘ठीकठाक छ, काका’, म जवाफ दिन्थेँ ।
अरू धेरै सिनेमा मेरो हात पर्दै गए क्रमशः । अनि त झन् सधैँ यात्रामा रहेँ । हिथ्रोका एसियाली युवा कर्मचारीले तुरुन्तै चिन्ने भए मलाई । सुरक्षा जाँचकै क्रममा कसैले कुरैकुरामा मेरा सबै सिनेमाका नाम लिन पुग्थे । कोही भने सेल्फी लिन आग्रह गर्थे । 

पछिल्लोपटक हिथ्रो पुग्दा सुरक्षा जाँच गर्ने कर्मचारी थिए, एकजना युवा मुसलमान । चट्ट मिलेको दाह्री थियो उनको । संकोच मान्दै उनले भने, ‘तपाईंको तलासी गर्नु परेकोमा माफ पाऊँ है, दाजु । विमानस्थलको कर्मचारी भएर कतै उड्नुपर्दा मेरो पनि यसरी नै खानतलासी गरिन्छ । सायद मेरो पनि सुरक्षा जाँच हुने खबरले तपाईंलाई राहत महसुस भयो कि ?’

सँगै हाँस्यौँ हामी । तर, यो ठट्टा थिएन, कटुसत्य थियो । अल्पसंख्यक समुदायको बदलिँदो र विभाजित पहिचान उजागर गथ्र्यो यस घटनाले । हामीमाथि अरूले लादेको सत्य स्विकार्न कसरी बाध्य पारिएको छ हामीलाई ? सही हुँदाहुँदै पनि कसरी गलत कित्तामा घचेट्ने गरिन्छ हामीलाई ? प्रचलित मान्यताको ज्वलन्त उदाहरण थियो यो । ठट्टा गर्दै कस्सिएको मुट्ठी जुधायौँ आपसमा ।छुट्ने वेलामा उनले मलाई सोधे, ‘दाजु, तपाईंको आगामी सिनेमा कस्तो खालको हुनेछ ?’
घाँटीमा झुन्डिएको उनको परिचयपत्रतिर एक नजर हुत्याएँ मैले अनि मुख खोलेँ, ‘तिमीले चाहेको भूमिकामा खेल्न तत्पर छु म ।’
अनुवाद : गणेश खनियाँ