पतिसँग मनमुटाव भएपछि अविवाहित हुँ भन्दै युवतीले बनाइन् अर्को नागरिकता

नेपाल समाचार

उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् ।पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।

कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा उदपयुरबाट जीवनाथ दाहालले लेखेका छन्।

दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाहपछि सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०र ०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो ।उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।

वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिससमेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ ।

इलाका प्रशासन कार्यालय कटारीबाट शीतल राईको नाममा लिएको १४ र०२ र ७४ र ०१४१२ नम्बरको नागरिकता उनले हाल प्रयोग गर्दै आएकी छिन् ।