पर्यटनमन्त्रीको निर्देशनपछि अन्नपूर्ण ट्रेकिङमा गएका कयौंको उद्धार, केही अझै बेपत्ता

नेपाल समाचार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रत्यक्ष निर्देशनमा अन्नपूर्ण वेसक्याम्पमा अलपत्र परेका २ सय भन्दा बढी नेपाली तथा विदेशी पर्यटकको उद्धार भएको छ । खराब मौसमका कारण विभिन्न ठाउँमा फँसेका पर्यटकहरुको हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको हो ।

पदयात्रामा जाने र खराब मौसमका कारण विभिन्न स्थानमा अलपत्र परेका एक सय ४१ जनाको हिजो शनिबार उद्धार गरिएको हो । मन्त्री भट्टराईको निर्देशनका साथै अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबको पहलमा उनीहरूलाई उद्धार गरिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार सातजनालाई अन्नपूर्ण आधार शिविर, १२० जनालाई माछापुछ्रे आधार शिविर र देउरालीबाट १४ जनालाई उद्धार गरिएको हो । चारवटा हेलिकोप्टर प्रयोग गरी पर्यटकको उद्धार गरिएको हो ।

माथिल्लो भागमा जमेको हिउँ नपग्लेसम्म केही दिनका लागि देउरालीदेखि माथि पर्यटकलाई जान नदिने र अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडानसमेत बन्द गर्ने विषयमा समितिले छलफल थालेको सचिव गुरुङले जानकारी दिएका छन् ।छोम्रोङ ल्याइएकामध्ये केही पर्यटक पैदलमार्फत पोखरा झर्न सुरु गरिसकेका छन् ।

यसैबीच अझै ११ जना पर्यटकहरु सम्पर्कमा आएका छैनन् । अन्नपूर्ण ट्रेकिङमा गएका आठ विदेशी पर्यटक र तीन नेपाली सहित ११ जना हराईरहेका हुन् । उनीहरुको उद्धारका लागि प्रयास भएपनि अहिलेसम्म उद्धार गर्न सकिरहेको छैन । यसरी हराउनेमा चार चिनियाँ, चार कोरियन र तीन नेपाली रहेका छन् ।

दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली सम्पर्कविहिन अवस्थामा छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहिन छन् । खराब मौसमका कारण उनीहरूसँग सञ्चार सम्पर्कसमेत हुन नसकेको बताईन्छ ।

गत शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्क्िवहीन भएका हुन् । पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहिन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिएका छन् ।

सम्पर्क्विहीन भएकाको खोजीका लागि शनिबार चारवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । उनीहरू हराएको भनी शंका गरिएको स्थान धेरै ठूलो नभए पनि केही पत्ता नलागेको अन्नपूर्ण गाँउपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार आधा घन्टाभन्दा बढी चारवटा हेलिकोप्टरबाट हिंकु वरिपरिको क्षेत्रमा खेजी गर्दा केही पनि पत्ता लागेको छैन ।

उनीहरूको उद्धारका लागि पैदल गएको ६ जनाको टोली खराब मौसमका कारण दोभानदेखि माथि जान नसकेको टोलीमा रहेका विजय गुरुङले जानकारी दिएका छन् ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले केही दिनदेखि परेको वर्षासँगैको हिमपातका कारण हराएकाको खोजीमा समस्या भएको जानकारी दिए ।

हिंकु भन्ने स्थान खोल्सा रहेको र सोही खोल्सामा माथिबाट आएको हिमपहिरोले उनीहरूलाई पुरेको आशंका छ । देउरालीबाट दोभान आउने क्रममा उनीहरू नआएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । सो स्थानमा हिमपहिरो जाने गरेको छ ।