पर्सामा सेना परिचालनको निर्णय, आज साँझ ८ बजेदेखि निषेधाज्ञा

नेपाल समाचार स्वास्थ्य

काठमाडौं । पर्सामा ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो ।

पर्सामा मंगलबारमात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय गरिएको हो ।
बैठकले मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।