पशुपतिको सम्पत्तिमा रजाइँ, कसरी हरायो सुन?

नेपाल समाचार

कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ। धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए।

कसैले सरकार (गुठी संस्थान)लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए। कसैले चाँदी, तामा, पित्तल आदि दान दिए। हुनेखानेले सुन नै चढाइदिए।

समयले कोल्टे फेर्दै गयो। जग्गाको भाउ अकासिँदै गयो। आनाकै लाखौं/करोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो।

उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले। आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले।
हजारौं बिघा÷रोपनी जग्गाको धनी पशुपतिनाथ क्रमशः खोक्रिँदै गयो।

मन्दिर व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष स्थापना गर्नुपर्छ भन्ने सोच २०४३ सालमा मात्र आएको देखिन्छ। त्यसअघिदेखि नै पशुपतिका नाममा रहेका जग्गा र चढाइएका सुनचाँदीमा आँखा लगाउन थालिसकेको अभिलेखले देखाएको छ।

कोष बने पनि त्यतिबेला हराएका जग्गा, सुन र सम्पत्ति खोजी गर्ने काम कसैले गरेन।

प्रभावमा नपर्दा ‘प्रतिवेदन’
पशुपतिनाथमा सदियौंदेखि चलिआएका जात्रापर्व र पूजा आदि सञ्चालनमा कठिनाइ आएको, कतिपय जात्रापर्व बन्द भएको, जग्गाजमिन हराएको, भेटीघाटीमा अनियमितता भएको, सुनसमेत गायब भएकोजस्ता समाचार सञ्चारमाध्यममा आउन थाले। सरकारले चासो लियो। सम्बन्धित मन्त्रालयले छानबिन समिति गठन गर्‍यो।

कोषकै निर्देशक भोलाप्रसाद सिटौला सदस्यसचिव रहेको यो समितिले एक वर्ष लगाएर ६२४ पृष्ठको प्रतिवेदन तयार पारेको छ।

यसले पशुपतिनाथको चलअचल सम्पत्ति लगायत थुप्रै विषयको एउटा इतिहास उतारेको छ। जसमा कोषका कर्मचारी सीताराम रिसाल, वासुदेव रिमाल, कुलप्रसाद उपाध्याय र तेजबहादुर थापा खटिए।

१८ हजार रोपनी देखियो, २३१ रोपनी गायब
कोष आफैंमा अलमल थियो। कोषको नाममा कति जग्गा छ यकिन थिएन। कति र कहाँ मासिए थाहा थिएन। प्रतिवेदनले सप्रमाण भन्यो, कोष मातहतका तीन कार्यालय पशुपतिनाथ भण्डार तहविल, पशुपतिनाथ अमालकोट कचहरी र पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालय मातहतमा पशुपतिनाथका नाममा १८ हजार तीन सय ४२ रोपनी दुई आना दुई दाम जग्गा छ।

जसमा पाशुपत क्षेत्रभित्रका गुठी संस्थानले असुल उपर गरी पशुपति क्षेत्रभित्र चलाउनुपर्ने महास्नानलगायतका विभिन्न गुठीको जग्गा ११ हजार दुई सय ६१ रोपनी तीन पैसा एक दाम छ। दुर्भाग्य नै भन्नुपर्छ, पशुपतिनाथका नाममा रहेको दुई सय ३१ रोपनी जग्गा भने गायब भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन्।

१७ हजार रोपनी, ७४ लाख आम्दानी !
सूचना प्रविधिले फड्को मारिसक्यो। २१औं शताब्दीको ग्लोबल भिलेजको दुनियाँले विकासमा कायापलट आइसक्यो। तर पशुपतिनाथ मन्दिरका आयस्तामा नयाँपन आउन सकेको छैन। अझै पनि मानापाथीमै छ। आनाकै लाखौं पर्ने उपत्यकाभित्रको हजारौं रोपनी जग्गाको आयस्ता गणना गर्ने हो भने पशुपतिनाथले यसबाट मात्रै अर्बौं कमाउन सक्छ।

१७ हजार दुई सय १६ रोपनी जग्गाबापत उसको वार्षिक आम्दानी ७४ लाख मात्रै छ। समय सापेक्ष आम्दानीमा समायोजन नभएको दशकौं भइसकेको छ। जग्गाजमिन अथाह भएर पनि आम्दानी गर्न नसकेपछि पाशुपत क्षेत्रका केही जात्रापर्व बन्द भइसकेका छन्।

कोषका तीनवटा कार्यालयले १७२१६ रोपनीबाट वार्षिक ७४ लाख १७ हजार ९५३ रुपैयाँ मात्रै कुत पाउने गरेको डा मिलनकुमार थापा संयोजकत्वको प्रतिवेदनले जनाएको छ।

ह्यात होटलले १७ रोपनी जग्गा ओगटेको छ। मासिक करोड हाराहारी कमाउने उसले कोषलाई भने वार्षिक ३४ हजार भाडा तिर्छ। वनकाली धर्मशालाले १० रोपनी र प्राणनाथ क्याफेले करिब ४ रोपनी जग्गा उपयोग गरिरहेछन्। उनीहरूले पनि कोषलाई न्यून भाडा तिर्दै आएका छन्।

कसरी हरायो सुन?
पशुपतिनाथ मन्दिरमा भेटी चढाउने हजारौं हुन्छन्। दैनिक कम्तीमा सवा लाख र बढीमा तीन लाख रुपैयाँसम्म संकलन भएको कोषको तथ्यांक छ। पशुपतिमा भेटीजस्तै सुन चढाउनेको संख्या पनि पनि कम छैन। तर श्रद्धाले जति सुन चढाइन्छ, त्यसको अभिलेख पनि श्रद्धाले राख्ने मान्छेको अभाव देखिएको छ।

५६ वर्ष अवधिमा पशुपतिमा सुन कति चढ्यो होला रु तर धेरैको अनुमानविपरीत ९ किलो मात्र सुन चढाएको पाइएको छ। यो तथ्यांक २०१९ सालयताको हो। २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को पनि सुनको अभिलेख छैन।

कोषकै कर्मचारी सुन चढाएको मिति उल्लेख भए पनि सुनको विवरण नदेखिएको बताउँछन्। ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ किनकि मुचुल्का देखिन्छ, लगत भेटिन्छ तर सुनको मात्रा खुलाइएको छैन।’ कर्मचारीकै यो भनाइले पशुपतिमा चढाइने सुनको वास्तविकता छर्लंग हुन्छ।

एक अर्बको अक्षय कोष
पशुपतिनाथको आम्दानीबाट संकलित रकम आमनागरिकका लागि सदुपयोग हुने गरी पहिलोपटक अक्षय कोष स्थापना गरिने भएको छ। गुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा पशुपतिको हालसम्मको कमाइ करिब सवा अर्ब रुपैयाँ भएको पाएको छ।

कोषका कोषाध्यक्ष डा थापाले भन्छन्, ‘मन्दिरका नाममा हालसम्म एक अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको देखिएको छ। यसबाटै आमनागरिकको हितमा हुने गरी अक्षय कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएका छौं।’

भेटीघाटी, विशेष पूजा, हुन्डीलगायतबाट एक अर्ब २९ करोड जति संकलन भएको देखिएको छ।

कोषका अनुसार पछिल्ला वर्ष मन्दिरमा दैनिक कम्तीमा १ लाख १५ हजार र बढीमा ३ लाख रुपैयाँसम्म संकलन भएको तथ्यांक छ।

हराएका जग्गा र सुनको खोजी कसरी गर्ने?
प्रतिवेदनमा नदेखिएका गरगहना र जमिनको खोजी अब झन् गहन ढंगले हुनेछ । जग्गा यतिमात्र नहुनुपर्ने हो। सुनको पनि सबै अभिलेख राखिएको छैन । खोजीका क्रममा जग्गा र सुन यतिमात्र होइन अझै निकै हुनुपर्छ भन्ने लागेको छ। भगवान्लाई चढाइएका गहना र सम्पत्ति सबै खोजेर भक्तजनको विश्वासलाई सदुपयोग गरेर यो अभियान निष्कर्षमा पु¥याउने अठोटमा छु।

त्यसका लागि सरकारले के गर्नुपर्छ?
प्रतिवेदनको मर्मलाई सरकारले बुझोस् र चाँडै एउटा उच्च स्तरीय समिति बनाएर बाँकी खोजबिन र कार्यान्वयनमा लागिपरोस् । यसका लागि नीतिगत निर्णय गरेर अवरोधसमेत हटाउने गरी अघि बढोस् । सुधार्नुपर्ने काम थुप्रै छन्। पशुपतिनाथलाई विश्वकै नमुना बनाउन सकेमात्र विश्व आकर्षित हुनेछ।