प्रचण्डका घरबेटी फेरि विवादमा

नेपाल समाचार

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी विवादास्पद निर्माण व्यवसायी हुन् ।

उनको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनादेखि विभिन्न स्थानको सडक निर्माणको ठेक्का पाएको र बेलैमा सम्पन्न नगरेकोलगायतका आरोप लाग्दै आएको छ ।

भौतिक पूर्वाधार निर्माणको ठेक्काको विषयमा मात्रै होइन अहिले किसानलाई चाहिने मल नल्याएको आरोप लागेको छ । रोपाइँका लागि ल्याउनु पर्ने मल कोरोनाभाइरस संक्रमणको महामारी र लकडाउनलाई कारण देखाउँदै धान गोड्ने बेलासम्म पनि मल नल्याएपछि उनी विवादमा परेका छन् ।

निर्माणको क्षेत्रदेखि कृषि सामग्रीसम्म ठेक्का पाएका प्रचण्डका घरबेटी अधिकारीलाई पाएको जिम्मेवारी बेलैमा पूरा नगर्ने ठेकदारको रुपमा चित्रण गरिँदै आलोचना भइरहेका छन् । यसअघि विभिन्न निर्माणका क्षेत्रमा काम नगरेको आरोप लाग्ने गरेको अधिकारीलाई समयमा रासायनिक मल खरिद नगरेको आरोप लागेको छ ।

गत वैशाख पहिलो साता कृषि सामग्री कम्पनीसँग रसायनिक मल आपूर्तिको सम्झौता गरेका अधिकारीले सम्झौता भएको एक सय १७ दिनमा आपूर्ति गरिसक्नुपर्ने भएतापनि हालसम्म ल्याउन सकेका छैनन् ।

मलको अभाव र सलह किराको मार खेपेका किसान भने आउँदो वर्ष भोकमरी लाग्ने चिन्ताले पिरोलिएका छन् । तर, बेलैमा मल आयत गराउने विषयमा कृषि सामग्री कम्पनी र तालुक मन्त्रालय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पनि कुनै अग्रसरता नदेखाएको किसानहरुको गुनासो छ ।

अधिकारीलाई मल आयातको ठेक्का दिन ऐन नै संशोधन गरिएको थियो । तीन वर्षदेखि मल आयात गर्दै आएका कम्पनीले मात्र टेन्डर दर्ता गर्न पाउने गरी ऐन संशोधन गरिएको हो । यसअघि आर्थिक वर्ष २०७६-०७७ का लागि सम्झौता गरेर मल नल्याउने कम्पनी सैलुङ इन्टरप्राइजेजसँग चालु आर्थिक वर्षका लागि पनि मल ल्याउन भन्दै २ वटा ठेक्का सम्झौता गरिएको हो ।

सम्झौतामा ५५ हजार मेट्रिक टन मल खरिद गर्ने र गत असार १८ गते ३० हजार मेट्रिक टन र साउन ४ गते २५ हजार मेट्रिक टन मल ल्याउने उल्लेख छ । तर, मल भने समयमै नआउँदा किसान मर्कामा परेका छन् ।