प्रचण्डको त्यो षडयन्त्र प्रधानमन्त्री ओलीले चाल पाएपछि

नेपाल समाचार

काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिभाजनदेखि संसदीय दलमा बहुमत पुर्याएर आफूबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउनेसम्मको अभियान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अघि बढाएको भरपर्दाे सूचना पाउनु भएको छ । बरिष्ठ नेता माधवकुमार नेपाललाई मोहोरा बनाएर अध्यक्ष प्रचण्डले आगामी चैतमा तोकिएको पार्टीको महाधिवेशन हुन नदिने र जसरी पनि प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाएर छाडने योजना अघि बढाउनु भएको हो ।

प्रधानमन्त्रीसम्म पुगेको सूचना उधृत गर्दै बालाुवाटार स्रोतले जनताटाइम्सलाई दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डले महाधिवेशन हुनसाथ आफ्नो अध्यक्ष पद गुम्ने निश्कर्षसहित जसरी पनि महाधिवेशन हुन नदिने र सरकारलाई अप्ठ्यारो पारिरहने योजना अघि बढाउनु भएको हो । ‘महाधिवेशन हुनसाथ अध्यक्ष पद गुम्छ, ओलीले छाडे पनि माधव नेपाल अध्यक्ष बन्छन, त्यसकारण माधव र केपी मिल्नै नसक्ने अवस्थामा नपुर्याउँदासम्म महाधिवेशन गर्नुहुन्न,’ पूर्वमाओवादीका आफू निकट केही नेतासँग प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रचण्डले महाधिवेशन नगर्ने आफ्नो बटमलाइनकै कारण अहिलेसम्म पार्टीको काम अघि नबढाउनु भएको हो । पार्टी एकता गर्दा जनताको बहुदलीय जनवाद स्वीकार गर्ने प्रतिवद्धता जनाउनु भएका प्रचण्डले पछिल्लो समय जवज मान्दै मान्दिन भन्ने अडान पूर्वमाओवादी नेताहरुसँग राखे पनि माधवसँग भने जवज मान्छु भनेको खुलासा स्वयं माधव नेपालले रघुजी पन्त, सुरेन्द्र पाण्डे र बेदुराम भुसालहरुसँग गरिसक्नु भएको छ ।

ओली सरकारबिरुद्ध अभियानकै क्रममा प्रचण्डले बरिष्ठ नेता नेपाललाई समेत छक्याएर कानून ब्यवसायीसँग छलफल गर्नुभएको छ । कानून ब्यवसायीसँगको छलफलमा अबिश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीले चाल्न सक्ने कदम र त्यस्का लागि तयारीको बिषयमा बिभिन्न प्रश्न गरिएको स्रोतले बतायो ।

‘ओली हटाउन कानूनी बाटाहरु के छन ? केही कदम चाले अदालतबाट रोक्न सकिन्छ कि सकिँदैन ?’ कानून ब्यवसायीसँग प्रचण्डको प्रश्न उधृत गर्दै जनताटाइम्ससँग स्रोतले भन्यो । प्रचण्डले झण्डै एक घण्टा ओली सरकार हटाउने र बिकल्पको कानूनी ब्यवस्थाबारे कुरा गर्दा बरिष्ठ नेता नेपाल भने चुपचाप बसेको स्रोतको भनाई छ ।

सो क्रममा नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यको विषयमा समेत छलफल भएको स्रोतको भनाई छ । स्थायी कमिटीले तोकेको जिम्मेवारीअनुसार आफ्नो काम नै नगरी प्रधानमन्त्रीबिरुद्ध षडयन्त्रमै लाग्नुभएका अध्यक्ष प्रचण्डले केही दिनयता गर्नुभएको हर्कतको सवै सूचना पाएपछि प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषदमा डटेर मुकाबिला गर्ने घोषणा गर्नुभएको छ ।

कार्यकारी अध्यक्षसम्म सूचना पुर्याउन पनि प्रधानमन्त्रीले मन्त्रिपरिषदमै ‘चलखेलको डटेर प्रतिवादसहित परास्त गर्ने’ घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीको सो भनाईलाई जस्ताको तस्तै बैठक लगत्तै केही मन्त्रीले पुर्याइसकेका छन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज भएको भेटमा पनि यस षडयन्त्रको बिषयमा प्रचण्डसँग कडा प्रश्न गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले परिभाषित जिम्मेवारीअनुसार काम नगरी छलछाम, तिकडम र षडयन्त्रतिर लाग्दा आउने परिणामबारे हेक्का राख्न प्रचण्डलाई सचेत गराउनु भएको छ । जनता टाईम्सबाट