प्रचण्डले डाके आकस्मिक बैठक

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं सत्तारुढ नेकपामा राजनीतिक दस्तावेजको विवाद फेरि बल्झिएको छ। गत वर्ष आफ्ना पूर्व मान्यतालाई थाती राख्दै ‘जनताको जनवाद’ राजनीतिक सिद्धान्तमा सहमती जुटाएर पार्टी एकता गरेका शीर्ष नेता फेरि यही विवादमा फस्न पुगेका छन्।

गत बर्ष असार २ गते बालुवाटारमा आयोजित स्थायी समितिको पहिलो बैठकले टुंगो लगाएको राजनीतिक दस्तावेजबाट पछाडि फर्केर अहिले फेरि अध्यक्ष केपी शर्मा ओली र उनी निकट नेताहरूले ‘बहुदलीय जनवाद’ नै हुनुपर्ने तर्क गर्न थालेका छन्।

बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यललले तयार पारेको मस्यौदा स्थायी समितिबाट पारित गरेर सम्पादनसहित प्रकाशन गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिइएकोमा करिब १४ महिनापछि शनिबार सचिवालयको बैठकमा यसले फेरि प्रवेश पाएको छ।

सैद्धान्तिक विषयमा पुनः छलफल आरम्भ भएसँगै नेकपामा कचपच सुरु भएको छ।

एक बर्षसम्म कुनै छलफल नभएको राजनीतिक दस्तावेजको विषय एक्कासी फेरि प्रवेश हुनुलाई नेताहरुले अर्थपूर्ण ठानेका छन्। जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्नका लागि एजेन्डा तय भएर दुई पटक बैठक बस्नुका साथै नाम समेत प्रस्तुत भइसकेपछि त्यसलाई पन्छाएर एकाएक राजनीतिक दस्तावेजको प्रस्ताव ल्याएर अध्यक्ष ओलीले विषयान्तर गर्न खोजेको नेताहरुको बुझाइ छ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिट्ब्यूरो गठन, केन्द्रीय निकायहरुको निर्माण, प्रवासका संगठनहरु गठन, बाँकी जनसंगठनहरुको एकता जस्ता कुराहरुमा आफू अप्ठेरोमा परेको आँकलन गरेर अध्यक्ष ओलीले बीचैमा राजनीतिक दस्तावेजको विषय निकालेको प्रचण्ड पक्षधरको बुझाइ छ।