प्रचण्डले भने- मैले कैयौँ पटक भेट्न खोजेँ, लेखराजजी सम्पर्कमै आउनु भएन

राजनीति

शेयर गर्नु होस ।

काठमाडौँ/नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई कैयौँ पटक भेट्न खोजेपनि सम्पर्कमै नआएको गुनासो गरेका छन्। आफूले व्यक्तिगत रूपमा अरु नेताहरुमार्फत् खुमलटार भेट्न आउन आग्रह गर्दासमेत भट्टले चासो नदिएको प्रचण्डले गुनासो गरेका हुन्।

सुदुरपश्चिमका सह–इन्चार्ज एवम् केन्द्रीय सदस्य खगराज भट्टसँग गएका केन्द्रीय सहित ३० जना नेता कार्यकर्ता आइतबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार गएका बेला लेखराज भट्टका विषयमा उनले गुनासो गरेका हुन्।

पार्टीमा छलफल र बहस नगरी छोडेकोमा लेखराज भट्टप्रति प्रचण्डले आपत्ति जनाएको बैठकमा सहभागी केन्द्रीय सदस्य खगराज भट्टले बताए। ‘लेखराजजीलाई मैले माया गरेरै स्थायी कमिटीमा ल्याएँ। अहिले मन्त्री बनाएँ। जनयुद्धभर सायद सुदुरपश्चिमका अरु नेताभन्दा उहाँलाई अतिरिक्त माया गरेरै पार्टीमा अघि बढाएँ,’ भट्टले भने, ‘पार्टी एकता भएपछि उहाँ (लेखराज भट्ट) प्रधानमन्त्रीतिर जानु ठिकै हो। पार्टी एकआपसमा अन्तरघुलित पनि हुन्छ। त्यो त ठिकै हो। तर यति अनुरोध गर्दा पनि मलाई भेट्न आउँनु भएन।’

पार्टीमा कुन कित्तामा लाग्ने आफ्नो व्यक्तिगत इच्छा भएपनि बोलाउँदा इन्कार गर्नु ठिक नभएको प्रचण्डले उल्लेख गरेका थिए। ‘लेखराजजीले आफै गल्ती गर्नुहुन्छ। अहिले मलाई धारे हात लगाउनु नैतिक रुपमा ठिक भएन,’ प्रचण्डको भनाई उद्धृत गर्दै नेता खगराज भट्टले भने, ‘पार्टीमा विधिपद्धति मिचेर एक्लौटी ढंगले निर्णय गर्नु ठिक भएन।’

‘प्रधानमन्त्रीमा अहंकार पलायो, अब यसरी चल्न सकिँदैन’
प्रधानमन्त्री केपी ओलीमा अहंकार पलाएको भन्दै अध्यक्ष प्रचण्डले आक्रोश पोखेका थिए। ‘मैले नै मंसिर ४ मा सहमति गरेर पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी लिएँ। पाँच वर्षे कार्यकाल ओलीजीलाई छोडेको हुँ,’ छलफलमा सहभागी भट्टले भने, ‘उहाँ (केपी ओली)ले नै आफै मिडियामा के को कार्यकारी अध्यक्ष? पहिलो अध्यक्ष म नै हुँ भनेर उल्लंघन गर्नुभयो।’

पार्टीमा सहमति आफै उल्लंघन गर्दै जाने अरु नेताहरुलाई उपयोग गर्दै जाने यस्तो तरिकाले अब चल्न नसकिने प्रचण्डले अस्पष्ट पारेका थिए। ‘पार्टीमा प्रधानमन्त्रीजीले सल्लाह छलफल केही गर्नुहुन्छ। सबै आफैँ जान्ने सुन्ने जस्तो गर्नुहुन्छ,’ प्रचण्डको भनाई उद्धृत गरेका भट्टले भने, ‘यस्तो तरिकाले पार्टी चल्न सक्दैन। अब पार्टी एकतालाई जोगाउँदै सहमति खोज्ने प्रयन्त गरिनेछ।’