प्रचण्ड क्याम्पमै फर्किए बादल, जबजको प्रस्तावले ओलीलाई ‘ब्याक फायर’

नेपाल समाचार

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच बढ्दो निकटता भत्काउन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राजनीतिक दस्तावेजमा ‘जनताको बहुदलीय जनावाद’ राख्न गरेको प्रस्तावले उनलाई ‘ब्याक फायर’ गर्ने देखिएको छ।

पार्टी एकतालाई राजनीतिक रुपमा टुंग्याउने औचारिक दस्तावेज मानिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने अधिकार नेकपाले अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको १४ महिना पूरा भैसकेको छ।

यति लामो समयसम्म थन्क्याएर राखिएको राजनीतिक प्रतिवेदनमा ‘जनताको बहुदलीय जनवाद’ नै लेखेर जानु पर्ने प्रस्ताव ओलीले गत शुक्रबार एकाएक प्रचण्डसमक्ष राखेका थिए, जसले एकताको अन्तिम चरणमा रहेको नेकपामा ठूलै हलचल ल्याइदिएको छ।

बालुवाटारमा ओलीको प्रस्ताव तत्कालै अस्वीकार गरेका प्रचण्डले खुमलटार निवास फर्केर तात्तातै केही नेताहरूसँग भेटघाट गरे। र, चाखलाग्दो खबर, प्रचण्डले निम्त्याएका आफु निकट नेताहरूको त्यो जमघटमा पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत थिए।

माओवादी स्थापनाकालदेखि प्रचण्डसँग रहेका र बीचमा केही समय उनको साथ छाडेपनि फेरि माओवादीमै फर्केका बादल पार्टी एकता भएर गृहमन्त्री बनेपछि विस्तारै ओलीसँग निकट हुँदै गएका खबरहरू आएका थिए। प्रधानमन्त्री ओलीसँग उनको निकटता गृहमन्त्रीमा टिकिरहने र पार्टीमा आफ्नो गुटको उपस्थिति बलियो बनाउने राणनीति मात्र थियो वा कतै उनले भनेजस्तो साँच्चै उनी ‘ओलीमा विलय’ भएका थिए भन्नेमा पूर्व माओवादीकै नेताहरू पनि प्रष्ट छैनन्।

प्रचण्डले बारम्बार आफु निकटका नेताहरूलाई ‘बादल ओलीको पक्षमा नगएको’ प्रष्टीकरण दिनु परेपनि बादलले चाहिँ काठमाडौंमा आफु पक्षधर केन्द्रीय सदस्यहरूको भेला गरेर ‘ओलीसँग जनयुद्धको उपलब्धीलाई हेर्ने बाहेक अन्य कुरा मिलेकाले पार्टीमा उनैसँग मिलेर जानु पर्ने’ ब्रिफिङ गरेपछि उनकै कतिपय सहकर्मीहरू पनि अन्योलमा परेका थिए।

पार्टीका निर्णायक बैठकहरू र मन्त्रीपरिषद बैठकमा समेत प्रायः मौन बस्ने बादलले पार्टीको सैद्धान्तिक विषयमा आफ्नो ‘पोजिसन’ प्रष्ट पार्ने अपेक्षा सायद कसैले गरेको थिएन। तर अध्यक्ष प्रचण्डले आफु निकटहरूलाई मात्र निम्त्याएको शुक्रबारको खुमलटार बैठक यस्तो एउटा मोड बन्यो जसबाट बादल प्रचण्डतिरै रहेको वा उनी फेरि फर्केको खुल्यो।

नेकपा सम्वद्ध स्रोतहरूका अनुसार शुक्रबारको बैठक र त्यसभन्दा अगाडि नै बादलले पार्टीको राजनीतिक कार्यदिशाको बहसमा अध्यक्ष प्रचण्डलाई साथ दिने बताएका थिए।

पछिल्लो समय एउटा चर्चा के भएको थियो भने, बादल ओलीतिर लागेपछि प्रचण्डले प्रस्तावित पोलिटब्यूरो सदस्यहरूको सूची फिर्ता लिए, जसमा पूर्व माओवादी पक्षको सूचीमा बादल निकटका नेताहरूको संख्या उल्लेख्य थियो।

हुन पनि ओलीले ‘आफुपछि नेतृत्व लिनेगरी तयार हुन’ भन्दै बादललाई फकाएर पार्टीमा आफ्नो अवस्था बलियो बनाउन कुनै कसरत बाँकी राखेका थिएनन्।

प्रचण्ड–नेपाल निकटता टुटाएर पार्टीमा आफ्नो सामथ्र्य कायम राख्ने र सरकारलाई अहिलेजस्तै एकलौटी रुपमा सञ्चाल गर्दै जाने रणनीति अन्तर्गत ओलीले १४ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन ‘जबज’ राखेर तत्कालै प्रकाशित गर्नु पर्ने प्रस्ताव राखेका थिए।

अहिले प्रचण्डतिर देखिएका बादल पार्टीमा निर्णायक परिस्थिति आयो भने के गर्छन् भन्ने अझै पनि प्रष्ट भन्न सकिन्न। तर अहिले चाहिँ परिस्थिति कस्तो देखिएको छ भने जबजको कारण माधव नेपाल ओलीसँग मिल्ने भन्दा पनि बादल प्रचण्डसँग देखिएका छन् र त्यो प्रस्तावले पूर्व माओवादीलाई एकजुट गराइदिएको छ।

गुठी विधेयकको विरोधमा माइतीघरमा भएको प्रदर्शनपछि सार्वजनिक रुपमा प्रतिरक्षात्मक बनेका प्रधानमन्त्री ओली पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र बादल एकैतिर उभिँदा एक्लिँदै गएका छन्।