प्रचण्ड, माधव वा झलनाथ ओलीको विकल्प हुनसक्दैनन् ?

सामाजिक संजाल

किन ओली ? स्पष्टिकरण ?
-केशबप्रसाद भट्टराई
१. दोस्रो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको विवेक र सम्मानलाई बारम्बार चुनौती दिनुभएको हो । अग्राह्य स्तरको राजनीतिक दम्भ र अहङ्कार प्रदर्शन गर्नु भएकै हो ! उक्त सवाललाई मैले समाचार माध्यम र फेसबुकमा लेख्दै आएको हूँ !

अस्तीका दिन त्यो सवाललाई जोड्दै प्रधानमन्त्री ओलीको विकल्प झन् त्राशाद् र भयावह हुने सम्भावनाबारे लेख्दा केही मित्रहरूले गम्भीर विमति राख्नु भयो ! लिखितमा विमति नराख्नु भए पनि मेरो त्यो पोस्ट मेरा धेरै मित्रहरूलाई चित्त नबुझेको अनुभूति मलाई छ ।

२. मैले राजनीतिक सवालमा आफ्ना दृष्टि निर्माण गर्दा तत्कालका सवालहरूलाई मात्रै लिने गरेको छैन । ओलीको विकल्प काङ्ग्रेसले दिन सक्दैन त्यो कसैले कसैलाई भनिरहन परेन ! आफ्नै बलमा विकल्प काङ्ग्रेस बन्ने भए काङ्ग्रेसको भोटर भएको नाताले एउटा कुरा हुन्थ्यो होला !

३. ओलीजीसँग मेरो दोहोरो चिनजान नभएकोले व्यक्तिगत रूपमा उहाँ कस्तो हुनुहुन्छ मलाई थाहा छैन । माओवादी आतंक र अराजकताले मुलुक आक्रान्त भएको बेलामा सवैले सुन्ने गरी ठूलो आवाजमा त्यस्तो आतंक र अराजकता विरूद्ध खरो र दर्विलो आवाजमा बोल्ने र जनतालाई ढाडस दिनेमा उहाँ सवैभन्दा अघि हुनुहुन्थ्यो ।

४. जातीय राज्यका पक्षधरहरूले राष्ट्रलाई वरिपरीबाट डस्ने अभ्यास गरिरहँदा तिनीहरूका विरूद्ध अग्रपङ्क्तिमा रहेर कुर्लने पनि ओली नै थिए । ओली त्यतिखेर त्यसरी कुर्लिएर राष्ट्रिय एकताको पक्षमा जनमत निर्माण हुन नसकेको भए मुलुक कुन अवस्थामा पुग्ने थियो—जो कसैले अनुमान गर्न सक्थ्यो ।

५. नेपाली राजनीतिमा कतिपय वाहिरी खेल सम्वन्धी प्रश्न अनुत्तरित नै छन् तर संविधान जारी हुने ताकाका आन्तरिक र वाह्य गतिविधिहरु, संविधान घोषणा भए पछि यिनै आजका क्रान्तिकारी समाजवादी र राजपावालाहरूले मच्चाएको आतंक, सीमानामा बसेर नेपालमा ढुङ्गामुढा गर्ने र त्यसैको नाउँमा आमन्त्रित नाकावन्दी विरूद्ध राष्ट्रिय जनमतको नेतृत्व र प्रतिनिधित्व उनैले गरे । राष्ट्रिय स्वाभिमान र अडानको नेतृत्व गरे । राष्ट्रिय मनोवल छिन्न भिन्न हुन दिएनन् !

६. कोरोना महामारी अघि नेपालको आर्थिक वृद्धि दर नेपालको इतिहासमा नै सवैभन्दा बढी थियो । एसियामा नेपालको भन्दा बढी बङ्गलादेशको मात्रै थियो । यो आँकलन ओली सरकारको कुनै निकायको नभएर विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको थियो ।

७. यिनै कुराले गर्दा एउटा नागरिकको रूपमा मैले ओलीको समर्थन गरेको हो ! माथि उल्लेख गरिसकियो, तर दोस्रो कार्यकालको आरम्भ देखिनै ओलीजीका कतिपय गतिविधिहरू आलोच्य पनि रहे, गलत रहे । त्यसकारण उनी राजनीतिक रूपमा कमजोर पनि बन्दै गए !

तर पनि उनका माथि उल्लेखित सुकार्यहरूको वजन कम छैन ! आफ्ना गल्ती सच्याएर उनी आउन सके र नेपालको इतिहासमा एउटा कार्यकाल पुरा गर्ने निर्वाचित प्रधान मन्त्री मुलुकले पाए हुन्थ्यो भन्ने लागेको हो । अभाव रहित कोही हुन पनि सक्दैन र सधैँ भरी सुकार्य मात्रै गरिरहन सक्ने त भगवान मात्रै होलान !

दृष्टान्त यस्ता पनि छन्–

८. काङ्ग्रेसको समर्थनमा माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो ! काङ्ग्रेसको पूर्ण सहयोग र समर्थन हुँदाहुँदै प्रचण्ड र झलनाथले थर्काएकै भरमा माधवजीले आफूलाई समर्थन प्रदान गर्ने दललाई जानकारीसम्म नदिई राजिनामा गर्नुभयो !

नेपालजी डराएर भाग्नु भयो !

त्यसपछि झन्डै डेढ बर्ष मुलुकले प्रधानमन्त्री पाएन । कामचलाउ सरकार रहिरह्यो र मुलुक चरम राजनीतिक अस्थिरताको स्थितिमा रहिरह्यो !

९. झलनाथजीलाई एकचोटी प्रचण्डले प्रधानमन्त्री बनाइदिनु भयो । पार्टी अध्यक्ष आफैं हुनुहुन्थ्यो, प्रचण्ड गड फादर हुँदै हुनुहुन्थ्यो, थाम्न सक्नु भएन, हिँड्नु भयो । ओलीजी सांसद हुनुहुन्न थियो र पार्टीमा छेऊ पारिनु भएकै थियो किन टिक्नु भएन झलनाथ जी ?

१०. १० बर्षसम्म आफ्ना हिंसात्मक गतिविधिबाट मुलुकलाई बन्धक बनाएर, हजारौँको हत्याको खेल रचेर आएका ‘महान र गौरवपूर्ण क्रान्तिका महानायक’ भनिने, मुलुकबाट राजसँस्था अन्त्य गर्ने कार्यको नेतृत्व गरेको दावी गर्ने पुष्पकमलजी आफ्नो सरकारको सेना प्रमुखले दच्काएकै भरमा भाग्नु भयो ।

जङ्गलमा बसेर मुलुकलाई आफ्नो राजनीतिक मार्गमा हिँडाउन सकेको दावी गर्ने व्यक्तिले सिंह दरवारमा बसेर सानो टुँडिखेलमा अनिश्चित भविष्य बोकेर बसेका रुक्माङ्गद कटवालसँग भिड्ने हिम्मत गर्न सक्नु भएन !

११. अर्कोतिर, कुमार लामाको दृष्टान्त छ– पुष्पकमलजीले अस्ट्रेलियाको भ्रमण किन रध्द गर्नु पर्यो ? अमेरिका भ्रमणको अवसरमा राजदुतको गाडीमा भूमिगत शैलीमा हिँड्नु परेको समाचार नेपालमा पढिएको थियो । १२. पार्टीले प्रधानमन्त्री त बनाइदेला तर युरोप, अमेरिका जस्ता मुलुकमा भ्रमण गर्दा सधैँ निचोरिएर, थर्कमान भएर हिँड्नु पर्यो, शिर उठाएर, आँखा जुधाएर कुरा गर्न सकिएन भने ? देशको इज्जत र प्रतिष्ठा झन् कति तल पुग्ने होला ?

भारत, चीन, उत्तर कोरिया, भेनेजुएला जस्ता मुलुक सँगकै सम्वन्धको भरमा त राष्ट्र नधानिएला ! कोरोना पछिको विश्व व्यवस्थाबारे जसले जे भने पनि विश्व व्यवस्थाको नेतृत्व अमेरिका र युरोपले नै गर्ने हो ! राजनीतिक, सामाजिक र मानवीय मूल्यहरूको निरोपण उनीहरुले नै गर्ने हो । ती मूल्यहरूको कसीमा प्रचण्डजीको हिजोको राजनीति र हिंसा सधैँ वर्जित नै रहने छन् !

१३. ल हिजो माओवादी विद्रोह ताकाका आन्तरिक र वाह्य शक्तिकेन्द्रसँग मिलेर गरेका अनैतिक षड्यन्त्रहरुलाई विद्रोकालीन रणनीति मानौ रे ! अनि पछि आएर पनि एमालेसँग सरकारमा हुँदाहुँदै काङ्ग्रेससँग मिलेर अर्को सरकार बनाउने, काङ्ग्रेससँग सरकारमा हुँदाहुँदै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने ? गिरिजाबाबुलाई राष्ट्रपतिको लोभमा पारेर आफ्ना सवै राजनीतिक अजेन्डामा सही छाप गराउने तर जव राष्ट्रपति बनाउने कुरा आयो रामराजालाई बोकेर हिँड्ने प्रचण्डजीले कुन राजनीतिक विश्वसनीयताको बलमा मुलुकमा राजनीतिक सहमति र समझदारी कायम गर्ने ?

माओवादी शिविरको अर्वौँ रकम हिनामिनामा उहाँको संलग्नताका प्रश्नहरू ???

१४. ओली जस्तासुकै देखिएका होलान् अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवैभन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ । ओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा तीमध्ये कसैको योगदान नहोला ! त्यसैले ओलीलाई हटाउने डिजाइनमा उहाँहरूको लामो संलग्नता आफैँमा अनैतिक हो !

१५. त्यसैले ओलीको विकल्प प्रचण्ड, माधव नेपाल वा झलनाथ नभएर घनश्याम भुसाल जस्ता तुलनात्मकरूपमा स्वच्छ छवि भएका व्यक्ति विकल्प बनेर आउँछन् भने त्यो स्वागत योग्य हुन सक्ला !

१६. अहिलेको ओली विरोधी अभियानमा पूर्व माओवादी र जातीय राजनीति र जातीय राष्ट्रका पक्षधरहरूको आवाज सवैभन्दा चर्को रहेको पनि बुझ्न सकिन्छ !
(राजनीतिक विश्लेषक भट्टराईको फेसबुकबाट)