प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण

नेपाल समाचार

शेयर गर्नु होस ।

घटना र विचार

बर्षेनी प्रत्येक नेपालीको टाउकोमा राष्ट्रिय ऋण थपिएको थपिएै छ । महालेखापरीक्षकको कार्यालयले पनि नेपालीको टाउकोमा ऋण थपिएको जनाएको हो ।

शुक्रबार आफ्नो ५६ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले आर्थिक बर्ष २०७४/०७५ मा आम नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण रहेको प्रष्ट पारेको छ । त्यसअघिको वर्षको तुलनामा नेपालीको ऋण ७ हजार ४३ रुपैयाँले बढ्न पुगेको हो । आर्थिक वर्ष ०७३/०७४ मा २४ हजार ७ सय ७ रुपैयाँ ऋण थियो । उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको महालेखाले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयका महालेखापरीक्षक टंकमणि शर्मा, दंगालका अनुसार अघिल्लो वर्षको तुलनामा ३१.१९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड रुपैयाँले ऋण वृद्धि भएको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४२.७३ प्रतिशत र वैदेशिक ऋण ५७.२७ प्रतिशत छ । ‘२०६८ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७५० रुपैयाँ पुगेको छ ।’ महालेखापरीक्षक दंगाल भन्छन्, ‘प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा ७ हजार ४३ ले बढ्न गएको छ ।’