प्रधानमन्त्रीद्वारा रचित ‘समृद्ध नेपाल सुखी नेपाली’ गीत सार्वजनिक

मनाेरंजन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समेटिएको एल्बम ‘समृद्ध नेपाल सुखी नेपाली’श्रोतामाझ आएको छ ।

भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन् ।

प्रमुख अतिथिका रुपमा निम्त्याइएका मुक्ता र सानुकाजीले यस्तो अवसर जीवनमा कहिले नपाएको बताए । ‘प्रधानमन्त्रीको गीत विमोचन गर्न हामीजस्ता सडक मजदुरलाई बोलाउनु हाम्रो लागि ठूलो भाग्य हो,’ मुक्ताले भनिन् । एल्बम विमोचन समारोहमा गायक बद्रि पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गरे ।

अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका ५ गीतमध्ये प्रधानमन्त्री ओलीद्वारा रचित ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । त्यस्तै राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं’गरी दुई गीत रहेका छन् ।

शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्रि पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिएका छन् । ‘सरकारले गरेका राम्रा काम र उपलब्धीको उजागर, राष्ट्रियता र जनजिविकासँग सम्बन्धित गीत समेटेर एल्बम तयार पारिएका छौं’, सहसंयोजक पौडेलले भने ।

युवा नेता पौडेलकै संयोजनमा तयार पारिएको एल्बम किरण क्रिएसनले श्रोता दर्शकमाझ ल्याएको हो ।