प्रधानमन्त्रीलाई खुला पत्र

NRNA नेपाल समाचार विश्व समाचार

कृष्णज्वाला देवकोटा

प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको होइन, एउटा निरीह दाइको पत्र हो, जसकी बहिनी श्रीमान् र नाबालक छोरासहित चीनको वुहानमा कैद छे । त्यो कैदबाट निकाल्न अहिलेसम्म उसको कुनै देश छैन, उसको कुनै सरकार छैन र उसको कुनै प्रधानमन्त्री छैन । 

लगभग १० दिन मैले बहिनीलाई प्रधानमन्त्रीले बैठक डाकेको, पर्यटनमन्त्रीले जहाज तयार राखेको, दूतावासले प्रक्रिया सुरु गरेको, स्वास्थ्य मन्त्रालयले ठाउँ खोजेकोजस्ता आश्वासनमा अल्मल्याएँ । तर, पछिल्ला १० दिन न मसँग आश्वासन छन्, न ऊ मेरा आश्वासन पत्याउने ठाउँमा छे । फोन रुवाइबाट सुरु हुन्छ र रुवाइमा टुङ्गिन्छ । बहिनी मात्र होइन, चीनबाट आउने हरेक फोनले मेरो शरीरमा काँडा उमार्छन् । डर, ग्लानि र हीनताले शरीर फतक्क गल्छ ।

बहिनी भन्छे– खानेकुरा त परको कुरा, पिउने पानीको समेत अभाव हुँदै छ । समाचारहरूले भरोसा जगाउँदैनन्, डर मात्र थप्छन् । सब्जी मगाउनुपर्दा राति ठीक १० बजे केवल ३० सेकेन्डभित्र अनलाइन अर्डर गरिसक्नुपर्छ, नभ्याए भोलिलाई पर्खनुपर्छ । पानी सप्लाई गर्नेहरू आफैँ क्वारेन्टाइनमा छन् । सिल गरेको एरियामा पानी छैन । नलको पानीबाट सार्सजस्तै कोरोना पनि फैलिन्छ भन्ने हल्ला छ । अहिलेसम्म त स्वस्थ छौँ, तर कहिले संक्रमित भइन्छ केही थाहा छैन । 

म एक्लैले सक्ने भए सर्वस्व गरेर भए पनि बहिनीलाई फर्काउने थिएँ । तर, निरुपाय छु । उसलाई केवल तपाईं फर्काउन सक्नुुहुन्छ, तर तपाईंका नागरिक अरू नै छन् । अब मेरी बहिनी र ऊजस्ता एक सय ८० जना नागरिकका प्रश्न सुन्नुस् । उनीहरू सोध्छन्– यतिखेर पनि केही नगरे किन चाहिन्छ देश ? किन चाहिन्छ सरकार ? किन चाहिन्छन् प्रधानमन्त्री ? 

बहिनीलाई लाग्छ, उसको दाइ सम्पादक हो र शासकहरूसम्म उसका गुहार पुर्‍याउन सक्छ । तर, उसलाई थाहा छैन, यतिखेर शासकका प्राथमिकता के हुन् ? उसलाई थाहा छैन, कर्मचारीतन्त्रको मानसिकता के छ ?

प्रधानमन्त्रीजी, तपाईंलाई सीधै यसो लेख्नुअघि मैले सरकारका सबै ढोका ढक्ढक्याइसकेको छु । नपत्याए सोध्नुहोला, सरकारका प्रवक्तासँग पछिल्ला २० दिनदेखि पटकपटक अनुनय गरेको छु । आजसम्म उहाँसँग ठोस कुनै उत्तर छैन । परराष्ट्रमन्त्रीलाई आवेशपूर्वक प्रश्न गरेको छु । स्वभावले भद्र परराष्ट्रमन्त्रीसँग अरू सबै छ, उद्धार कहिले हुन्छ भन्ने प्रश्नको जवाफ छैन । अहिले सबैभन्दा गैरजिम्मेवार देखिएको स्वास्थ्य मन्त्रालयका मन्त्रीसँग पनि कठोर स्वरमा वादविवाद गरेको छु । उत्तर उहाँसँग पनि छैन । तपाईंको महान् पार्टीका कार्यकारी अध्यक्षलाई पनि अनुरोध गरेको छु । तर, कार्यकारीसँग कुनै कार्यकारी जवाफ छैन । राजदूतसँग पनि सम्पर्कमै छु । सचिवहरू सुरुसुरुमा त फोन उठाउँथे, तर अहिले जवाफ दिनुको सट्टा तर्किन सजिलो ठान्न थालेका छन् ।

म मान्छु, बालुवाटारका लागि मेरी बहिनी र ऊजस्ता नागरिकको कुनै मूल्य छैन । मेरी बहिनी सिंगापुरमा तपाईंको उपचार खर्च व्यहोर्न सक्दिन । ऊसँग प्रोजेक्ट छैनन् । तर, आङछिरिङहरूजत्तिकै विशेष नभए पनि मेरी बहिनी पनि यो देशकी नागरिक होइन र प्रधानमन्त्रीजी ? आफ्नै देशमा बसेर आफ्नै बैठक कक्षको टेलिभिजनमा तपाईंले बाँसुरी बजाएको हेर्ने हक उसलाई पनि छैन र ?

बहिनी मलाई हप्काउँछे र भन्छे– हामीलाई यसरी अलपत्र छाड्दा सरकारलाई संकोच लाग्दैन ? म के जवाफ दिऊँ ? कुनै मित्रराष्ट्रले धर्मशाला बनाइदिएको भवन मन्त्रीहरूले व्यापारीलाई बेच्छन् र त्यसमा तीनतारे होटेल खुल्छ, सरकारलाई संकोच लाग्दैन । मेडिकल शिक्षाका माफियाले ढुक्कसँग बढी पैसा असुल्छन्, तर सरकारले बरु विद्यार्थीलाई थुन्छ, कलेज सञ्चालकलाई संरक्षण गर्छ । मारिएका अधिकृतको किर्ते हस्ताक्षर गरेर विश्व सम्पदा सूचीको पहाडै यती समूहले हत्याउँछ, तर त्यही समूहको प्रतिरक्षामा सरकारको सबै शक्ति खर्च हुन्छ । म आफैँ पनि अलमलमा छु प्रधानमन्त्रीजी, खासमा सरकारलाई लाज लाग्छ कि लाग्दैन !

कुनै पनि नेपाली कोरोना संक्रमित होइनन् भनेर चीन सरकारले भनिसकेको छ । संक्रमण देखिए उतै उपचार गर्न विद्यार्थी तयार नै छन् । अहिलेसम्म स्वस्थ पनि समयमै उद्धार नभए भोलि संक्रमणमा पर्न सक्छन् । सत्य यति सरल हुँदाहुँदै पनि सरकार यति उदासीन किन छ ? अस्पताल नभए एक सय ८० वटा टेन्ट पनि सरकारसँग छैनन्?

आङछिरिङहरूजत्तिकै विशेष नभए पनि मेरी बहिनी पनि यो देशकी नागरिक होइन र प्रधानमन्त्रीजी ? आफ्नै देशमा बसेर आफ्नै बैठक कक्षको टेलिभिजनमा तपाईंले बाँसुरी बजाएको हेर्ने हक उसलाई पनि छैन र ?

वुहानमा फसेका नेपालीका आफन्त एकपछि अर्का मन्त्रालय चहारिरहेका छन् । तपाईंले त तिनलाई भेट्ने कुरा भएन । भेटेका मन्त्रीहरूका जवाफले पनि तिनलाई अझ शिथिल बनाएको छ । वुहानमा फसेका विद्यार्थीका अभिभावकले तपाईंसँग कुनै अतिरिक्त दया मागिरहेका छैनन् । केवल प्रधानमन्त्रीका रूपमा तपाईंको जिम्मेवारी मागिरहेका छन् ।

म बहिनीको फोन उठाउन सक्दिनँ, किनकि मसँग जवाफ छैन । यही लेख्दै गर्दा पनि तीनपटक उसको म्यासेज आइसक्यो– दाइ, आज केही प्रगति भएन ? म आफैँ १५ दिनदेखि तपाईंका मिटिङका समाचार छापिरहेको छु । मन्त्री र सचिवका कुरा पनि सुनेको छु । मिडिया खपतका लागि दिने औपचारिक मन्तव्यबाहेक सरकारले ठोस के गरेको छ ? वुहानबाट जम्मा एक सय ८० नागरिकको उद्धार गर्न नसक्ने सरकारले तिब्बतको बाटो रेल ल्याउँछ भनेर नागरिकले पत्याइदिनुपर्ने ? अनि यसरी नै समाजवादमा पुगिन्छ भनेर जनताले विश्वास गरिदिनुपर्ने ?

प्रधानमन्त्रीका रूपमा राष्ट्रिय ध्वजावाहकमा नगई तपाईं अघिल्लोपटक चीन जाँदा चढेको तपाईंको प्रिय एयरलाइन्स हिमालयन चीनमा नियमित फ्लाइट गर्थ्यो । त्यो नभए नेपाल एयरलाइन्स छँदै छ । विद्यार्थीले भनेकै थिए र छन्– पैसा आफैँ तिर्छौं । कोरोना भाइरसको महामारीले वुहान ‘लक्ड–डाउन’ भएपछि आफ्ना नागरिक फिर्ता लग्नेमा अमेरिका, फ्रान्स र जापानजस्ता सम्पन्न देश मात्र होइन, मंगोलिया, श्रीलंका र इरानजस्ता देश पनि छन् । अझ, इरानले त आफ्ना नागरिक मात्र होइन, इराक, सिरिया र लेबनानका नागरिकसमेत लगेको छ । भारतले पनि आफ्ना मात्र होइन, माल्दिभ्सका नागरिकसमेत ओसारेको छ । २३ जनवरीमा वुहान सिल गरिएपछि २४ जनवरीदेखि नै भियतनामजस्ता देशले आफ्ना नागरिकको उद्धार सुरु गरेका हुन् । तर, आज १७ दिनसम्म नेपाल सरकार अनिर्णयको बन्दी छ । यतिका दिन तपाईंका लगातार बैठकको परिणाम के आयो ? तपाईंको सरकार कति प्रभावकारी छ, यो आफैँ एउटा उदाहरण होइन ?

मलाई थाहा छ, वुहानबाट नेपाली ल्याउँदातपाईंहरू सेयर पाउनुुहुन्न । यो गोकर्ण वा सेक्युरिटी प्रेसजस्तो फाइदाको काम पनि होइन । पछिल्ला दुई वर्षमा तपाईंका थरीथरीका अवतार देखियो । कहिले गायक, कहिले संगीतकार, कहिले कलाकार । तपाईं एकपटक प्रधानमन्त्री पनि हुन मिल्दैन ? झुक्किएरै भए पनि देश र जनताको नाममा आफूले खाएको शपथ सम्झन मिल्दैन ?

प्रधानमन्त्रीजी, बहिनीको बिलौना सुन्दासुन्दा मलाई आफैँप्रति ग्लानि लाग्न थालेको छ । यसका लागि म कति दोषी छु र तपाईं कति दोषी हुनुहुन्छ ? जब बहिनी रुन्छे, मलाई त्योभन्दा ठूलो स्वरमा बालुवाटारअगाडि गएर चिच्याउन मन लाग्छ । मेरो लाचारी म आफैँप्रतिको हीनताबोधमा परिणत भइरहेको छ । प्रधानमन्त्रीजी, तपाईंको लापरबाही, तपाईंको विवेकहीनता र तपाईंको क्रूरताको मूल्य मजस्ता अभिभावकहरू तिरिरहेका छौँ । 

मैले आजै मात्र सुनेँ, वुहानका केही विद्यार्थी उद्धारका लागि भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखिरहेका छन् । हिजो भारतीय विदेशमन्त्रीले संसद्मा छिमेकी देशका नागरिक पनि उद्धार गर्न तयार छौँ भने भन्दै नेपाली विद्यार्थीको ग्रुप च्याटमा भारतीय दूतावाससँग सम्पर्क गर्ने सल्लाह भइरहेको छ । सुजितकुमार शाहले ग्रुपच्याटमा लेखेका छन्– हामी अरू कुनै विकल्प खोजौँ । नत्र नेपाल होइन, नेपाली नेताका नाममा बलि चढ्न तयार होऔँ । 

अरे प्रधानमन्त्रीजी, तपाईं अब पनि कसरी बलियो सरकारको धाक लगाउन सक्नुुहुन्छ ? कसरी क्यामेराको सामना गर्न सक्नुुहुन्छ ? कसरी ऐना हेर्न सक्नुुहुन्छ ? तपाईं कसरी प्रधानमन्त्रीको कुर्सीमा बस्न सक्नुुहुन्छ ?