प्रधानमन्त्री आफै सडक आन्दोलनमा उत्रिनु अचम्म लाग्दो विषय : नेता सिटौला

नेपाल समाचार

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आन्दोलनमा उत्रिएका अरु दललाई संयमित बन्न आग्रह गर्नुपर्ने सरकार आफै सडक आन्दोलनमा उत्रिनु अचम्मलाग्दो कुरा भएको बताएका छन् ।

सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा एउटै पार्टी भएको र प्रधानमन्त्री केपी शर्मा ओली स्वयम सडकमा आउनु आश्चर्यको विषय भएको सिटौलाले बताएका छन् । माघ २३ गते नारायणहिटी दरवार अगाडि हुने भनिएको ओली समूहको आमसभाका विषयमा नेता सिटौलाले भने, ‘सरकारले अन्य दलको आन्दोलन वा सभालाई संयमित बनाउन पहल गर्ने हो । तर यहाँ त सरकार आफैं सडकमा आइरहेको छ । यही अचम्म लाग्दो कुरा छ ।’

नेता सिटौलाले विघटित प्रतिनिधि सभा पुनर्स्थापना नभए नेपालमा कुनै पनि व्यवस्थाले काम नगर्ने समेत बताएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेका बेला कांग्रेस नेता सिटौलाले सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।

कांग्रेसका पूर्व महामन्त्री समेत रहिसकेका सिटौलाले सर्वोच्च अदालतले सुझबुझका साथ फैसला गर्ने आफूमा विश्वास रहेको बताए ।