प्रधानमन्त्री ओलीलाई प्रश्नः पुरानो सहमतिको ५ बुँदे पत्र सार्वजनिक भएको छ नि?

अन्तरवार्ता

शेयर गर्नु होस ।

कपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकता गर्ने क्रममा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने अभिव्यक्ति दिएपछि पार्टीमा नयाँ तरंग आएको छ।


यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली आएका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं फर्कनुअघि अन्नपूर्ण पोस्टका आशा थपलियासँग यस्तो कुराकानी गरेका छन्ः

तपाईंको दिल्ली यात्रा हुँद गर्दा पुरानो सहमतिको पाँच बुँदे पत्र सार्वजनिक भएको छ नि?
त्यो पत्र कहिले गोप्य थियो र! पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र! अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।

त्यसो भए त तपाईंको कार्यकाल आगामी एक वर्ष मात्र देखिन्छ हैन?
एक वर्ष हैन। चार/पाँच दिन मात्रै बाँकी छ। अब म के भनूँ?

यहाँहरु (ओली र मोदी) दुवैको यो दोस्रो कार्यकाल हो। यसबीच दुई देशको सम्बन्ध कहाँ पुगेको विश्लेषण छ?
मोदीजी र मेरो सम्बन्ध व्यक्तिगत रूपमा निकै राम्रो छ। हामी पटक–पटक आउने जाने पनि गरिरहेका छौँ। यो पुरानै सम्बन्ध पनि हो। कूटनीतिक हिसावको मात्र आवागमन होइन। निजी तवरमा पनि हार्दिकतापूर्ण कुराकानी हुन्छ। यसपटक म उहाँको दोस्रो कार्यकालको सफलताको लागि बधाई तथा शुभकामना दिन दिल्ली आएको हुँ।

नेपाल र भारतका कतिपय विषयमा छलफल हुने, समझदारी हुने तर काम अघि बढ्न नसक्ने अवस्था छ। अहिले पनि कैयन पुरानै मुद्दामा दुवै पक्ष अल्झेको झैं लाग्छ, नि?
लामो समयदेखि अल्झिने बानी परेको हुनाले नै हो। नअल्झने बानी पारेर उल्झन फुकाउँदै जानेतर्फ हामी सक्रिय हुँदै छौँ। विभिन्न संयन्त्रमार्फत् त्यस्ता विषयमा हामीले काम गरिरहेका छौँ।

अहिलेको भ्रमण खासगरी के कस्ता विषयमा केन्द्रित रह्यो?
हामीबीच भेट हुँदा सामान्य विषयमा छलफल भयो। छलफल हुन्छ। यहाँ धेरै देशका नेतासँगै रहने हुनाले पनि भेट संक्षिप्त रहनु स्वभाविक हो।

सार्कको अध्यक्ष हुनुहुन्छ। तर, यहाँ आउँदा विम्स्टेक सदस्यको हैसियतमा आउनु भएको छ। सार्कको भविष्यलाई कसरी हेर्नु भएको छ?
सार्क हामीले मात्र अघि बढाउने होइन। यसमा सबै सदस्यको उत्तिकै जिम्मेवारी र सहकार्य आवश्यक हुन्छ। हामीले कुराकानी गरिरहेका छौँ। यस क्षेत्रको शान्ति सुव्यवस्था कायम गर्दै विकास प्रक्रिया अघि बढाउनका लागि सहकार्य अपरिहार्य छ। यसमा मध्य भागमा रहेको भारतको पनि महत्वपूर्ण भूमिका हुन्छ। हामीले भारतलगायत सबैसँग छलफल गरिरहेका छौँ। सबैको सहयोग रहेमा सार्क अघि बढ्छ।

सार्कमा यहाँले भारतको सहयोग पाउनुहुन्छ?
हामी अपेक्षा गछौं। सार्कलाई अघि बढाउनु सबै उत्तिकै जिम्मेवार रहनुपर्छ