प्रमुख प्रतिपक्षी कांग्रेसको ताल: न हाँसको चाल न त बकुल्लाको चाल !

बिचार

मदन बस्नेत,भक्तपुर।

प्रचण्ड बहुमतको नेकपा सरकारले बिकासको नाममा मजाक र कोरोना नियन्त्रणको बहानाबाजीमा पाखण्ड प्रदर्शन गरिरहँदा सरकारको त्यस्तो जनबिरोधी हर्कतका विरुद्धमा खबरदारी गर्नु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कहाँ छ ? के गर्दै छ ? के हेरेर बसिरहेको छ ? दिउँसै बत्ती बालेर खोज्नु पर्ने स्थिति पैदा भएको छ।

सत्ता घटक दल भित्रैबाट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, कोरोनाको ब्यबस्थापन राम्ररी गर्न नसकेको, जनताको दैनन्दिनको समस्याहरु प्रती सरकार उदासिन बनेको, जिम्मेवार पद र हैसियतमा बसेर कुटनैतिक मर्यादाको बर्खिलाप छिमेकी मुलुकलाई लक्षित गरेर तथानाम गालिगलौच गरेर चिड्याउने काम गरेको, कमिसन र आर्थिक लेनदेनमा बहालवाला मन्त्रीहरू नै मोलमोलाई गर्दै हिडेको, संबिधानको मर्म र भावना बिपरित राजनीतिक दल विभाजन र संबैधानिक निकायको नियुक्तिमा प्रतिपक्षीको भुमिकालाई निषेध गर्ने गरी अध्यादेश ल्याएको, संविधानको संरक्षक बन्नु पर्ने राष्ट्र प्रमुखको हैसियतको राष्ट्रपतिलाई आफ्नो स्वार्थ अनुरुप हिँडाएको लगायतका अनेकन सवालहरु सरकार विरुद्ध उठाईएको छ र प्रधानमन्त्रीको राजिनामा मागिएको छ। 

प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको त्यो असन्तुष्ट पक्षको जति पनि हुति देखाउन सकेको छैन। “ईनफ इज ईनफ” को नारा बोकेर देश भरका युबा शक्ति सामाजिक संजालका माध्यमबाट ओली सरकार विरुद्ध देशब्यापी प्रदर्शनमा उत्रिदा समेत राष्ट्रब्यापी संगठन र लाखौं लाख क्रियाशिल सदस्य भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै हात बाँधेरै बसिरहेको छ।

संसद अधिवेशन चलिरहेकै बेला सभामुख र सरकारका मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल कसैलाई पनि सुइँको समेत नै नदिई संसदको अधिवेशन हठात् अन्त्य गर्ने प्रधानमन्त्री ओली र बिना सोच बिचार वायु वेगमा प्रधानमन्त्रीको त्यस्तो लोकतन्त्र बिरोधी कदमलाई सदर गर्ने राष्ट्रपतिको विरुद्धमा कांग्रेसले जुन तह र स्तरबाट बिरोध जनाउनु पर्ने हो, त्यसो गर्न सकेन। बक्तब्यबाजी मात्रै गर्यो, झारा टार्यो र चुपचाप बस्यो।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको मोहपासमा फेरि पनि नराम्रोसंग फस्दै गएको देखिन्छ र आफ्ना दुई चार जना आसेपासेको राजनीति नियुक्तीको लालसामा उनी प्रधानमन्त्री ओलीले गरेका लोकतन्त्र बिरोधि निर्णय विरुद्ध आँखा चिम्लिएरै बसेको स्थिती छ।

प्रमुख प्रतिपक्षी दलले जस्तो भुमिका निभाउनु पर्ने हो र सरकारका गलत निर्णयविरुद्ध जसरी जोडदार रुपमा बिरोध जनाउनु पर्ने हो, कांग्रेस त्यसमा नराम्ररी चुकेको छ। कांग्रेसले खेल्नु पर्ने प्रतिपक्षीको भुमिका बरु सत्तारुढ घटक कै असन्तुष्ट खेमाले बखुबी निभाई रहेको देखिन्छ तर कांग्रेस अझै मुक दर्शक बनेर बसिरहेको छ।

मुलुक यतिबेला कोरोनाले ग्रस्त छ। सरकारले भारतको नक्कल गरेर हठात लादेको लकडाउनले कोरोना नियन्त्रणमा त आएन नै, बरु उल्टै सर्बसाधरण जनताको जनजीवन कष्टकर बनाएको छ। रोजीरोटीको जुगाड गर्न घरखेत बन्धकी राखेर बिदेशीएका लाखौं नेपाली जनताको कन्तबिजोग भएको छ। उद्दारको नाममा बिदेशमा अलपत्र आफ्ना नागरिकमाथी भेदभाव मात्र गरिएको छैन, चार्टर भनेर चौबर भाडा असुलेर दिनदहाडै ठग्ने काम पनि गरिएको छ।

स्वास्थ्य सामाग्रीको खरिद र क्वारेन्टाइन ब्यबस्थापनमा सरकार नराम्ररी चुकेको छ भने सम्बन्धित मन्त्रालय र मन्त्रीहरू भ्रस्टाचारमा चुर्लुम्म डुबेको खुलासा सत्तारुढ दल भित्र कै नेताहरुबाट गरिएको स्थिती छ। सरकारको कमजोर ब्यबस्थापन र लापरबाहीपनले शून्य संक्रमितको अबस्थामा सुरु गरिएको लकडाउन ३५ जनाको मृत्यु र १६ हजार भन्दा बढी संक्रमित भएको अबस्थामा पुगेको छ। 

जनताले झेल्नु परेको यस्तो विषम परिस्थितिका बारेमा गम्भीर हुनु पर्ने सरकार र सत्ता पक्षिय दल ब्यक्तिगत लाभ हानी र पदिय स्वार्थमा लिप्त हुन थालेपछि सरकारद्वारा घोषित लकडाउन जनताबाटै अवज्ञा हुन थालेको छ।

ब्यबसाय ठप्प छ। उद्योगधन्दा बन्द छ्न्। बिद्यालय र कलेजहरु अझै खुलेका छैनन्। लाखौं जनताको रोजगारी गुमेको छ र बेखर्ची भएका कारण उनीहरु के खाने र कसरी गुजारा चलाउने भन्ने पीर र सन्तापले ग्रस्त छ्न्। जनताले भोग्नु परेको यस्तो बिषम परिस्थितिमा जनतालाई राहत दिनु पर्ने र उनीहरुको आत्मबल बढाउने दायित्व बोकेका प्रधानमन्त्री हास्य कलाकारहरुलाई नै माथ दिने गरि बेला कुबेला, ठाउँ कुठाउँ हँसी मजाक गर्दै हिडिरहेका छ्न्।

सरकारको हरेक क्रियाकलापलाई सुक्ष्म रुपमा निगरानी गर्ने र त्यसको गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापका विरुद्ध प्रभावकारी ढंगले खबरदारी गर्न सकेको छैन। जनता आफै स्वतस्फूर्त रुपमा सरकारको बिरोधमा सडका उत्रिँदा समेत कांग्रेस मुखमा दहि जमाएर बसिरहेको छ।

हो, पार्टीको अधिबेशन समय मै गर्नु पर्छ। त्यसको आवश्यक तयारीमा जुट्न पार्टीमा मिटिङ् र छ्लफल पनि चलाउनु पर्छ। तर, अहिलेको अबस्था पार्टीको महाधिवेशनमा केन्द्रित हुने बेला हो कि कोरोनाका कारण जनताले भोग्नु परेको महामारीको सामाना कसरी गर्ने र सरकारको गलत नीति र निर्णयका विरुद्ध जनता सामु कसरी प्रस्तुत हुने भन्ने सवालमा घोत्लिने बेला हो ? कांग्रेसले प्राथमिकता निर्धारणमा नै गम्भीर त्रुटि गरेको छ।

यस्तो अबस्थामा यदि नेकपाको ओली सरकारको ठाउँमा कांग्रेसको सरकार भईदिएको भए प्रधानमन्त्रीको राजीनामाको एक सुत्रिय माग राखेर नेकपाले देशब्यापी आन्दोलन छेडिसकेको हुने थियो। राँके जुलुस, चक्का जाम, नेपाल बन्द लगायतका बिरोधका अनेकन विधि र ब्यबधान खडा गरेर सरकारको बिरोधमा सदन र सडकमा बितण्डा मच्चाई सकेको हुने थियो।

तर कांग्रेस ओली सरकारका विरुद्ध अन्दोलित हुने भन्दा पनि नेकपाको घर झगडाले उनीहरुमा कहिले फुट आउला र सरकारमा जान पाईएला भनेर खुट्टो उचालेर बसिरहेको छ।

काम कुरो एकातिर कुलो बोली ठिमी तिर भने जस्तै जसको बिरोध गर्नु पर्ने हो उसै संग बिना अर्थको बार्ता र संवाद गर्दै बालुवाटारमा प्रधानमन्त्रीसंग चोचोमेचो मिलाउँदै हिड्ने कांगेस सभापति शेरबहादुर देउवाको कार्य शैलीले कांग्रेसको प्रतिपक्षी भुमिका “न हाँसको चाल, न त बकुल्लाको चाल ” भने जस्तो बेढंगी बनेको छ।

नेकपाको घर झगडा राष्ट्र, राष्ट्रियता र जनताको जनजिबिकासंग सम्बन्धित झगडा हुँदै होईन; ब्यक्तिगत ईगो र पदिय स्वार्थले निम्त्याएको पद पाउने र नपाउने बीचको कुर्सीको लडाइँ हो। फुट्दा दुबैको कुर्सी गुम्छ भन्ने हेक्का उनीहरु दुबै थरीलाई राम्ररी नै छ। त्यसैले एकले अर्कामाथि दबाब बढाउन र आ- आफ्नो पल्ला भारी पार्ने मनसायले रणनीतिक रुपमा सतापक्ष ओली र प्रचण्ड-माधवको अर्को पक्ष कांग्रेससंग बार्ता, संवाद र सहकर्यको नौटंकी गरिरहेका छ्न्।

ओली र प्रचण्ड बीच कुर्सीको भागबन्डा मिलेका दिन बिगत मा झैं यसपटक पनि तिनै ओली र प्रचण्ड मिलेर कांग्रेसको हुर्मत लिने छ्न्। त्यसैले प्रचण्ड- माधव वा ओली कसैको मोहपासमा फसेर सत्ता स्वार्थमा मुख मिठ्याउनु भन्दा एउटा जिम्मेवार प्रतिपक्षीको भुमिकामा प्रस्तुत हुनु नै कांग्रेस र लोकतन्त्रकालागि स्वस्थकर साबित हुनेछ।