प्रम ओलीको समर्थनमा पोखरामा तिन दर्जन युवाहरुको प्रदर्शन

नेपाल समाचार

कास्की /प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा तिन दर्जन युवाहरुले शुक्रबार र्‍याली निकालेका छन् ।
पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उहाँको समर्थनमा र्‍याली निकालेका हुन् ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको र्‍याली मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

र्‍यालीमा ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाइएको छ । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको आरोप पनि लगाएका छन्।